अरुणपूर्व चक्काजाम

२०७२ माघ १० गते, आईतवार

काठमाडौ, १० माघ । लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आज अरुणपूर्व चक्काजाम आह्वान गरेको छ । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा समितिले आज बिहानैदेखि गरेको चक्काजामका कारण ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ । यातायात बन्दका कारण बिहानैदेखि ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापालगायत जिल्ला प्रभावित बनेका छन् । यी जिल्लामा चल्ने छोटो तथा लामो दूरीका सवारी साधन बिहानैदेखि ठप्प छन् । मधेस आन्दोलन, भारतीय नाकाबन्दीलगायत कारण मारमा पर्दै आएका सर्वसाधारण बन्दका कारण थप मारमा परेका छन् ।
घटनाको विरोधमा आज एक दिन यातायात मात्रै बन्द गरिएको समितिले जनाएको छ । अन्य बजार पसल, शैक्षिक संस्था भने खुला रहने जनाइएको छ ।
सङ्घीय लिम्बूवान पार्टी नेपाल सहित चार दल सम्मिलित समितिले निर्दोष जनतालाई गोली हानी हत्या गर्नु राज्य आतङ्कको चरम रुप भएको आरोप लगाएको छ ।
गत बिहीबार मोरङको रङ्गेलीमा प्रहरीले चलाएको गोली लागेर रङ्गेली–४ चोपडा टोलकी द्रौपदीदेवी चौधरी तथा बरडङ्गा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु