प्रतिक्रान्तिमाथि हामी क्रान्तिकारी हस्तक्षेप गर्दैछौँ – प्रकाण्ड, प्रवक्ता – नेकपा माओवादी

२०७३ असार १२ गते, आईतवार

* मुलुकको पछिल्लो राजनीतिक स्थितिलाई कसरी लिनुभएको छ ?
देश र जनताको पछिल्लो अवस्था अत्यन्त संकटग्रस्त छ । चौतर्फी समस्याको घेरामा परेको छ । राष्ट्र र जनताको अवस्था के हुन्छ भन्ने प्रश्न इतिहासै गम्भीर बनेको छ । नेपाली जनताले देशको अवस्थामा परिवर्तनका लागि ०७ सालदेखि गर्दै आएको संघर्ष उत्कर्षका रुपमा जनयुद्ध लड्यो १० वर्षसम्म । त्यसले संघर्षलाई मुक्तिको सन्निकट पु¥यो पनि । तर मूल नेतृत्वको विचलन, धोकाधडी, आत्मसमर्पण र पलायनताले गर्दा हाम्रो क्रान्ति र क्रान्तिकारी पार्टी अप्ठ्यारोमा प¥यो । समस्या झेल्नुप-यो । त्यसपछिको यो एक दशकको स्थिति भनेको क्रान्तिकारी नभएर प्रतिक्रिान्तिकारी दिशातिर गइरहेको छ । त्यसले निम्त्याएको समस्या भनेको साम्राज्यवादी, विस्तारवादी देशहरुबाट हाम्रो देशमा हस्तक्षेप र अतिक्रमण भयो । दलाल पुँजीपति वर्ग र त्यसका राजनीतिक क्षेत्रका प्रतिनिधिहरु, नेताहरुले राष्ट्रको स्वाधीनतासँग सौदाबाजी गरिरहेका छन् । राष्ट्रले मुक्ति प्राप्त गर्ला भनेको त पराधिनताको पर्खालमा डरलाग्दो ढंगले घेरिने खतरा बनिरहेकोे छ । नेपाली जनताले इतिहासदेखि अहिलेसम्म आफ्नो राजीतिक अधिकार प्राप्त गरिराखेको थिएन, त्यो प्राप्त होलाहोला भन्ने उत्कट इच्छा थियो १० वर्षको जनयुद्धमा । पछिल्लो अवस्थामा नेपालको राजनीतिक आन्दोलनहरु जनयुद्धबाट प्राप्त भएका र स्थापित गरिएका राजनीतिक अधिकारहरु पनि कथित संविधानसभा २ को नाममा र त्यसले बनाएको संविधानको नाममा अपहरण गरिएको छ । आर्थिक दृष्टिकोणले हेर्दा हाम्रो अर्थतन्त्तको वार्षिक वृद्धिदर ०.७ प्रतिशत मात्र छ । यो ज्यादै डरलाग्दो स्थिति हो । राष्ट्रिय अर्थतन्त्र चौपट भएको छ । राष्ट्रिय उद्यमी, साना व्यापारीहरु सडकछाप भएका छन् । दलाल पुँजीपति वर्ग र राजनीतिक क्षेत्रका दलालहरु रातारात अरवपति भएका छन् भूकम्प आए पनि र नाकाबन्दी भए पनि । यसले भ्रष्टाचार अत्यन्त मौलाएको छ । महँगी बढेको छ । कालोबजारियाहरु अत्यन्त धेरै सल्बलाएका छन् । विदेशी कम्पनी एनसेलले हाम्रो अर्बौको राजस्व छलेर यो देश र जनतालाई ठग्ने मूर्खता गरेको छ । यो त एउटा उदाहरण मात्र हो । यसरी मुलुकको अर्थव्यवस्था चौपट भएको छ । जनताको जनजीवन हे¥यौँ भने सडकमा इँट बोकेर आफ्नो जीविका निर्वाह गर्ने मजदुर दिनभर श्रम गरेको ज्यालाले बेलुका दालभातसम्म खान पाउँथ्यो÷सक्थ्यो भने अहिले उसको भागबाट दाल कटेको छ र निस्तो भात मात्र परेको छ ।विकास निर्माणको दृष्टिले राज्यको ढुकुटीमा लूटखसोट भएको छ । यी सबै समस्यालाई एकै ठाउँमा राखेर हेर्दा देश र जनताको स्थिति अत्यन्त जर्जर, डरलाग्दो छ । देशको अस्तित्व नै नामेट हुने संकेत यसले देखाएको छ ।
* जनयुद्धबाट आएको नेतृत्वको अकर्मण्यता र पलायनको अवस्थाले देशमा प्रतिक्रान्ति भएको कुरा गर्नुभयो । तत्काली एमाओवादी (हाल माओवादी केन्द्र) नेतृत्वमा हालै गरिएको ‘एकता’ सन्दर्भ, उनीहरुले ध्रुवीकरण पनि भनेका छन्, यसलाई नेकपा माओवादीले कसरी लिएको छ ?
यो महत्वपूर्ण प्रश्न छ । प्रचण्डजीले यसलाई माओवादीहरुको एकता पनि भन्नुभाको छ । उहाँले अस्तिसम्म १० वटा पार्टी भन्नुहुन्थ्यो, अब हेर्दाहेर्दै ती बढेर कति पुग्ने हुन् । जनयुद्धको पछिल्लो कालमा क्रान्तिबाट पलायन भएका, २०६३ सादेखि यता संक्रमणकालीन प्रक्रियामा नेतृत्वमा आएको विचलन, फुट र विभाजन हुन पुगेका र कतिपय माओवादी नाममा पार्टी, समूह बनाएर बसेकाहरु अहिले त्यहाँ गउका छन् । सरर्र हेर्दा त ८–१० पार्टी, समूह मिलेर त्यहाँ पुगेको जस्तो पनि देखिन्छ । यसलाई उहाँले पूरै माओवादीको एकता भन्नुभएको छ । सामान्य रुपमा हेर्दा यसलाई केही मानिस र केही पार्टीबीचको एकता पनि भन्न सकिएला । तर यो उहाँहरुले भनेजस्तो माओवादीको एकता होइन । नेपालको माओवादी क्रान्किारी आन्दोलनबाट थकित, गलित र पलायन भएका नेता र मान्छेहरुको थुप्रो हो त्यो । त्यसलाई माओवादी नेता, पार्टी, विचार र राजनीतिको ध्रुवीकरण भन्न खोज्नुभएको छ प्रचण्डजीले, त्यो पूर्ण रुपमा भ्रम मात्रै हो ।प्रचण्डजीले आफैँले गड्बडी गरिसकेपछि यतिबेला उहाँलाई जुन ढंग र स्तरको आपत्विपद् परेको छ, झन्डैझन्डै अस्तित्व नै संकटमा परेको जस्तो, त्यसलाई सामना गर्न धौधौ परिरहेको छ । अस्तित्व बढारिएर नामेट होला जस्तो अवस्था उत्पन्न भइसकेको छ । माओवादी २०६४ सालको संविधानसभामा सबैभन्दा ठूलो पार्टी बनेको थियो । उहाँहरु कथित दोस्रो संविधानसभामा जाँदा लज्जाजनक तेस्रो पार्टीमा झर्नुभयो । यो अवस्थामा फेरि चुनावमा जाँदा के हुने हो ? उहाँहरुको भविष्य त पूरै अन्धकारमय बनेको छ नि त । यसलाई ढाकछोप गर्न पनि उहाँहरुले यसलाई माओवादी एकताको हल्ला फिँजाइ रहनु भएको छ । हामीले भन्यौँ त्यो सही होइन । त्यो एकताले नेपालको माओवादी क्रान्तिलाई टेवा पु¥याउने नभएर झनै दिग्भ्रमित गर्ने र केही बचेखुचेका इमानदार माओवादी नेता र कार्यकर्तालाई पनि दलाल संसदीय दलदलमा फसाउने योजनासँग सम्बन्धित छ । त्यसैले यसको भ्रममा नपर्न इमानदार माओवादी नेता र कार्यकर्तालाई हाम्रो पार्टी आह्वान गर्दछ । पार्टी नेता र कार्यकर्तालाई यो हाम्रो अपिल पनि हो । जहा सम्म ध्रुव भन्ने जुन कुरा छ, मुलुकको राजनीतिमा दुईवटा ध्रुव प्रस्टै देखिन्छ ः एउटा सच्चा क्रान्तिकारी माओवादी ध्रुव, यो जनवाद र राष्ट्रिय मुक्तिको ध्रुव हो । नेपालका देशभक्त जनता र श्रमिक सर्वहारावर्गको मुक्तिलाई सुनिश्चित गर्ने ध्रुव हो यो । यसको नेतृत्व हाम्रो पार्टी नेकपा माओवादीले गरिरहेको छ । अर्को ध्रुव दलाल संसदीय राजनीतिक ध्रुव हो । यसको नेतृत्व कांग्रेसले गरिरहेको छ । बरु ध्रुवीकरणको राष्ट्रिय राजनीतिक सच्चाई यो हो । प्रचण्डजीहरु दलाल संसदीय व्यवस्था र दलाल पुँजीपतिहरुको सत्तामा गइसकेपछि उहाँको ध्रुव भनेको दलाल पुँजीपति वर्गको, कांग्रेसले नेतृत्व गरेको ध्रुव हो । यसबाट दिग्भ्रमित हुनुपर्ने कुनै कारण छैन ।
* एकातिर सरकारी लगानी र स्वामित्वमा रहेका उद्योग–कलकारखाना धमाधम निजीकरण गरिँदैछ, अर्कातिर विदेशी लगानीका एनसेलजस्ता सञ्चारमाध्यमले राज्यलाई लाभकरसमेत नतिरी उम्किन खोजिरहेका छन् ? यसै सन्दर्भलाई लिएर नेकपा माओवादीको निर्देशनमा एनसेलमाथि कारबाही भएको पनि सुनियो । यहाँहरुले चाहनुभएको के हो ?
पहिलो कुरा के हो भने मैले अघिल्लो सन्दर्भमा पनि केही उल्लेख गरेँ, हाम्रो राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक एकाधिकार पुँजी, साम्राज्यवादी पुँजीको अतिक्रमण र राष्ट्रिय रुपमा दलाल पुँजीपति वर्गको वर्चस्व, वैदेशिक एकाधिकार पुँजीका अगाडि दलाली गर्ने प्रवृत्ति अत्यधिक बढेको छ । यसले गर्दा राष्ट्रिय पुँजी र पुँजीपति वर्ग चौपट भएको छ । यो करिबकरिब मृत अवस्थामा छ । राष्ट्रिय पुँजीलाई बचाउनका निम्ति पहल नगर्ने हो भने यो टाटपल्टिने अवस्थामा पुगिसकेको छ । यो कुरालाई दृष्टिगत गरेर राष्ट्रिय अर्थव्यवस्था र अर्थतन्त्रको बाधक तत्वलाई नियन्त्रण गर्न यसका विरुद्धको संघर्ष नेपाली जनता र नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाका निम्ति पनि अपरिहार्य छ । यो देशको हित चाहने जो कोही नागरिकको प्राथमिक विषय हो त्यो । यसैलाई दृष्टिगत गरेर हामीले के भन्यौँ भने देशभक्त जनता र राष्ट्रिय उद्योगी व्यवसायीहरुको रक्षा गर्छौं भनेर आह्वान गरेका थियौं । त्यस वर्गको रक्षाका निम्ति हामीले भ्रष्टचारीहरुमाथि कारबाही गरेका थियौं । कालाबजारीहरुमाथि कारबाही गरेका थियौं, कमिशनखोरका विरुद्ध सङ्घर्ष गरिरहेका छौं, राजनीतिक र आर्थिक क्षेत्रबाट हाम्रो सङ्घर्ष जारी रहेको छ ।
अर्को कुरा विदेशी कम्पनी एनसेल सरकारको नीति कानुन व्यवस्था अनुसार नेपालमा आयो, आफ्नो सेवा सुरु ग¥यो, राज्य र नेपाली जनताले उसलाई त्यो वातावरण बनाइदिए वापत् नेपाल र नेपाली जनताप्रति उसको पनि खास दायित्व हुन्छ, त्यो भनेको कर तिर्ने दायित्व हो । त्यसलाई समेत छलेर अर्बौंको राजश्वसमेत छलेर हाम्रो राष्ट्रियतामाथि दखल ग¥यो । नेपाली जनताले आफ्नै श्रम र पसिनाको राजश्वलाई लुटेर हिड्ने हर्कत एनसेलले गरेको हुनाले नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली अर्थ व्यवस्थाको रक्षाका लागि त्यसविरुद्ध सङ्घर्ष गर्नुपर्छ भनी कार्यक्रम बनिरहेको थियो । त्यो नीतिलाई समातेर नेपाली जनताले एनसेलमाथि कारबाही ग¥यो । यो आवश्यक थियो ।
* नेकपा माओवादीका नेता र कार्यकर्ता रिहा नगरिए थप कारबाही गर्ने चेतावनी पनि दिनुभएको छ नि ?
एनसेल कारबाहीसम्म आइपुग्दा हामी सङ्घर्षकै प्रक्रियामा छौं । अहिलेको सरकारले एनसेल प्रकरणलाई बहाना बनाएर देशभरबाट हाम्रा जिल्लास्तरीय नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । अझसम्म यो सरकारले आफूलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सरकार पनि भन्न छोडेको छैन । हामीले राष्ट्रियताको पक्षमा सङ्घर्ष गर्दा यो सरकारले नेपाल र नेपाली जनताको हितमा सङ्घर्ष गर्नेहरुलाई झट्ठा मुद्दा लगाउने, हिरासत र जेलका चिसा छिंडीहरुमा सडाउने काम गरिरहेको छ । यो निन्दनीय हर्कत हो । यस घटनाले यो सरकार कस्को हो भन्ने प्रश्न उठाएको छ । यो सरकार पूर्ण रुपले साम्राज्यवाद, विस्तारवाद र दलालहरुको सेवा गरिरहेको छ भन्ने कुरा प्रष्ट भएको छ । यो राष्ट्रघातीहरुको सरकार हो भन्ने कुरा छर्लङ्ग भएको छ । यो नेपाली जनताका विरोधी तत्वहरुको सरकार हो भन्ने कुरा पनि उजागर छ । यसले नेपाल र नेपाली जनताका राजनीतिक, आर्थिक, न्यायिक मुद्दाहरु सुनुवाई गर्दैन र जनताका मुद्दा उठाउनेहरु माथि पनि दमन गर्छ भन्ने प्रष्ट भएको छ । दोस्रो कुरा, देश र जनताको मुद्दा उठाएर हामीले कुनै गल्ती गरेका छैनौं । नेकपा माोवादीको आह्वानमा जनताले जुन पहलकदमी लिएका छन् यो काम त राज्यको दायित्वभित्र पर्ने कुरा हो । सरकार र राज्यले यो काम गरिदिएको भए हाम्रो पार्टीले स्वागत गर्ने थियो । राज्यले यो काम नगर्ने मात्र नभएर हाम्रो अपीलमा जनताले काम गर्दा पनि जनतामा दमन गर्नु भनेको जनता र राज्यको टाउकोमा गिर खेल्नु हो । जुनसुकै व्यवस्थाको नाममा भएपनि त्यस किसिमको गतिविधिलाई नेपाली जनताले छुट दिन सक्दैनन् र हाम्रो पार्टीले पनि छुट दिन सक्दैनं । यो सरकारले मुर्खता नगरोस्, सरकार चलाइरहेको पार्टीले पनि त्यस किसिमका दुस्साहस नगरुन् । तिनले तत्काल हाम्रा कार्यकर्ताहरुलाई छोडुन् । यदि यस किसिमको हरकत सरकारले रोकेन भने हामी त्यसको सशक्त प्रतिवाद सडक सङ्घर्षबाट गर्छौँ । त्यसको सामना गर्न यो सरकारलाई मुश्किल पर्नेछ ।
* एनसेल प्रकरणलाई लिएर सरकारका गृहमन्त्री र विभिन्न सञ्चारमाध्यमले माओवादीमाथि हदैसम्मको कारबाही गर्नुपर्ने र निर्देशन दिनेलाई समेत नछोडिने चेतावनी दिइरहेका छन् नि ? कसरी लिइरहनुभएको छ ?
सरकारको गृहमन्त्रीको अभिव्यक्ति जो बाहिर आइरहेको छ, त्यो घोर प्रतिक्रियावादी अभिव्यक्ति हो । त्यो जनविरोधी अभिव्यक्ति पनि हो । त्यो अभिव्यक्ति नेपाली जनता र हाम्रो पार्टीको लागि सह्य छँदैछैन । सरकारको अभिव्यक्ति गृहमन्त्रीको नामबाट आएका हो भने त्यो अति निन्दनिय छ । विडम्बनाको कुरा के छ भने हिजो जनयुद्धमा हामी र यो सरकारका गृहमन्त्री संगसँगै लडेका थियौँ । त्यतिबेला सरकारमा कांग्रेस, एमाले हुन्थ्यो । ती सरकारहरुलाई हामी राष्ट्रघाती दलाल र हत्याराहको सरकार भन्थ्यौं । त्यतिबेलाको गृहमन्त्रीलाई वहाँ आफ्ै पनि घोर फासीवादी भन्नुहुन्थ्यो । अहिले आफै गृहमन्त्री भएपछि हाम्रो पार्टीका तर्फबाट पार्टी र जनताले राष्ट्रविरोधीहरुका विरुद्ध सङ्घर्ष गर्दा उहाँ हाम्रा नेता र कार्यकर्तामाथि तह लगाउँछु भन्दै भाषण गर्दै हिंड्नुभएको छ । यो व्यवस्थाको चरित्र गृहमन्त्रीबाट अभिव्यक्त भइरहेको छ । उहाँ किन यसो भनिरहनुभएको छ भन्दा यो सरकार देश र जनताभन्दा आफ्ना मालिकहरुप्रति उत्तरदायी छ । जनताले एनसेलमाथि कारबाही गरिसकेपछि मालिकहरुको ठूलो दबाब यो सरकारमाथि परेको छ । मालिकको नुनको सोझो गर्नको निम्ति पनि यो सरकारले गृहमन्त्रीलाई माओवादी विरुद्ध बोल्न लगाइरहेको छ । यो राज्यमा सरकार छ कि छैन ? जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । लाज पचाउनको निम्ति पनि गृहमन्त्रीले बकबासपूर्ण अभिव्यक्ति दिंदै हिडेका छन् । योजना निर्माण गर्ने, निर्देशन दिने र कार्यान्वयन गर्ने कसैलाई पनि छाड्दैनौं भनेर जुन भाषा प्रयोग गरिरहेका छन् । केही मिडियाहरुले पनि यसलाई उचालिरहेका छन् । यो कुरा डिजाइनमा छ । सरकार र गृहमन्त्रीले तत्काल यो फिर्ता लिनुपर्छ । अन्यथा सरकारको निम्ति यो चुकाउन नसकिने मूल्य हुन्छ । यो कुरा गृहमन्त्रीले पनि बुझिराखे हुन्छ ।
* गृह मन्त्रीले आफ्नो भनाई फिर्ता लिएनन् भने नि ?
यो दमन, धरपकड र फासिष्ट रवैया सरकारले रोकेन भने गृहमन्त्रीले रोकेनन् भने माओवादी पार्टी सडकबाट पहलकदमी लिएर एउटा भीषण जनआन्दोलनका लागि तयार छ । हामी सरकारको प्रतिरोधमा जान्छौं ।
* अब माओवादी कसरी अघि बढ्छ ?
दश वर्षको जनयुद्धबाट आएको एउटा नेतृत्व र माओवादी आन्दोलनको एउटा हिस्सा दलाल संसदीय राजनीतिमा पतन भइसकेको छ । यो एउटा दुःखद घटना पनि हो । यसले नेपालको माओवादी आन्दोलनलाई ठूलो क्षति पु¥याएको छ । अर्को कुरा हामीले नयाँ ढङ्गले मुलुकको क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनलाई संगठित गरिरहेका छौं । यसका निम्ति ५÷७ वटा कामलाई हामीले प्राथमिकतामा राखेका छौं । श्रमजीवी जनताको वैज्ञानिक विचारबाट निर्देशित पार्टी, जसलाई हामी माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टी भन्छौँ, नेपाली जनताको राजनीतिक सत्ता स्थापना गर्ने राजनैतिक कार्यक्रम, त्यसका लागि जनवादी क्रान्ति, समाजवाद, हुँदै साम्यवादतिर लाने राजनैतिक कार्यदिशा, त्यसको निम्ति भौतिक शक्ति र पहलकदमीकर्ताका रुपमा सच्चा माओवादी पार्टी निर्माण, यो क्रान्तिलाई पूरा गर्नका निम्ति एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशा, यी कुरालाई हामीले महत्वपूर्ण ठानेका छौं । त्यति भइसकेपछि हाम्रो पार्टीको आफ्नो अभिभारा आउँछ । यसमा हाम्रा तीनओटा कुरा छन् – दशवर्षको जनयुद्धका उपलब्धीहरुमाथि नवसंशोधनवादी, दलाल, तथा साम्राज्यवादी विस्तारवादीहरुबाट आक्रमण भइरहेको छ । त्यसलाई कमजोर पार्ने र विस्थापित गर्ने षड्यन्त्र भइरहेको छ । त्यसलाई ध्वस्त बनाउँदै जनयुद्धका उपलब्धीहरुको रक्षा गर्न चाहान्छौं । दोस्रो कुरा ०६३ सालदेखि यता आउने क्रममा नेपाली राजनीतिमाथि प्रतिक्रान्ति भएको छ । यो प्रतिक्रान्तिमाथि हामी क्रान्तिकारी हस्तक्षेप गर्न चाहन्छौं । तेस्रो कुरा नेपालको जनवादी क्रान्तिका बाँकी अभिभारा पूरा गर्न चाहन्छौं । यसका निम्ति अहिले माओवादी पार्टीको पहलमा भइरहेका सङ्घर्षहरु यसबाट संचालित गतिविधिहरुले नेपालको क्रान्तिकारी माओवादीहरुको ध्रुविकरणको नेतृत्व गर्छ । क्रान्तिकारी ध्रुविरकरणको प्रक्रिया नयाँ ढङ्गबाट अघि बढिरहेको छ । अरु पार्टीमा जस्तै प्रचण्डको पार्टी, किरणजीको पार्टीमा भएका इमान्दार क्रान्तिकारी माओवादीहरुलाई क्रान्तिकारी ध्रुवको वरिपरी केन्द्रिकरण गर्ने काम गर्दैछौं । यस प्रक्रियाको प्रत्यक्ष र परोक्ष सुरुवात भइसकेको छ । यसको साथसाथै हामीले चाहेको संयुक्त मोर्चाको कुरा हो । हामीले राष्ट्रिय मुक्तिको प्रश्न उठाएका छौं । सबै राष्ट्रवादीहरु, देशभक्तहरु, जुनपार्टीमा भएका भएपनि हाम्रो जनमुक्ति आन्दोलनको नीति र कार्यक्रमको, यसको नेतृत्वको वरिपरी गोलबन्द हुन हामीले आव्हान पनि गरिरहेका छौं र गोलबन्द हुने प्रक्रिया पनि सुरु भइसकेको छ । अहिलेको दलाल संसदीय व्यवस्थालाई लोकतन्त्रको जलप लगाइएको छ । त्यसप्रति असहमत संसदवादी दलहरुभित्रका सच्चा गणतन्त्रवादीहरु पनि राष्ट्रिय मुक्ति आन्दोलनमा गोलबन्द हुने प्रक्रियाको पनि सुरुवात भएको छ । एउटा बलियो माओवादी धुव्रको निर्माण भइरहेको छ । यो नै अहिलेको राष्ट्रिय राजनीतिको एउटा सजिव चित्र हो । – रातो खबर साप्ताहिकवाट

प्रतिक्रियाहरु