सरकार पूर्णरुपमा असफल : कांग्रेस

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले भोलिदेखि शुरु हुने व्यवस्थापिका संसद् बैठकमा सरकारविरुद्ध कडा ढंगले पेश हुने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले सो निर्णय गरेको बताइएको छ । संविधानको कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र कूटनीतिक क्षेत्रमा ओली सरकार विफल भएको निष्कर्ष निकालिएको हो । सरकार प्रचारमै मात्र अल्झेको, वर्षा र हिउँद पालमुनी कटाएका भूकम्प प्रभावितलाई घर बनाउन दुई लाख अनुदान दिन बेवास्ता गरेको तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत चासो नदिएको आरोप कांग्रेसको छ ।
यस्तै नाकाबन्दी हटेको तीन महिना हुँदा पनि उपभोक्तालाई माग अनुसार ग्यास र पेट्रोल दिनुको साटो कालोबजारीलाई संस्थागत गरेको काँग्रेसको आरोप छ । संविधानको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा विभिन्न टिकाटिप्पणी हुँदा पनि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन प्रयास नगरेको तथा संविधानको कार्यान्वयन र मधेशी दलहरुसँग वार्ता गरेर समस्या समाधानमा तदारुकता नदेखाएको आरोप कांग्रेसले लगाएको छ । पुनर्निर्माण, मधेशी दलसँगको वार्ता, संविधानको कार्यान्वयनलगायतका विषयमा सरकारले चित्तबुझ्दो जवाफ नदिएसम्म पूर्व बजेट छलफल र नीति तथा कार्यक्रम पेश गर्न नदिने चेतावनी कांग्रेसले दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु