सहकारीमा ७ अर्ब हिनामिना

२०७० पुष २७ गते, शनिबार


काठमाडौं,२७ पुस । समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाहरूले सर्वसाधारण जनताले निक्षेप गरेको करिब ७ अर्बभन्दा बढी रकम हिनामिना गरेको खुलासा भएको छ । सर्वसाधारण जनतालाई आकर्षक ब्याजदरको प्रलोभन देखाएर निक्षेप संकलन गरेका ६३ ओटा बचत तथा ऋण सहकारी संस्थाहरूले सर्वसाधारणको अर्बौं रकम हिनामिना गरेको पाइएपछि सहकारी जाँचबुझ आयोगले तिनीहरूलाई समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा गरेको छ । ठूलो संख्यामा खुलेका सहकारी संस्थाहरूले सहकारीको भावना र मर्मविपरीत निक्षेप संकलन तथा कर्जा प्रवाह गरी अर्बौ रकम हिनामिना गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएको छ ।सोही कारण ती सहकारीलाई समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको कार्कीले स्पष्ट पारे । कार्कीले हाल काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालनमा रहेका ६३ ओटा सहकारी संस्थाको पहिचान भएको जानकारी दिँदै छिट्टै मुलुकभरका सहकारीको वस्तुगत तथ्य सार्वजनिक गर्ने जानकारी दिए । विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरूले सर्वसाधारणको निक्षेप रकम हिनामिना गरेको भन्दै १३ हजारभन्दा बढी निक्षेपकर्ताले रकम फिर्ता पाउनु उजुरी दिएका आधारमा जाँचबुझ आयोगले छानबिन गरेको हो ।
आयोगका अनुसार सबैभन्दा बढी उजुरी सहरी क्षेत्रमा खुलेका सहकारी संस्थाहरू परेका छन् । अधिकांश सहकारी संस्थाहरूले सर्वसाधारणसँग उठाएको रकमको हिसाबकिताबको रेकर्ड नराखेको र सहकारीका सञ्चालकहरूले आफ्नो नातागोता तथा नजिकका मान्छेहरूलाई लगानी गरेको तथ्य फेला परेको आयोगका अध्यक्ष कार्कीले राजधानीलाई बताए । आयोगका अनुसार ओरियन्टल र गुण सहकारी संस्थाको मात्र ८ हजारभन्दा बढी उजुरी परेका छन् । समस्याग्रस्त ६३ ओटा सहकारीमध्ये व्यवसायी सुधीर बस्नेत सञ्चालक रहेको ओरियन्ट सहकारी संस्थाले २२ ओटाभन्दा बढी हाउजिङ तथा अपार्टमेन्टमा लगानी गरेको आयोगले फेला पारेको छ ।
यसैगरी, राजेन्द्र शाक्य सञ्चालक रहेको गुण सहकारीले गुण सिनेमा हल, गुण हाउजिङ तथा गुण एयरलाइन्समा लगानी गरेको पाइएको छ । ती सबै संस्थाका सञ्चालक शाक्य आफैं हुन् । आफ्नो व्यवसाय डुब्दै गएपछि शाक्यले किस्ट बैंकको प्रोमोटर सेयर बिक्री गरेका थिए । ‘सहकारीको उद्देश्य र मर्मविपरीत लगानी गरेका कारण अधिकांश सहकारी संस्था समस्यामा परेका हुन्,’ आयोग अध्यक्ष कार्कीले राजधानीसँग भने । जाँचबुझ आयोगले निक्षेपकर्ताको उजुरीका आधारमा समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूसँग बयान लिन सुरु गरेको छ ।
आयोगले समस्याग्रस्त घोषणा गरेका सहकारीहरूमध्ये ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत, गुण सहकारीका अध्यक्ष राजेन्द्र शाक्य, प्यासिफिक सहकारीका अध्यक्ष धीरेन्द्रप्रसाद प्रधान, कोरोना सहकारी संस्थाका कोेषाध्यक्ष राजेन्द्रलाल मानन्धर, सचिव बिन्जु श्रेष्ठ, शुभश्री सहकारीका पूर्वअध्यक्ष नगेन्द्र शर्मा, नवराजधानी सहकारी संस्थाका सगुन पाण्डे, सहायता सहकारीका कमलशमशेर राणा र लेखराज राईसँग बयान लिने काम भइरहेको जनाएको छ । बयानका क्रममा आयोगले उनीहरूसँग सर्वसाधारण जनताको बचत फिर्ता गराउने योजना मागेको कार्कीले बताए ।
समस्याग्रस्त सहकारीहरूले घरजग्गा तथा हाउजिङमा अत्यधिक लगानी गरेको र उनीहरूले जनताबाट संकलन गरेको निक्षेप रकम व्यक्तिगत स्वार्थमा लगानी गरेको पाइएका कारण पनि उनीहरूमाथि कारबाही गरिने आयोगले जनाएको छ । उजुरीमा परेका सहकारी संस्थाका सञ्चालकहरूलाई बयानका लागि बोलाउँदा पनि अटेर गर्ने र सम्पर्कमा आउन नचाहने सहकारीका सञ्चालकहरूलाई प्रहरीको प्रयोग गरेर बयानमा उपस्थित गराउने तयारी भइरहेको आयोग अध्यक्ष कार्कीको भनाइ छ । जनताको रकम उठाएर जथाभावी दुरूपयोग गर्ने अन्य सहकारी संस्थाहरूमाथि निगरानी भइरहेको आयोगले जनाएको छ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु