महानगरपालिकाले फोहोरबाट ग्यास निकाल्ने

२०७२ माघ ६ गते, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो बैशाखदेखि दैनिक रुपमा जम्मा भएको फोहोरबाट ग्यास उत्पादन गर्ने भएको छ। महानगरपालिकाको फोहोरबाट दैनिक ९६ केजी ग्यास उत्पादन गर्ने लक्ष्य छ। टेकु ट्रान्सफर्मर स्टेशनबाट ग्यासका साथै दैनिक ३ सय किलोग्राम जैबिक मल र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन गर्न लागिएको एकीकृत दिगो फोहोर–मैला व्यवस्थापन परियोजनाका म्यानेजर प्रकाश चन्द्र झाले जानकारी दिएका छन्। यो ग्यास उत्पादन गर्ने प्लान्टमा महानगरपालिकाले २० प्रतिशत लगानी गर्ने भएको छ भने युरोपियन युनियनको ८० प्रतिशत लगानी रहने भएको छ। अहिले यसको लागि टेन्डरको आह्वान भइसकेको काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिएका छन्। डेढ करोड लगानीमा बन्न लागेको यो प्लान्टबाट उत्पादिन ग्यास महानगरपालिकाले के प्रयोजनमा उपयोग गर्ने भन्ने बारेमा भने ठोस टुङ्गो लगाउन सकेको छैन। महानगरपालिकाका वातावरण विभागका इन्जिनियर रबिनमान श्रेष्ठले भने ‘यो ग्यासबाट हामी बिजुली निकाल्ने सोच बनाएका छौँ।’ उक्त ग्यासबाट दैनिक १४ किलोवाट बिद्युत उत्पादन गर्ने महानगरपालिकाले योजना बनाएको छ। साथै यो प्लान्टमा दैनिक ३ हजार टन फोहोरको प्रयोग गरिने छ। ३ हजार टन फोहोरबाटै महानगरपालिकाले दैनिक ९६ किलोग्राम ग्यास, ३ सय किलोग्राम जैबिक मल उत्पादन गर्ने भएको हो। साथै यो प्लान्ट सञ्चालनमा आएसँगै वार्षिक दुई हजार ५ सय टन बराबरको कार्बनडाइअक्साइड ग्यास उत्सर्जनमा कमी आउने अपेक्षा गरिएको छ। यो परियोजना तीन वर्षसम्म काठमाडौं महानगरपालिका र हिम्काको साझेदारीमा सञ्चालन हुने भएको छ। तीन वर्षसम्मको यो परियोजना त्यसपछि भने पुर्ण रुपमा काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाले उत्पादन गर्न लागेको उक्त ग्यासमा ६५ प्रतिशत मिथेन ग्यास हुन्छ। यो पुर्ण रुपमा बायोग्यास हो। अन्य एलपिजी ग्यासमा भने मिथेनको मात्रा ९० प्रतिशत रहेको हुन्छ। तर प्रयोगकर्ताले भने यो कुन ग्यास हो भनेर फरक छुट्याउन नसक्ने एकिकृत दिगो फोहरमैला व्यवस्थापन परियोजनाका प्रमुख झाले बताए। उनले भने ‘टेकु ट्रान्सफरमरबाट बैशाखपछि उत्पादन हुने ग्यासलाई सिलिन्डरमा हालेर बजारमा पठाउने हो भने दैनिक २ सय ४० घरपरिवारलाई पुग्छ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु