मोर्चाका कार्यकर्ताले चीनी लुटे

२०७२ कार्तिक २८ गते, शनिबार

काठमाडौं, २८ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले काठमाण्डौका लागि चीनी लोड गरेर गुडेका ट्रकहरुमा आगजनी र तोडफोड गर्दै लुटेपाट गरेका छन् । हिजो साँझ बाराको प्रसौनी स्थित रिलायन्स सुगर मिलको गोदामबाट चीनी बोकेर आएका ट्रकहरुलाई गण्डक बहुअरी चोकमा रोकेर उनिहरुले लुटेका हुन् । आन्दोलनकारीहरुले ना ४ ख ३५८४ नम्बरको ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको छ । तोडफोड गरिएका अन्य ट्रकहरुमा भने सामान्य क्षति भएको छ । आगजनी र तोडफोडपछि स्थानीयले ट्रकहरुमा रहेको चीनीको बोरा लुटेर लगेका छन् । ३ वटा ट्रकको सबै चीनी स्थानीयले लुटेर लगेको प्रत्यक्षदर्शी सुनील सर्राफले बताए । स्थानियले ट्रकबाट चीनी लुटेर लान थालेपछि घटना स्थलमा पुगेका प्रहरीले ७ राउण्ड हवाई फायर र केहि सेल अश्रु ग्याँस प्रहार गरेको थियो । ट्रकमा तोडफोड गर्दै चिनी लुटिएकोले प्रहरीले हवाइ फायर गर्नु परेको बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्लले बताए । घटनास्थलमा फसेका ट्रकहरु प्रसौनी स्थित चिनी मिलको गोदाममा लगिएको उनले बताए ।
त्यस्तै मधेसी मोर्चाका कार्यकर्ताहरुले शुक्रबार वीरगन्जमा तीन वटा ट्रकमा आगजनी गरेका छन् । सुख्खा बन्दरगाहा ड्राइपोर्ट अगाडि दुइ वटा र आदर्शनगरमा एउटा ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु