कारवाही तत्काल फिर्ता नभए बैठक बहिस्कार गर्छौ : भट्टराई पक्ष

२०७१ श्रावण २२ गते, बिहीबार


काठमाडौं । एमाओवादीका डा. बाबुराम पक्षका नेताहरुको भट्टराई निवास सानेपामा बसेको बैठकले दुई केन्द्रीय सदस्यमाथि गरिएको कारवाही तत्काल फिर्ता नभए आगामी भदौ १० मा हुने केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य रामरिझन यादव र गंगानारायण श्रेष्ठलाई निलम्बन गरेपछि यसबारे छलफल गर्न भट्टराई पक्षका नेताहरु सानेपामा भेला भएका हुन् ।
‘हामीले अस्वीकार गरेको अवैधानिक स्थायी कमिटीले गरेको कारवाही अस्वीकार गर्ने निर्णय भएको छ,’ नेता गंगानारायण श्रेष्ठले अनलाइनखबरसँग भने-’कारवाही फिर्ता नलिए केन्द्रीय समितिको बैठकमा हाम्रो समूहका नेताहरु सहभागी नहुने निर्णय भएको छ ।’
यसैवीच अर्का एक नेताले दिएको जानकारी अनुसार प्रचण्डले गरेको कारवाहीले संविधान निर्माण प्रक्रियालाई समेत असर पार्ने निश्कर्ष निकालिएको छ । ‘संविधान बनाउन सबैको साथ लिनुपर्नेमा आफ्नै साथीलाई कारवाही गरेर प्रचण्डले के चाहनुहुन्छ ?’ स्रोतले भन्यो, ‘संविधान निर्माणमा अध्यक्ष प्रचण्डको भूमिमामाथि प्रश्न उठेको छ ।’
सानेपामा आयोजित भेलामा बाबुराम भट्टराई, हिसिला यमी, नवराज सुवेदी गंगानारयण श्रेष्ठ, प्रभु साह लगायतका नेताहरुको उपस्थिति थियो । रामरिझन यादव राजधानी बाहिर रहेकाले अनुपस्थित थिए भने टोपबहादुर रायमाझी चीन भ्रमणमा गएका कारण सानेपामा अनुपस्थित थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु