पाकिस्तानमा भोकमरी,एक महिनामा ३० बालबालिकाको मृत्यु

२०७० फाल्गुन २६ गते, सोमबार


काठमाडौं, २६ फागुन – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा पर्ने थार मरुभूमि क्षेत्रमा भोकमरीका कारण पछिल्लो एक महिनामा झण्डै ३० जना बालबालिकाको ज्यान गएको छ ।खडेरीग्रस्त क्षेत्रमा कुपोषणका कारण बालबालिकाको ज्यान गएको चिकित्सकलाई उधृत गर्दै सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद कायम अलीले बताउनुभयो । थार पार्कर जिल्लाको मिठी क्षेत्रमा कुपोषणका कारण गएको डिसेम्बर यता १ सय २९ जनाको ज्यान गएका खबर सार्वजनिक भएपनि स्वास्थ्य अधिकारीहरुले भने ६८ जनाको ज्यान गएको दावी गरेका छन् ।
सुख्खा प्रभावित क्षेत्रमा बालबालिकाहरुको ज्यान गएको र त्यहाँका बासिन्दा खाना र पानीको खोजीमा अन्यत्रै सर्न थालेपछि सरकारले राहत र उद्धारको कामलाई तिव्रता दिएको छ । सिन्ध सरकारले थार पार्करका झण्डै २३ सय गाउँमा राहत वितरण शुरु गरेको छ भने मृतक बालबालिकाका परिवारलाई प्रति परिवार २ लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ ।
खडेरी प्रभावित परिवारलाई गहुँको वितरण दोब्बरले बढाएर प्रति परिवार ५० किलो पुर्‍याइएको छ । यस्तै २० वटा मोबाइल औषधि पसल सञ्चालन गरिएको छ । पाकिस्तानी सेनाले प्रभावित परिवारलाई ४५ टन खाद्यान्न वितरण गरिएको तथा मिठी, इस्लामकोट र चाचरो गाउँमा फिल्ड अस्पताल खडा गरेको जनाएको छ ।
केन्द्र सरकारले राहत र उद्धार प्रक्रियामा सघाउन प्रान्तीय सरकारलाई मालवाहक हेलिकप्टर उपलब्ध गराएको छ । यसैबीच प्रधानमन्त्री नवाज शरिफले सोमबार थारपार्कर क्षेत्रका खडेरी प्रभावित परिवारलाई भेटगर्ने कार्यक्रम रहेको पाकिस्तानी समाचार संस्था जिओ टिभीले जनाएको छ ।

प्रतिक्रियाहरु