फ्रान्समा आपतकालिन अवस्था घोषणा

२०७२ कार्तिक २८ गते, शनिबार

काठमाडौं,२८ कार्तिक । फ्रान्सको राजधानी पेरिसमा भएको अन्धाधुन्ध गोली प्रहार र विस्फोटमा कम्तिमा १ सय ५३ जना मारिएका छन । यति धेरै मानिसको ज्यान जाने गरी भएको अन्धाधुन्ध गोली प्रहार तथा विस्फोट भएपछि फ्रान्स सरकारले राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेको छ । राष्ट्रपति फ्रास्वाँ ओल्याण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै आपतकालिन अवस्थाको घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय समाचार सस्था सिएनएनका अनुसार पेरिसको बटाक्लान आर्ट सेन्टरनजिक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । जर्मनी र फ्रान्सको मैत्रिपूर्ण फुटबल भएको नेशनल स्टेडियमको बाहिर कम्तिमा दुई वटा बिस्फोट गराइएको छ । बिस्फोट भएका बेला खेल चलिरहेको थियो ।
फ्रान्सेली राष्ट्रपति फ्रास्वा ओल्यान्ड पनि उक्त समयमा रंगशालामै खेल हेरिरहेको र उनलाई बिस्फोट लगतै सुरक्षित बाहिर निकालिएको थियो । आक्रमणमा कम्तिमा ६ जना आक्रमणकारी संलग्न रहेको जनाइएको छ । प्रहरीले उद्दार र राहतका साथै आक्रमणकारीको खोजी गरिरहेको छ भने सरकारी अधिकारीले नागरिकलाई आफ्नो घर भित्रै बस्न आग्रह गरेका छन् । राष्ट्रपति ओलाण्डले मुलुकमा संकटकालको घोषणा गर्दै सीमा बन्द गरिएको छ । राजधानी पेरिसमा सैनिक परिचालन गरिएको छ । आक्रमणमा विद्रोही संगठन इस्लामिक स्टेटको संलग्नता हुन सक्ने आशंका गरिएपनि पुष्टि भने भएको छैन ।
घटनाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गर्दै फ्रान्सलाई जुन कुनै प्रकारको सहयोग गर्न तयार रहेको जनाएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आक्रमणलाई कायरतापूर्ण भन्दै निन्दा गरेका छन् । ओबामाले यो आक्रमण मानवतामाथिको आक्रमण भएको र अमेरिका फ्रान्सको साथमा रहेको बताएका छन् । यस्तै बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले पेरिसमा भएको घटनाबाट आफू स्तब्ध भएको भन्दै बेलायत फ्रान्सलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु