बिस्केट जात्राको तयारी पूरा

२०७० चैत्र २६ गते, बुधबार

काठमाडौ, २६चैत ।भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केट जात्राको सबै तयारी पूरा भएको छ । चैत २७ देखि बैशाख ५ गतेसम्म मनाइने जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै काम सकिएको जात्रा सञ्चालक गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए । जात्रा सञ्चालनका लागि जात्रा व्यबस्थापन समिति गठन र बिभिन्न निकायलाई आवश्यक सामाग्री दिइसकेको भन्दै उनले जात्रा दिउँसै सञ्चालन गर्ने गरी तयारी भएको बताए । हरेकवर्ष राती जात्रा हुँदा मानिसको मृत्यु हुने र कयौ घाइते हुने समस्या भएपछि यसवर्ष दिउँसै जात्रा सञ्चालन गर्न स्थानीय वासिन्दाले माग गरेका थिए । जात्राका क्रममा रथ तान्दा गतवर्ष ३ जनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए ।
जात्रामा उछृङ्खल गतिविधि र हिंसात्मक घटना हुन नदिन सुरक्षा व्यबस्था कडा पारिएको निमित्त प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिए । विगतका वर्षहरुमा ढुङ्गा हान्नेहरुलाई नियन्त्रणमा लिन र निगरानी राख्न सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । रथ तान्ने दिन २७ गते र ५ गते भने करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । हिंसात्मक घटना हुन नदिन र शंकास्पद व्यक्तिको निगरानी गर्न सडकको चोकचोकमा सिसी क्यामरा जडान गरिएको निरौलाले जानकारी दिए । उनका अनुसार सिसी क्यामरामा कैद भएका दृश्य अनुसार उछृङ्खल गतिविधि गर्नेलाई सार्वजनिक मुद्धा चलाइनेछ । जात्रा अबधीभर स्थानीय भट्टी पसलहरु बन्द गराइने भएको छ । त्यसैगरी विद्युत प्राधिकरणले सकेसम्म कम लोडसेडिङ गर्ने भएको छ भने नगरपालिका र दमकलले सरसफाई गर्ने भएको छ ।
हरेकवर्ष जात्रालुको ज्यान जाने र ढुङ्गा हानाहान हुँदा धेरै घाइते हुने भएकाले जात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय तौमढी क्लब लगायतका बिभिन्न क्लबहरुले स्वयंसेवक परिचालन गर्ने भएका छन् । यता थिमीमा चैत मसान्तदेखि बैशाख २ गतेसम्म हुने ३२ खटको जात्रा, सिन्दूर जात्रा र जिब्रो छेड्ने जात्राको तयारी पुरा भएको छ । जात्रा सञ्चालनमा थिमी प्रहरीले सुरक्षा व्यबस्था मिलाउने, गुठी संस्थानले विगतमा जस्तै सहयोग निरन्तर दिने, सडक मर्मत गर्ने, लोडसेडिङ नगर्ने, पानीको व्यबस्थित रुपमा वितरण गर्ने तयारी भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार