विद्यालय बन्द हुँदाको शुल्क मिनाह गर्न तीन दिने अल्टिमेटम

२०७२ जेष्ठ २३ गते, शनिबार

काठमाडौ, २३ जेठ । अखिल क्रान्तिकारी, नेवि संघ, अनेरास्ववियुसहितका ११ विद्यार्थी संगठनले भूकम्पका कारण बन्द भएका विद्यालय समयको शुल्क फिर्ता लिन तीन दिनको अल्टिमेटम दिएका छन् । ११ विद्यार्थी संगठनको शनिवार राजधानीमा बसेको संयुक्त बैठकले गत वैशाख ६ गते विद्यार्थी संगठनहरु, सरकार, प्याप्सन र एनप्याब्सनबीच भएको १० बुँदे समझदारी तत्काल कार्यालयन गर्न अल्टिमेटम दिने निर्णय पनि गरेका छन् ।
भूकम्पपछि आफूखुशी प्राविधिकलाई परीक्षण गराएका विद्यालयले सरकारले तोकेको मान्यता प्राप्त प्राविधिकलाई परीक्षण गरेर मात्र कक्षा सञ्चालनको वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने विद्यार्थी संगठनहरुले निर्णय गरेको विप्लवनिकट अखिल क्रान्तिकारीका महासचिव खगेश्वर केसीले जानकारी दिए ।
भूकम्पका कारण अभिभावक गुमाएका घरवारविहीन विद्यार्थीहरुलाई आवास सुविधासहित निःशुल्क पठनपाठनको ब्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गरिएको शनिवार जारी संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।
अभिभावक विद्यार्थी संगठनहरुबीच भएका सहमतिहरु तीन दिनभित्र कार्यान्वयन नभए कडा आन्दोलन गर्ने निर्णय गरिएको नेवि संघ प्रवक्ता यूपी लामिछानेले बताए ।

प्रतिक्रियाहरु