संसदीय व्यवस्था अस्वीकार्य :वैद्य

२०७२ असार १५ गते, मंगलवार

काठमाडौँ, १५ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संसदीय व्यवस्था भएको संविधान जारी गरिए त्यो आफूहरूलाई स्वीकार्य नहुने बताउनुभएको छ । जाजरकोटमा २०५६ असार १५ गते सुरक्षाकर्मीद्वारा पक्राउपछि हत्या गरिएका छ माओवादी कार्यकर्ताको स्मृतिमा माओवादी उपत्यका ब्युरोले आज यहाँ आयोजना गरेको ‘जाजरकोट कुसतारा हत्याकाण्ड १६औं स्मृति दिवस’मा अध्यक्ष वैद्यले संसदीय व्यवस्था नेपालको सन्दर्भमा असफलसिद्ध भइसकेको जिकिर गर्नुभयो ।
सोह्रबुँदे सम्झौतामा एकीकृत नेकपा(माओवादी)ले हस्ताक्षर गरेलगत्तै उससँगको पार्टी एकता भङ्ग भएको घोषणा गर्नुभएका अध्यक्ष वैद्यले आज फेरि एकताको सम्भावना रहेको सङ्केत गर्नुभयो । उहाँले भन्नुभयो, “एक पटक एकता प्रक्रिया भङ्ग भयो भन्दैमा सधैँका लागि भङ्ग भयो भन्न हुँदैन, सबैले आफ्ना कमीकमजोरी सच्याएर एउटै माओवादी केन्द्र बनाउनु अहिलको आवश्यकता हो । ”
कार्यक्रममा एमाओवादीका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले विचारको राजनीतिमा माओवादीहरू अल्मलिएको बताउँदै विगतका गल्ती सच्याउनुपर्ने भनाइ राख्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले अहिले सबैभन्दा बढी सङ्कट माअ‍ोवादी आन्दोलनमा आएको बताउँदै त्यसलाई व्यवस्थापन गर्न नसके सबै माओवादीको विसर्जन अवश्यम्भावी भएको ठोकुवा गर्नुभयो ।
नेकपा माओवादीका पोलिटब्युरो सदस्य तिलक परियार, सहिद प्रतिष्ठानका अध्यक्ष एकराज भण्डारी, माओवादी केन्द्रीय सदस्य रामदीप आचार्यलगायतले वर्गसङ्घर्षलाई अगाडी बढाउँदै लैजान आवश्यक रहेकामा जोड दिनुभयो । रासस

प्रतिक्रियाहरु