आरक्षितसिटमा अन्यलाई बस्न नदिइने

२०७१ पुष २ गते, बुधबार

काठमाडौं । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा महिला र अपाङका लागि आरक्षित सिटहरु कार्यान्वयनका लागि फेरि सक्रियता बढाउने भएको छ ।प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मंगलबारबाटै अनुगमनलाई तिब्रता दिने प्रतिवद्धता जनाएका छन् । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा महिला सभासदहरुले समेत सार्वजनिक यातायातमा दुव्यर्वहार हुने गरेको गुनासो गरेका थिए ।
बैठकमा प्रहरी प्रमुख अर्यालले भने-‘म ट्राफिक प्रमुख रहँदा यो अभियान सुरु भएको थियो । अहिले किन सुस्त भएको हो बुझेर आजबाटै यससलाई सक्रिय रुपमा अघि बढाउँछौं ।’अर्यालले अब ठूला सवारी दुर्घटनाको छानविनमा ट्राफिक प्रहरी अधिकृत पनि संलग्न हुने बताए ।
निर्मम ढंगले जानुपर्छप्रहरी महानिरीक्षक अर्यालले नियम कानून कार्यान्वयनमा बढी नै व्यवहारिक भएको बताए ।‘ओभर लोड भएपनि जन्तीलाई छाडौं । राजनीतिक कार्यक्रमको बसलाई छाडौं भन्छौं’ उनले भने-‘म त भन्छु अब निर्मम ढंगले कानून कार्यान्वयन गर्न जरुरी छ ।’
अर्यालले ट्राफिक प्रहरीलाई स्रोत साधन नभएको भन्दै असन्तुष्टि समेत जनाए । मापसे कारबाहीका क्रममा ट्राफिकले ४४ करोड राजश्व संकलन गरेको भन्दै उनले भने-‘ट्राफिकलाई केही आएन । अनि फेरि एउटा पर्चा छाप्न जानु पर्‍यो भने पनि त्यही सिण्डिकेटलाई गुहार्न जानुपर्छ ।’
सुशासन समितिको मंगलबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सवारी नियम उल्लंघन गर्नेहरुलाई जेल हाल्नुपर्ने लगायतका प्रावधान राखेर कडा कानून बनाउनुपर्ने बताएका थिए ।

प्रतिक्रियाहरु