लुम्बिनीमा शान्ति सम्मेलन हुदै

२०७० फाल्गुन २३ गते, शुक्रबार


काठमाडौँ ,२३ फागुन । एसिया जर्नालिस्ट एसोसिएसन -आजा) नेपालले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि लुम्बिनी अन्तर्राष्ट्रिय सञ्चार तथा शान्ति सम्मेलन आयोजना गर्दैछ ।लुम्बिनीको प्रचार-प्रसार, गरिमा वृद्धि तथा राष्ट्रकै प्रतिष्ठा अभिवृद्धि गर्नेे उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । यही फागुन २५ गतेसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका विभिन्न मुलुक तथा नेपालका वरिष्ठ पत्रकारको सहभागिता रहने छ ।
सम्मेलनमा एसिया तथा विश्वमा प्रेसको स्थिति र लुम्बिनीको प्रचार तथा प्रवर्द्धन सम्बन्धमा विशेष छलफल हुनेछ । सम्मेलनमा एसियाका पत्रकारहरुका लागि विभिन्न प्रस्ताव पारित गरिनुका साथै लुम्बिनी घोषणापत्रसमेत जारी हुनेछ । सम्मेलनको आज दिउँसो १ बजे सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
भगवान् गौतमबुद्धको जन्मस्थलका रुपमा विश्वमा परिचित लुम्बिनीको महत्व र गरिमा सम्बन्धमा विश्वव्यापी रुपमा प्रचार गर्ने, लुम्बिनीको धार्मिक, सांस्कृतिक महत्व उजागर गर्दै लुम्बिनीलाई विश्वको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित गर्ने राष्ट्रिय अभियानलाई सहयोग पुर्‍याउन तथा गैरधार्मिक र गैरसांस्कृतिक पर्यटनका लागिसमेत लुम्बिनी अत्यन्त उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले उच्चस्तरीय सम्मेलनको आयोजना गरिएको एसिया जर्नालिस्ट एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष विष्णु निष्ठुरीले जानकारी दिए ।
यस्तै लुम्बिनीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुखताका साथ प्रस्तुत गर्ने, विश्वका प्रतिष्ठित सङ्घसंस्थाहरुका लागि उच्चस्तरीय सम्मेलन गर्न नेपाल उपयुक्त थलो हो भनी स्थापित गर्ने, बुद्ध जन्मथलो लुम्बिनीसहित बुद्धसँग सम्बद्ध अन्य ऐतिहासिक र धार्मिक महत्वका स्थलहरु नेपालमा छन् भन्ने सन्देश प्रवाह गर्ने तथा शान्तिको सन्देश प्रवाहित गर्नेसम्मेलनको उद्देश्य रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु