प्यालेष्टायनी शिविरमा शरणार्थी र लडाकूबीच भिडन्त

२०७१ चैत्र १९ गते, बिहीबार

काठमाडौं, १९ चैत । सिरियाको राजधानीमा रहेको प्यालेष्टायनी शरणार्थी शिविरमा आइएस लडाकू प्रवेश गरी शिविरको ठूलो भाग नियन्त्रणमा लिएका छन् ।
यामरुक शरणार्थी शिविरमा लडाकू घूसेपछि उनीहरुसँग भिडन्त भएको खबर छ । शिविरभित्र १८ हजार प्यालेष्टायनी शरणार्थी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।सिरियाको राजधानीमै प्रवेश गरेर आईएस कुनै स्थल कब्जा गरेको यो पहिलो घटना हो ।
लडाकू प्रवेश गरेपछि ठूलो संख्यामा बालबालिका र शरणार्थीहरु मृत्युको जोखिममा रहेको राष्ट्रसंघले जनाएको छ । आइएस लडाकु सवरब नाका हुँदै शिविरमा प्रवेश गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । सन् १९४८ मा भएको अरब—इजरेल युद्धबाट विस्थापित भएकालाई सुरक्षित आश्रय लिन यामरुक शरणार्थी शिविर बनाइएको थियो ।
सिरियामा सन २०११ मा सेना र बिद्रोहीबीच युद्ध चर्किएपछि शिविरको ठूलो भाग बन्द गरिएको थियो ।त्यतिबेलासम्म शिविरमा झण्डै डेढ लाख शरणार्थी थिए । यो शरणार्थी शिविरभित्र प्लयोस्टाईनीहरुले आफ्नै विद्यालय, अस्पताल तथा सरकारी सम्पर्क कार्यालय चलाएका थिए । केहीले यो शिविरलाई प्यालेस्टाइनी शरणार्थीहरुको अघोषित राजधानी समेत भन्ने गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु