कक्षा १२ को परीक्षा सुरु

२०७१ बैशाख १९ गते, शुक्रबार

काठमाडौ, १९ वैशाख । उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।यही वैशाख ३० गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा आज बिहान ७ बजेबाट देशभर शान्तिपूर्णरुपमा सुरु भइरहेको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए । परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ ।
कक्षा १२ को परीक्षामा देशभरबाट कुल तीन लाख ८१ हजार ३२२ जना सहभागी भएको उनले जानकारी दिए । देशभर रहेको तीन हजार ५९६ उच्च माध्यमिक विद्यालयहरुबाट परीक्षार्थी सहभागी भएका छन् । परिषद्ले परीक्षाका लागि देशभर ९४६ परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरेको जनाएको छ ।
परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक र कर्मचारी गरी कुल २८ हजार ९७८ जना जनशक्ति परिचालन गरिएको जानकारी अर्यालले दिए ।
गत वर्षको परीक्षा सञ्चालनमा अनियमितता गरी कालोसूचीमा परेको परीक्षा केन्द्र र कर्मचारीलाई यसवर्ष परीक्षामा सहभागी नगराएको र परीक्षाका लागि करिब रु ५५ करोड छुट्याएको उनले बताए ।

प्रतिक्रियाहरु