१३० वर्षपछि जोडियो मूर्तिको टाउको

२०७२ माघ ८ गते, शुक्रबार

काठमाडौं, ८ माघ । कम्बोडियाको फोम दा मन्दिरमा रहेको हिन्दुहरुको पुजनीय भगवानको एक मुर्तिको टाउको १३० वर्षपछि जोडिएको छ । सो मूर्तिको टाउको फ्रान्सेली शोधकर्ताहरुले लगेका थिए । १३० वर्षपछि मूर्तिको टाउको फ्रान्स सरकारले फिर्ता दिएपछि हालै सो मूर्तिले पुनः पूर्णाकार पाएको हो । कम्बोडियाको राष्ट्रिय संग्रहालयमा सो मूर्तिको टाउको जोड्ने कार्य पुरा भएको छ । सो मूर्ति हरिहर भगवानको हो । हरिहरलाई निर्माण र विध्वंशको देवता मानिन्छ । भगवान विष्णु र शिवको संयुक्तावतारका रुपमा हरिहरलाई लिने गरिन्छ ।
सातौं शताब्दीमा बनाइएको भगवान हरिहरको मूर्ति कम्बोडियाको टेको प्रान्तको दक्षिणी भागमा रहेको फोम दा मन्दिरमा राखिएको थियो । फ्रान्सबाट आएका केही शोधकर्ताले सन् १८८२ र १८८३ का बीचमा सो मूर्तिको टाउको लगेका थिए । उक्त मूर्तिको टाउको फ्रान्सको गुमेट संग्रहालयमा राखिएको थियो ।
विगत दुई दशकयता कम्बोडिया सरकारले विभिन्न मुलुकमा पुगेका आफ्नो सांस्कृतिक सम्पदा फिर्ता माग गर्दै आएको थियो । उल्लेखनीय छ, कम्बोडियामा कयौं शताब्दीसम्म हिन्दु सम्राटले शासन गरेका थिए । सोही क्रममा त्यहाँ हिन्दु देवीदेवताका मूर्ति स्थापना गरिएका थिए । कालान्तरमा त्यहाँ बौद्ध धर्मको प्रभाव बढ्यो । त्यहाँको ९० प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बीको रहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु