हङकङमा प्रदर्शनकारीद्धारा सडकबाट हट्न अस्वीकार

२०७१ आश्विन १३ गते, सोमबार


काठमाडौं। हङकङमा प्रजातन्त्र समर्थित प्रदर्शनकारीहरुले सहरका विभिन्न मार्ग बन्द गर्दै सडकबाट हट्न अस्वीकार गरेका छन् । प्रदर्शनका कारण व्यापारिक कारोबार, केही बैंक, स्कुल बन्द भएका छन् भने यातायात सेवा प्रभावित भएको बीबीसीले जनाएको छ ।अधिक स्वतन्त्रताको माग गर्नेमाथि प्रहरीले हिजो खुर्सानीको धुलो मिसिएको पानी र अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुले सडकमै रात बिताएका छन् । सरकारी आदेश अवज्ञा गर्दै सडक र सरकारी भवनहरुमा रहेका दर्जनौं प्रदर्शनकारी गिरफ्तार गरिएका छन् ।
करिब एक हप्तादेखि पूर्ण प्रजातन्त्रको माग गर्दै प्रदर्शन उत्रेकाहरुका कारण त्यहाँको व्यवस्था अस्तव्यस्त भएको छ । सन् २०१७ मा हुने निर्वाचनमा कुन उम्मेदवारले भाग लिने भन्ने विषय हङकङकै बासिन्दाले तय गर्न पाउनुपर्ने उनीहरुको माग छ । चीनले उम्मेदवार तोक्ने प्रथा अन्त्य गर्नुपर्ने माग उनीहरुको छ ।
अहिलेसम्म चीन सरकारले बनाउने एक कमिटीले नै कुन उम्मेदवारले भाग लिन पाउने भन्ने निर्णय गर्दछ । प्रदर्शनकारीले पूर्ण प्रजातान्त्रिक निर्वाचनको माग गरिरहे पनि चीन सरकारले मागको सुनुवाइ गरेको छैन । उल्टै, चीनका साथै हङकङका मुख्य कार्यकारी सी वाइ लेउगले प्रदर्शनलाई गैरकानुनी भन्दै चुनाव निर्धारित कानुन अनुरुपै हुने जनाएका छन् ।
यसअघि सीले प्रदर्शनकारीलाई वार्ताका बस्न आह्वान गरेका थिए । चीनले सन् २०१७ बाट हङकङको नेता, प्रमुख कार्यकारी प्रत्यक्ष चुनावबाट छान्ने प्रतिबद्धता व्यक्त गरेको छ ।तर, गत अगष्टमा मात्रै मनोनित कमिटीले तयार पारेको दुई वा तीनजनाको नामबाट मतदाताले एकजना मात्रै छान्न पाउने नियम लागू गरिएको थियो ।हङकङमा कसरी नेतृत्व छान्ने भन्ने विषयमा केही महिनायता प्रजातन्त्र समर्थक र बेइजिङ समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु