हामीले साँच्चै नै जनताको सेवा गर्ने भावना राख्नुपर्छ – विप्लव, महासचिव, नेकपा माओवादी

२०७२ जेष्ठ २९ गते, शुक्रबार

– विनास र विध्वंसकारी भुइँचालो गएको केही दिनपछि नै तपाईंको नेतृत्वमा गोरखाको बारपाक, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रामेछाप, दोलखालगायत अतिप्रभावित क्षेत्रहरूमा जानुभयो । त्यहाँको स्थितिका बारेमा बताइदिनुहुन्छ कि ?
भूकम्पीय विपत्तिले जनतालाई निकै ठूलो क्षति पुर्यायो । जनताले निकै ठूलो दुःख भोग्नुपरेको छ । बस्तीहरू नै भत्किएका छन् । सरकारी तथ्याङ्कअनुसार नै असी लाख जनता प्रभावित भएका छन् । आठ लाख घरहरू बस्न नमिल्ने गरी भत्किएका छन् । दस हजारजतिको निधन भएको छ । हजारौँको सङ्ख्यामा घाइते भएका छन् । यो नेपालकै इतिहासमा एकैपटक भएको सबैभन्दा ठूलो क्षति हो ।
भूकम्पपछि हामी मुख्य प्रभावित क्षेत्रमा पुग्यौँ । बारपाकको डाँडा चढ्दै गर्दा र गाउँमा पुग्दा कल्पनाभन्दा बाहिरको क्षति देख्यौँ । घरको के कुरा गर्ने, डाँडा नै फुटेका छन् । घरका आँगन, पिँढी सबै उप्केका छन् । ठूलाठूला पत्थरहरू उप्केर बसेका छन् । जनता घरबाट निस्केर पनि कहाँ जाने, आँगन नै फुटेको छ । एउटा विध्वंसजस्तो देख्यौँ । हामी जाँदा गाउँका आमा, बा, दाइभाइहरू बडो पीडामा हुनुहुन्थ्यो । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, दोलखा, रामेछाप र काभ्रेको हालत पनि त्यस्तै छ ।
यो देख्दा हाम्रो मन पनि निकै चिढियो । जनताले पाएको दुःख देख्दा साँच्चै नै पीडा अनुभव भयो ।
– प्रभावित जनताको अवस्था कस्तो पाउनुभयो ?
जनतासँग बास छैन । खाने गाँस छैन । ओड्ने कपडा छैन । आफन्तहरू गुमेका छन् । घाइते भएका छन् । बेपत्ता भएका छन् । जनजीवन क्षतविक्षत भएको छ । जनताहरूमा के गरौँ र कसो गरौँको आवस्था छ । हामीले जनतासँग थोरै भए पनि दुःख बाँड्ने पहल ग¥यौँ । जनतालाई जे सकिन्छ, मलम लगाउने कोसिस गर्याै।
पार्टीको निर्णयअनुसार हामी ‘भूकम्पीय विध्वंसलाई निर्माणमा बदलौँ, विपत्तिलाई समृद्धिको आधार बनाऔँ, सहयोगलाई ध्यान दिऔँ, आत्मनिर्भरतामा जोड दिऔँ” भन्ने नाराका साथ उद्धार तथा राहत अभियानमा जुटेका छौँ ।
अभियानमा जाँदा आफ्नो क्षमताअनुसार नेपाली सेना र प्रहरीले जनताको उद्धारमा सघाएको देख्यौँ । हाम्रा कमरेडहरू सबैभन्दा पहिले जनतामा पुग्नुभयो । यसबाट जनताहरू केही मात्रमा भए पनि उत्साहित र आशावादी भएको पायौँ ।
भूकम्प प्रभावित क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी माओवादी सबैभन्दा पहिले गयो । पार्टीले के गरिराखेको छ ? केके कार्यक्रम कसरी अगाडि बढिरहेको छ ?
हो । संयोगबस नभई हामी नै पहिले अभियानात्मक ढङ्ले जनतामा गयौँ । यो जाने कुरा मात्र पनि होइन, दुःख पर्दा जनताको सेवा गर्ने कुरा हो । पहिले जाने मात्र होइन, हामी निरन्तर लाग्नेछौँ । जनतामा गइसकेपछि जनताको दुःखमा जेजे गरेर हुन्छ मद्दत गर्ने काम गरेका छौँ । घर बनाउने, अन्नपात निकाल्ने, व्यवस्थित गरिदिने, धरापलाई भत्काउने, उपचार गर्ने गरिरहेका छौँ । विशाल सागरमा कुलो काटेजस्तो हो विध्वंसमा हाम्रो प्रवेश तर दुःखमाथि हामी बिस्तारै विजयी हुँदै जानेछौँ ।
काठमाडौँमा फोटो खिचाउने, अन्तर्वार्ता दिने, गाउँमा जानुपरे हेलिकप्टरमा चढेर सयर गर्ने, पुँजीपतिको राहत लिएर बाँडिदिने, विदेशीको ढोका चाहार्ने खालको बढी देखिन्छ ।
भूकम्पपीडित जनताको उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारले विभिन्न कार्यक्रम र योजना ल्याएको छ । त्यसको प्रभाव कस्तो देखिन्छ ?
रेडियो र टीभीमा सरकारले जति प्रचार गरेको छ, जनतामा पुग्दा त्यो भूmटो र बढाइचढाइ लाग्छ । सरकार कहाँ छ, के गर्दैछ, जनतालाई पत्तो नै छैन । आजसम्म पनि सरकार नपुगेका ठाउँहरू धेरै छन् । केही गरेका छन् भने केवल हाम्रा कमरेड सेना र प्रहरीले मात्र गरेको देखिन्छ । त्यसबाहेक सरकार छ्रैन । अहिले आएर त जनताको विपत्तिलाई सत्तासीनहरूको एउटा हिस्साले आफ्नो कमाउने र समृद्धिको साधन बनाएको पाइयो । जनताको स्थिति दुःखदायी छ । सरकारका मन्त्रीहरू कम्मल, चामल, टिन, राहत सामग्री लुकाउने, चोर्ने, बेचेर खानेतिर लागेका छन् । योजस्तो लाजलाग्दो, घृणास्पद, निचता र बेइमानी के हुन सक्छ ? यो त नेपाली जनताकै पनि अपमान र बेइज्जतिको कुरा हो । यस्तोलाई पनि के सरकार भन्ने ? के राज्य भन्ने !
– अन्य पार्टी पनि त्यसमा सहभागी भएका छन् । तिनको स्थिति कस्तो पाउनु भयो ?
पार्टीहरू जनताको सेवामा जानु भनेको खुसीकै कुरा हो तर यसमा पनि इमानदारी देखिँदैन । काठमाडौँमा फोटो खिचाउने, अन्तर्वार्ता दिने, गाउँमा जानुपरे हेलिकप्टरमा चढेर सयर गर्ने, पुँजीपतिको राहत लिएर बाँडिदिने, विदेशीको ढोका चाहार्ने खालको बढी देखिन्छ । हामीले साँच्चै नै जनताको सेवा गर्ने भावना राख्नुपर्छ ।
– तर प्रचार माध्यमहरूले त संसद्वादी दलहरूको मात्र बढी प्रचार गरेका छन्, तपाईंको पार्टीलाई एक्ल्याउन खोजेका हुन् ?
हो, यो त अचाक्ली भएको छ । व्यक्तिगत भेटघाट र टिप्पणीमा जनसेवामा तपाईंको पार्टीले सुरू गरेको हो भन्छन् तर सञ्चारमा ल्याउँदा काठमाडौँका हलभित्र र विज्ञापनका लागि गरेका कामहरूको प्रचार गर्छन् तर माओवादीले मरेर गरेको कामलाई छिपाउँछन् । रामेछापका सेक्रेटरी कमरेड उद्धारमै रहेको बेला २९ गतेको ठूलो भूकम्पमा परेर गम्भीर घाइते हुनुभयो । हेलीबाट काठमाडौँ ल्याइयो । रामेछापका सिडियोले मद्दत नै गर्नुभयो तर कुनै सरकारी र गैरसरकारी सञ्चारमाध्यमले त्यसलाई प्रचार गरेनन् । हाम्रा युवाहरू काँध खुल्किँदासम्म श्रममा जुट्नुभएको छ ।
गाउँगाउँमा पुग्नुभएको छ । उद्धार र राहत त जसले गरे पनि समाजसेवा हो । सरकारी रेडियो र टेलिभिजनले निष्पक्ष प्रचार गर्नुपर्ने हो तर यी साधन त प्रतिक्रान्तिकारी तत्वहरूका बपौती र संसद्वादी दलालहरूका सुगाजस्ता भए । माओवादीले गरेको जनसेवा मानिलिनुस् क्रान्ति नै हो यसलाई प्रचार गर्नु भनेको क्रान्तिकै समर्थन हुन्छ भन्नेजस्तो गरे । यसको हिसाब र यिनका संवाददाताको हिसाब पनि जनताले राखेका होलान् । हाम्रो त यसमा कुनै गुनासो छैन । हामीले जनताको सेवा गर्ने हो, जनताले बुझिदिए हुन्छ ।
– सरकारले सबै पार्टीसँग सहकार्य गर्ने भनेको छ तर नेकपा माओवादीले उक्त कार्यक्रमप्रति खासै चासो देखाएको देखिएन । किन सरकारसँग सहकार्य गरेर जान सकिँदैन र ?
सरकार निकै कमजोर छ । प्रचारमा जे भन्छ, व्यवहारमा केही प्रभावकारिता छैन । हामीले निर्णय नै गरेका छौँ– भूकम्पीय विपत्तिमा सर्वपक्षीय सहमति र सहभागितासहित राहत र उद्धारकार्यमा जाने भनेर । जिल्लाहरूमा जहाँको प्रशासन फराकिलो र सरल छ, त्यहाँ सहकार्य भइ पनि राखेको छ तर केन्द्रीय सरकार मन्दबुद्धिको जस्तो सुस्त छ । न यसलाई विपत्तिको चाप छ, न त आवश्यकतालाई समन्वय गरेर परिचालन गर्ने क्षमता नै राख्छ । हामी जनताको सेवामा जानैपर्ने थियो, कुनै ढिलाइ नगरी गयौँ । अहिले आएर हेर्दा हामीले ठिकै गर्यौँ भन्ने लागेको छ । सरकार त विध्वंसमा पनि भ्रष्टाचार गर्नेतिर पो गयो । यस्तो नालायकसँग गएको भए त बदनामीको दाग हामीमा पनि पर्न सक्ने रहेछ ।
सञ्चारमाध्यमको प्रचारले गर्दा जनतासमेत सक्ने काम पनि नगरेर, राहत पर्खेर बस्लान् भन्नेजस्तो भयो । तथापि अब स्थिति सुधार हुँदै जनता आफैँले जे गर्न सकिन्छ, गर्नेतिर गएको देखिन्छ ।
– सरकार त विदेशबाट राहतका लागि पैसा र सामग्री आउला र बनाउँला भन्ने गर्छ । यसमा तपाइँहरुकाे भनाइँ के छ ?
जनताको लागि यो बडो लज्जाको कुरा हो । विदेशीले सहयोग गर्लान्, त्यसमा धन्यवाद नै दिनुपर्छ । मानव संवेदना पैदा हुनु र दुःखमा मद्दत गर्नु स्वागतकै कुरा हो तर उनीहरूले देलान् र घर बनाउँला, खाउँला भन्नेजस्तो प्रचार, जुन प्रचारमाध्यमहरूले बनाउन खोजे, त्यो नेपाली जनताको इतिहास र आजको संस्कारसँग मेल नखाने कुरा हो । सञ्चारमाध्यमको प्रचारले गर्दा जनतासमेत सक्ने काम पनि नगरेर, राहत पर्खेर बस्लान् भन्नेजस्तो भयो । तथापि अब स्थिति सुधार हुँदै जनता आफैँले जे गर्न सकिन्छ, गर्नेतिर गएको देखिन्छ । यो निकै खुसीको कुरा हो । हामीले जनतालाई परनिर्भरतामा होइन, आत्मनिर्भरतामै जोड दिनुपर्छ ।
यस सन्दर्भमा हामीले नारा नै दिएका छौँ– सहयोगलाई ध्यान दिऔँ, आत्मनिर्भरतामा जोड दिऔँ । यी पाखा हामीले नै फोरेका हौँ । बारी, खेत, घर, गोठ हामीले नै बनाएका हौँ । हो, यो प्रकोपले एकैपटक ठूलो क्षति पु¥याउँदा हैरानी भयो तर हामी समालिएर आफ्नो श्रम, सीप, शक्तिलाई प्रयोग गर्दै, एकआपसमा हातेमालो गर्दै निर्माणमा जुट्नुपर्छ । विदेशी मित्रहरूले सहयोग गरे भने पनि सदुपयोग गर्दै आफैँलाई बढी सुदृढ गर्नुपर्छ ।
– गत १८ गतेका दिन राहत, उद्धार र पुनर्निर्माणमा गएको पहिलो चरणको टिमहरू फर्किएर आएपछि समीक्षा गर्नुभयो । त्यो समीक्षाको सार भनिदिनुस् न ।
भूकम्पपछि उद्धार र राहतको हाम्रो दुई चरण पूरा भइसकेको छ । पहिलो टोलीले वैशाख २५ देखि जेठ ५ सम्म र अर्को जेठ ७ देखि जेठ १६ सम्म । अहिले तेस्रो चरणमा कमरेडहरू खटिरहनुभएको छ । यो दुईपटकको समीक्षाअनुसार हालसम्म लगभग १००० जना जनस्वयंसेवकले २५ दिन काम गरिसक्नुभएको छ । १००० भन्दा बढी घरटहरा निर्माण गरिएका छन् । ३०० भन्दा बढी घर भत्काइएको छ । २०० भन्दा बढी घरबाट अन्नपात निकालिएको छ । एक दर्जन स्कुलका टहरा निर्माण गरिएको छ । जाजारकोट, गोरखा, दोलखाको सिँगटी, नुवाकोटलगायत स्थानमा स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
अभियानमा जति पनि कमरेडहरू सहभागी हुनुभयो, सबै कमरेडहरू निकै उत्साहित भएर आउनुभएको छ । युवाहरूका हातमा फोका उठेका छन्, काँध खुइलेका छन् । घामले छाला डढेको छ । रामेछापका सेक्रेटरी कमरेडका दुवै खुट्टा भाँचिएका छन् । थुप्रै युवकयुवतीलाई चोटपटक लागेको छ तर कसैमा पनि दुःखको भाव छैन । सबैमा उत्साह र गौरवको अनुभूति छ । पार्टीले खटायो भने फेरि पनि काममा जान तयार भएको धारणा राख्नुभएको छ ।
काममा रहँदा जनता पनि निकै खुसी र उत्साही भएको रिपोर्ट पाइयो । कयौँ ठाउँमा बिहान ४ बजे नै क्याम्पमा आएर पर्खिबसेको पनि सुनाउनुभयो । जनताले मात्र होइन, काङ्ग्रेस–एमालेका स्थानीय नेताले समेत कमरेडहरूलाई विश्वास गरेर सहयोग मागेको पाइयो । आफ्नै पार्टीलाई आलोचना गरेको र हामीप्रति विश्वास राखेको देखियो । सहिद परिवार, निधन भएकाहरूका परिवार, एकल महिला र वृद्धाहरूलाई विशेष जोड दिनुभएछ । जनताले खसी काटेर खुवाएको, मासु र भात खोजीखोजी खुवाएको, रूँदै बिदाइ गरेको पायौँ । केही कमरेडले जनयुद्धको स्मरण भएको अनुभूति राख्नुभयो । यो अभियानले हामीलाई विश्वास भयो– हाम्रा जनता महान् छन् । दुःखमा पनि आशा मार्दैनन् । हामीले बाटो देखायौँ र सहयोग ग¥यौँ भने विध्वंसलाई निर्माणमा, विपत्तिलाई समृद्धिमा उठाउन सक्छन् ।
विपत्तिमा परेको बेला छिमेकीको सहयोग रहनु स्वागतयोग्य कुरा हो तर त्यो नाममा भएको अस्तित्वमै समस्या आउने गरी हस्तक्षेप हुनु पीडामा पीडा, त्रासमा त्रास र दुःखमा दुःख थप्नुजस्तो हो । यसले त भएको मित्रतालाई पनि सङ्कटमा धकेलिदिन्छ ।
– भूकम्प प्रभावित क्षेत्र र जनतालाई लक्षित गरी पार्टीले केकस्ता योजना ल्याएको छ ?
राम्रो प्रश्न सोध्नुभयो । भूकम्पबाट प्रभावित जनताका लागि हामीले राज्यसँग पाँचवटा प्रस्ताव अगाडि सारेका छौँ । पहिलो हिमाली र उच्च पहाडी क्षेत्रबाट जनतालाई सुरक्षित क्षेत्रमा सार्ने, दोस्रो पूरै विध्वंस भएका बस्तीलाई पुनर्वासको व्यवस्था गर्ने, तेस्रो घामपानी, वर्षा र हुरीबाट बच्न अस्थायी घरटहरा निर्माणलाई युद्धस्तरमा अगाडि बढाउने, चौथो क्षति भएका घरहरूलाई दुई भागमा मात्र वर्गीकरण गर्ने, बस्न मिल्ने र बस्न नमिल्ने, पाँचौँ प्रभावित नागरिकलाई बिनाधितो ऋण उपलब्ध गराउनुपर्ने । यी प्रस्ताव हाम्रोभन्दा पनि नेपाली नागरिकसँग सम्बन्धित विषय हुन् । राज्यमा अलिकति पनि जनताको माया र जिम्मेवारी छ भने यति गर्नैपर्छ ।
जहाँसम्म पार्टीको कुरा छ, हामीले जनतालाई आफूसँग जे छ, त्यो इमानदारीका साथ दिने हो । जस्तो, हामीसँग श्रम छ, हामीसँग श्रम गर्ने युवा शक्ति छ, जनता र कार्यकर्ता छन्, हाम्रा गाउँघरमा काठपात, बाँस र बाबियो छन्, तिनलाई हामी प्रयोग गरेर यो सङ्कटमा सहयोग र राहत उपलब्ध गराउने हो । हामीले त्यसै गरी पनि राखेका छौँ ।
– थोरै सन्दर्भ बदलौँ, देशमा आइपरेको प्राकृतिक विपत्तिलाई सामना गर्न राष्ट्रिय संयुक्त सरकार बनाउनुपर्छ भन्दै केही राजनीतिक पार्टीहरू लागिपरेका छन् । तर कृष्ण सेन ‘इच्छुक’ को स्मृति दिवसमा यहाँले अहिले सरकार गठन र पुनर्गठनको कुरा गर्नु हुँदैन भन्नुभयो । पार्टीको धारणा के हो ?
हो, हामीले विपद्को बेला जनतालाई सहयोग गर्ने, जे सकिन्छ मद्दत उपलब्ध गराउने, हैरानी र पीडाबाट बाहिर ल्याउने, अगाडिको सम्भावना देखाउने हो । यसबेला ताल न बेताल सरकारको कुरा गर्नु भनेको ‘अरूलाई केको धन्दा घरज्वाइँलाई खानैको धन्दा’ भनेजस्तो लज्जास्पद कुरा हुन्छ । जहाँसम्म राष्ट्रिय सरकारको कुरा छ, यो भनेको के हो ? काङ्ग्रेस, एमाले, एमाओवादी, मधेसवादी जुन शक्तिहरू एकप्रकारले दस वर्षदेखि सरकार बनाउने र ढाल्ने खेलमा लिप्त छन्, जसले पनि आफूलाई सरकार र मन्त्रीमा लैजाने दाउ मात्र खोजिरहन्छन्, यिनलाई जनताको कहिले मतलब भयो ? देशको कहिले मतलब भयो ? बरू जतिपटक सरकार फेरबदल भएका छन्, त्यतिपटक प्रधानमन्त्री र सरकारका लागि देशलाई बेच्ने, देशका सोतसाधन विदेशीलाई लुटाउने, कमिसन खाने, जनतालाई ऋणको भार बोकाउने काम हुँदै आएका छन् । विदेशी शक्तिले पनि जब हाम्रो देशको कुनै सम्पदा कब्जा गर्ने योजना बनाउँछन् अनि नेपालको सरकार फेर्नुपर्ने कुरा गर्न थाल्छन् । सङ्क्रमणकालीन सत्ताबारे नयाँ राजनीतिक सोचाइ र उद्देश्यबिना सरकारको सोचाइ ल्याउनु र ल्याउन लगाउनु भनेको जनता र राष्ट्रमाथि नयाँ घात थप्नु हो । यस्तो लाचारी र स्वार्थी खेलको भन्डाफोर गर्नुपर्छ ।
जहाँसम्म सबैले सरकारको कुरा गर्ने विषय छ, यसमा हाम्रो दृष्टिकोण सीधा छ । आजको नेपाली आवश्यकता भनेको सरकारको होइन, जनयुद्धपछि अगाडि आएको सङ्क्रमणकालीन राजनीतिक सत्ता व्यवस्थापनको कुरा हो । माओवादीसहितको राज्यसत्ता निर्माणको विषय हो । सत्तालाई पुरानै ठाउँमा राखेर, दलालहरूको हातमा सुम्पिएर सरकारको मात्र कुरा गर्नु जनयुद्धका प्रस्ताव र सङ्क्रमणकालका सम्झौताहरूको उल्लङ्घन गर्नु हो । हामीले भनेकै छौँ– नेपालमा संसदीय व्यवस्था असफल व्यवस्था हो र त्यसलाई लाद्ने कुनै पनि खेल हामीलाई स्वीकार्य छैन । माओवादीसहितको सत्ताबेक सबै कुरा भ्रम हो ।
– बेलाबेलामा सबै माओवादी एकै ठाउँमा भन्ने हल्ला सुनिन्छ । अहिले पाँच माओवादी एकै भएर राहत र पुनर्निर्माणमा जुटिराखेका छन् । यहाँहरू एक्लै हुनुहन्छ । संयुक्त भएर गर्दा हुँदैन ?
यो पनि सामयिक प्रश्न हो । माओवादी नामका पार्टीहरू धेरै छन् । तर यो सन्दर्भमा जनयुद्धपूर्व र पछि प्रचण्ड, बाबुराम र किरणहरूले एउटा तर्क गर्नुहुन्थ्यो एक देशमा सही र क्रान्तिकारी कम्युनिस्ट पार्टी एकभन्दा धेरै हुन सक्दैनन् । उहाँहरू अहिले पनि भन्नुहुन्छ– माओवादी आन्दोलनमा दुई धार छन् । एउटा नयाँ बनेको माओवादी पार्टीको धार र अर्को उहाँहरूको धार । हामीलाई पनि यो तर्क सही लाग्छ । माओवादी आन्दोलनमा दुई धार छन् । दुई धार सामान्य नभई नेपाली राजनीति र राज्यसत्तालाई हेर्नेमै पूरै अन्तर पर्न गएपछि नयाँ पार्टी बनेको स्थिति हो । फरक विचारहरू प्रयोगको तहसम्म जान पाएकै छैनन् । विचार नै नमिलेर पार्टी बनिसकेपछि प्रयोगको एक तहमा नपुगेर यिनको बीचमा मेल असम्भव कुरा हो । तर पार्टीलाई छोडेर माओवादी भनेको आन्दोलन पनि हो ।
जनयुद्धदेखि अगाडि आएको माओवादी आन्दोलन बढी नै रहेको छ । जनयुद्धका प्रस्तावहरू सही थिए भन्ने पनि साबित भइसकेको छ । प्रायः सबै माओवादीवको भनाइ के छ भने जसले जनयुद्धका प्रतावहरूलाई प्रयोगात्मक ढङ्गले अगाडि बढाउँछ, उसैलाई साथ दिने । हाम्रो विचारमा यो सहि पनि हो । यसरी हेर्दा एक समय आउनेछ, जहाँबाट माओवादी आन्दोलन एक भएर अगाडि बढ्नेछ ।
जहाँसम्म पाँच माओवादीको कुरा छ, यो उहाँहरूको कुरा हो । विचार मिल्छ भने पार्टी मिले हुन्छ । जोसँग विचार मिल्छ, एकता त्यहाँ हुनु उचित नै हुन्छ । विचार मिलेपछि पार्टी किन फरक चलाउने ? त्यो त कम्पनीजस्तो मात्र हुन्छ ।
– भूकम्पपीडितहरूलाई सहयोगका लागि भनेर यहाँ अमेरिका, भारतजस्ता शक्तिशाली राष्ट्रहरूको चलखेल भएको छ, यो त्यति राम्रो भएन भन्ने छ नि ?
यो बडो खेदको कुरा छ । विपत्तिमा परेको बेला छिमेकीको सहयोग रहनु स्वागतयोग्य कुरा हो तर त्यो नाममा भएको अस्तित्वमै समस्या आउने गरी हस्तक्षेप हुनु पीडामा पीडा, त्रासमा त्रास र दुःखमा दुःख थप्नुजस्तो हो । यसले त भएको मित्रतालाई पनि सङ्कटमा धकेलिदिन्छ । सबैलाई थाहा भयो– केही शक्तिकेन्द्रबाट राजनीतिक पार्टी र राज्यका जिम्मेवार तहलाई जानकारी नै नदिएर बर्दीसहित, लडाकु विमानसहित प्रवेश गर्ने र आफ्नै कमान्ड कायम गर्नेजस्तो भयो । यो स्वाभिमानी नेपालीका लागि स्वीकार्य हुने विषय थिएन र छैन ।
यो भइसकेपछि हाम्रो पार्टीले नै सबै छिमेकी राष्ट्रहरूलाई उद्धार टोलीबाहेक जेठ महिनाभित्र सेना फिर्ता लैजान अपिल गर्यौँ । पछि नेपाली सेना, स्वतन्त्र नागरिक र अनौपचारिक क्षेत्रबाट पनि विदेशी सेना फर्काउनुपर्ने धारणा आए । यो खुसीको कुरा हो । सुनिँदैछ, विदेशी सेनाहरू प्रायः फर्किसके । फर्केको भए राम्रो भयो । अझै कोही फर्किसकेको छैन भने ती पनि फर्किऊन् भन्ने हाम्रो धारणा छ । किनकि कुनै पनि सर्वभौम राष्ट्रमा यसखालको चलखेल र हस्तक्षेप स्वीकार्य हुन सक्दैन ।
– यही जटिल परिस्थितिमा भारत र चीनले मे १५ का दिन सीमा व्यापार सम्झौता गरे । त्यसमा नेपालको भूभाग लिपुलेकलाई पुलका रूपमा प्रयोग गर्ने सहमति भएको छ । यसबारे के दृष्टिकोण छ ?
यो निकै संवेदनशील मामिला हो । नेपाल र भारतको बीचमा सीमाविवाद पेचिलो अवस्थामा छ भन्ने सबैलाई थाहा छ । ब्रिटिस साम्राज्य भारतबाट फर्केपछि नेपाल कस्तो हुने भन्नेसम्मका बहस छन् । भारतले १९५० देखि बाबुराम भट्टराई, सुशील कोइरालासम्मले गरेका असमान र राष्ट्रघाती सन्धिसम्झौताले गर्दा सीमाविवाद कसिँदै गएको छ । त्यसमध्येमा कालापानी, लिम्पियाधुरा, लिपुलेक पश्चिम सीमाका समस्या हुन् । कालापानी नेपालको हो । लिपुलेक नेपालको हो भन्नेमा चीनलाई पनि थाहा छ । माओको पालादेखि हु जिन्ताओको समयसम्म यो भूभाग नेपालको हो भन्ने बुझाइ चीनको थियो । तर अहिले मोदी भ्रमणको बेलामा चीनले पनि भारतसँग यो नाकाबाट व्यापार गर्ने सम्झौता ग¥यो भन्दा नेपाली जनतालाई आश्चर्य लागेको छ । त्यति मात्र होइन, यसप्रति असहमति पनि छ । चीनले कसरी बुझेको हो, नेपाली जनतासामु स्पष्ट गर्नु आवश्यक छ ।
– यसको समाधान कसरी हुन्छ ? तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ ?
हामीले भनेका छौँ– भारत सबैभन्दा बढी संवेदनशील छ भने चीनसँगको उसको सीमा विवादको कारणले छ । उसले आफ्नो भूमिका बारेमा त्यति चासो राख्दा नेपालसँग यस्तो व्यवहार गर्न मिल्छ ? जानाजान नेपालको भूमिलाई आफ्नो भन्न मिल्छ ? यो त हदैसम्मको बेइमानी र अतिक्रमणकारी चरित्र हुन्छ । भारतले हाम्रो भूमि छोड्नुपर्छ । चीनले आफ्नो गल्तीलाई सच्याउनुपर्छ । यसो गरिँदैन भने हामी क्रमशः सङ्घर्षमा अगाडि बढ्नेछौँ । सम्झौतालगत्तै हाम्रा बुद्धिजीवी साथीहरूको आयोजनामा अन्तरक्रिया गरिसकिएको छ ।
नेपाल सरकार, भारतीय दूतावास र चिनियाँ दूतावासमा ज्ञापनपत्र दिइसकिएको छ । अब सवै देशभक्त शक्तिहरूलाई लिएर आन्दोलनमा जानुपर्छ भन्ने हाम्रो सोचाइ छ । सम्भवतः यो छिट्टै सल्लाह गरेर आयोजना गरिनेछ । हाम्रा युवकयुवतीहरूले देशका बारेमा बोल्ने बेला भएको छ । आफ्नो देशका बारेमा बोल्न कोही पनि हिचकिचाउनु हुँदैन । अपसोच ! पार्टी र नेताहरू कोही पनि बोलिरहेका छैनन् । मुखमा बुजो लगाएका छन् ।
– नेकपा माओवादीले भन्दै आएको विगतका सहमति र सम्झौता कार्यान्वयनका बारेमा वर्तमान सरकार र राज्यसत्ता पूर्ण रूपले बेखबर र उदासीन देखियो । यस्तो अवस्थामा अबको आन्दोलन कसरी अगाडि बढ्छ ?
संसद्वादी, मुख्यतः विदेशीको इशारामा चल्ने केही दलालहरूलाई लागेको होला– सहमति र सम्झौताहरू माओवादीलाई फसाउने जाल मात्र थिए । माओवादी अब निस्किन सक्नेछैन । नेपालमा संसदीय व्यवस्था आरामका साथ गुड्नेछ र संसद्वादीहरूले जनयुद्धलाई उपहास गर्दै आनन्द लिँदै सयर गर्नेेछन् । यो उनीहरूको काल्पनिक उडान मात्र हो । यो धर्तीमा माओवादी रहेसम्म इमानदारी साथ सहकार्य गर्नेबाहेक फसाएर समाप्त गर्ने भन्ने कसैले नसोचे हुन्छ । माओवादी आफ्नो वचन र आदर्शमा सम्पूर्ण रूपले समर्पित छ र रहिरहनेछ । अबको दिनमा कि धोकालाई परित्याग गर्नु पर्नेछ कि त धोकाले क्रान्ति लिएर आउनेछ । तेस्रो विकल्प हामीसँग छैन ।
– २६ गते मध्यरातमा चार राजनीतिक दलका बीचमा भएको १६ बुँदे सहमतिलाई यहाँहरूको पार्टीले कसरी लिएको छ ?
यो सहमतिको हामी पूर्ण रूपले विरोध गर्छौं । यसले तत्कालीन माओवादी र सात राजनीतिक दलका बीचमा भएका पाँचबुँदे रोल्पा सम्झौता, १२ बुँदे समझदारी र बृहत् शान्तिसम्झौतालाई पूर्ण रूपले निस्तेज गरिदिएको छ । २०५२ सालमा सुरू गरिएको जनयुद्ध र १९ दिने जनआन्दोलन तत्कालीन राजतन्त्र र संसदीय व्यवस्थाका विरूद्ध सञ्चालन गरिएका थिए । यस सम्झौताले संसदीय व्यवस्थालाई पुनस्र्थापना गर्छ । त्यसैले यो सम्झौता जनयुद्ध र जनआन्दोलनका विरूद्ध छ । नेपाली जनताले जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त गरेका अधिकारहरूलाई कटौती गरिदिएको छ र मुख्य रूपमा राजतन्त्रको अन्त्य गरी सङ्घीय गणतन्त्रसम्म देशलाई ल्याइपु¥याउने सङ्घर्षको मुख्य नेतृत्वकर्ता माओवादी शक्तिलाई बेवास्ता गरिएको छ । त्यसैले यो सहमतिको भत्र्सना गर्नुपर्छ । विरोध गर्नुपर्छ । हाम्रो पार्टीले उक्त सहमतिको विरोध गरेको छ ।
– अन्त्यमा यो विपद्को घडीमा जनता र जनसेवामा जुटेका जनस्वयंसेवकलाई के भन्न चाहनुहुन्छ ?
विपद् सानो होइन, निकै ठूलो छ । जनताको जीवन असहज भएको छ तर हामी नेपाली दुःखमा एक हुँदै हातेमालो गर्दै पीडालाई बाँड्दै उठ्नुपर्छ । जोडतोडले निरन्तर बस्ती निर्माणमा जुट्नुपर्छ ।
जनतालाई परेको अकथनीय दुःखमा हाम्रा कमरेडहरू दुःखकष्टका साथ उद्धार र राहत अभियानमा जुट्नुभएको छ । हामीसँग स्रोतसाधन कमै छन् तर हामीसँग बल, श्रम, सीप, जाँगर, जनसेवाको भावना, देशप्रेम छ । हाम्रा जनस्वयंसेवकहरूले दिलोज्यानले जनताको सेवा गर्नुपर्छ ।
हाम्रा जनताले जे सहयोग माग्छन्, दिनुपर्छ । जुनसुकै जिल्लाका र जातिका भए पनि हामी नेपालका सन्तान हौँ । आफ्नो देशको जुनसुकै कुनामा भए पनि हामीलाई दुखेको छ । जनताको दुःख हाम्रो दुःख हो । जनताको जीवन हामीसँग जोडिएको छ । जनतालाई सामान्य जीवनमा फर्काउन र आधारभूत आवश्यकता पूरा गरिदिन जनस्वयंसेवकहरू समर्पित हुनुपर्छ । जनता दुःखबाट मुक्त भए भने हामी सबैमा खुसियाली आउनेछ । – रातो खबर साप्ताहिकबाट

प्रतिक्रियाहरु