सिरियाको अवस्था चिन्ताजनक : राष्ट्रसंघ

२०७३ बैशाख १७ गते, शुक्रबार

काठमाडौं, १७ वैशाख । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त सिरियाको अवस्था चिन्ताजनक भएको जनाएको छ । एलेप्पोस्थित विद्रोहीको नियन्त्रणमा रहेको अस्पताललगायतका स्थानमा भएका आक्रमणपछि सिरियाको अवस्था नाजुक हालतमा पुगेका राष्ट्रसंघले जनाएको हो । पछिल्लो २४ घण्टामा सिरियामा भएका आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । मेडिसिन्स् सान्स् फ्रन्टियर्स् (एमएसएफ) च्यारिटीको सहयोगमा सञ्चालित अस्पतालमा भएको हवाई आक्रमणमा चिकित्सक र बिरामीसहित कम्तिमा २७ जनाको मृत्यु भएको थियो । त्यस्तै अन्य हमलामा पनि ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।
राष्ट्रसंघका प्रतिनिधिले सिरियामा मानवीय सहायता आवश्यक रहेको बताए । आक्रमणमा सिरियाली सरकार वा रुसी युद्धक विमानको संलग्नता रहेको आशंका गरिएको छ । सिरियामा आंशिक युद्धविराम भए पनि पछिल्लो समय हिंसाका घटनामा कमी आएका छैनन् । सिरियामा सन् २०११ यता शुरु भएको गृहयुद्धमा परी २ लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु