नाट्टा सम्मेलन हुदै

२०७२ भाद्र २३ गते, बुधबार

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल सुरक्षित रहेकोबारे जानकारी गराउन चिनियाँ कलाकार मिङ याङ जियाङसहित २० देशका पत्रकारलाई नेपालको भ्रमण गराउने भएको छ । नाट्टाको आगामी असोज १० गते काठमाडौंमा हुने २०औं अधिवेशन पनि पर्यटनको प्रबद्र्धनमा केन्द्रित हुने जनाएको छ । नाट्टाले राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डीबी लिम्बुले अधिवेशनमा युनिर्भसल फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसनका कार्यबाहक अध्यक्ष उदय नानायक्काराले कार्यपत्र प्रस्तुत गर्ने जानकारी गराए ।
अधिवेशनमा प्रस्तुत हुने निष्कर्ष नेपालको पर्यटन पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले सम्बन्धित निकायलाई बुझाउने पनि उनले बताए । भूकम्पपछि पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने जानकारी अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी किसिमले पुर्‍याउन नसकिएको अध्यक्ष लिम्बुले बताए ।
अधिवेशनसँगै दक्षिण एसिया पर्यटन परिषद्को दोस्रो कार्यकारी बैठक पनि हुने नाट्टाले जनाएको छ । नेपालको पर्यटन क्षेत्रको अवलोकन गर्न इटाली, फ्रान्स, टर्की, हङकङ, चीन, भारत, श्रीलंकालगायत २० मुलुकका पत्रकार एवं टुर अपरेटर सहभागी हुने जनाइएको छ ।

प्रतिक्रियाहरु