माओवादीलाई कमजोर देखेर गर्धनमा तरवार चलाउन आउनेले आफ्नो गर्धन पनि छामेर आए हुने : विप्लव

२०७१ चैत्र ८ गते, आईतवार

काठमाडौं । नेकपा माओवादीका महासचिब नेत्रविक्रम चन्द (विप्लव)ले अपर कर्णाली, माथिल्लो मस्र्याङ्दी, अरुण तेस्रो जलविद्युत आयोजनामा गरिएको राष्ट्रघाती सम्झौताको विरोध कार्यक्रममा गरिएको प्रहरी हस्तक्षेप र गिरफ्तारीले नयाँ द्वन्द्व पैदा गर्न खोजेको बताएका छन । विप्लवले जनताले शान्ति चाहेका बेला राज्य यदि जवरजस्त द्वन्द्व पैदा गर्छ खोज्छ भने त्यसको परिणाम नराम्रो हुने बताए । सरकारमा रहनेहरुले राजनीतिक चेत राख्न र जनताको राजनीतिक अधिकार के हो भन्ने कुरा बुझ्न विप्लवले आग्रह गरे ।
विप्लवले गतशुक्रबार गिरफ्तार गरिएका कार्यकर्ताहरुलाई तत्काल छाड्न आग्रह गरेका छन् । शान्तिपूर्ण विरोध प्रदर्शनबाट गिरफ्तार गरिएका दुई पोलिटब्यूरो सदस्यसहित १७ जना कार्यकर्ताहरुलाई नछाडिए कडा आन्दोलनमा जाने चेतावनी पनि महासचिव विप्लवले दिएका छन् । राजधानीको जोरपाटीमा आयोजना गरिएको जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहका क्रममा महासचिव विप्लवले सो कुरा बताएका हुन् ।
महासचिव विप्लवले अहिले राधेश पन्तको घरमा गरिएको विरोध देशैभरका घुसखोरहरुको घरमा हुने र त्यसको स्वरुप फरक हुने बताए । साथै उनले यही विन्दुबाट विद्रोहको आगो सल्किने बताए ।
महासचिव विप्लवले अहिले आफूहरुले गरिरहेको विरोध कुनै व्यक्ति वा पार्टीका विरुद्ध नभई राष्ट्रिय स्वाधीनता, समग्र प्रवृति र भ्रष्टाचारका विरुद्धको अभियान भएको बताए । राज्यले नै गर्नुपर्ने दायित्व भए पनि देशलाई बर्बाद पार्ने दलालीका विरुद्ध कदम चाल्दा राज्यले नै यस्ता हर्कत गर्छ भने त्यसले ठूलो संकट पैदा गर्ने उनको भनाई थियो । उनले यो कुरा नेपाली सेना, नेपाल प्रहरी, यो देशका बुद्धिजीवी सबैले बुझ्नुपर्ने बताए ।
निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका विप्लवले माओवादीलाई कमजोर देखेर गर्धनमा तरवार चलाउन आउनेले आफ्नो गर्धन पनि छामेर आए हुने बताए ।
यसैबीच माओवादीले आफ्ना नेता कार्यकर्ता रिहा नगरिए शनिवार साँझ देशभर मशाल जुलुश गर्ने जनाएको छ । त्यसैगरी आइतबारबाट देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम गर्ने जनाएको छ ।
यसैबीच ,नेकपा माओवादीले शनिबार साँझ राजधानीलगायत देशैभर जिल्ला सदरमुकामहरुमा मसाल जुलुस निकालेको छ । शुक्रबार पक्राउ गरिएका आफ्ना नेता–कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गर्दै राजधानीका विभिन्न स्थान तथा देशभरका जिल्ला सदरमुकाममा मशाल जुलुस निकालेको हो ।
विद्यार्थी र युवाको नेतृत्वमा पुरानो बसपार्क हुँदै पुतलीसडकसम्म, सम्पर्क समितिको नेतृत्वमा जोरपाटीदेखि चाबहिलसम्म र काठमाडौं पार्टी भूगोल जिल्ला समितिको नेतृत्वमा इन्द्रचोकदेखि सोह्रखुट्टेसम्मका जुलुसमा सयौं नेता–कार्यकर्ताको सहभागिता रह्यो ।
करोडौं कमिसन खाएर नेपालका ठूला जलविद्युत् आयोजनाहरु भारतलगायत विदेशी कम्पनीहरुलाई बेचेको विरोधमा शुक्रबार लगानी बोर्डका निर्देशक राधेश पन्तको घरमा उनलाई चेतावनी दिन पुगेका माओवादीका पोलिटब्युरो सदस्य इश्वरीप्रसाद दाहाल ‘असारे काका’ र पूर्वमन्त्री पदम राईलगायत १६ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरी हनुमानढोकामा राखेको छ ।
राजधानीमा मशाल जुलुस निकाल्ने क्रममा बागबजारबाट माओवादीका ७ कार्यकर्ता पक्राउ परेका छन् ।

प्रतिक्रियाहरु