सरकार प्रमुखमा आलोपालो प्रणाली अपनाइनु पर्छ : भट्टराई

२०७३ बैशाख ११ गते, शनिबार

काठमाडौं , ११ वैशाख । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले कार्यकारी निर्वाचित सरकार प्रमुख रहने संवैधानिक व्यवस्था गरेर त्यसमा आलोपालो प्रणाली अपनाइनुपर्ने बताएका छन् । उनले संविधान संशोधनमार्फत संविधानका बाँकी मुद्दाहरु समाधान गरिनुपर्ने समेत बताएका छन् । तराई मधेसका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा डा. भट्टराईले जनस्तरबाटै यस्तो प्रस्ताव अघि सारेका हुन् । नेपालमा जनजाति, मधेसी र खस-आर्य तीनवटा क्लष्टरहरु मिलेर अघि बढ्नुपर्ने बताउँदै आएका भट्टराईले सरकार सञ्चालनमा आलोपालो प्रणाली अपनाइनुपर्ने बताएका हुन् । मधेसमा भाषण गर्ने क्रममा डा. भट्टराईले सरकार प्रमुृख प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने बताउँदै एक कार्यकाल एउटा जातीय समुदायको मानिस सरकार प्रमुख बनेमा अर्को कार्यकाल अर्कै समदायबाट बनाइनुपर्ने बताए । यसो गर्दा नयाँ ढंगको राष्ट्रिय एकीकरण हुने उनको तर्क छ । डा. भट्टराईले मधेसका विभिन्न सभाहरुमा यस्तो बताएका छन् । भट्टराई नेतृत्वको नयाँशक्तिले तीनवटा जातीय क्लष्टरलाई मिलाएर राष्ट्रिय पार्टी निर्माण गरिने यसअघि नै बताइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु