सुविसु क्यान इन्फोटेक मेलामा सर्वसाधारणको भिड

२०७० पुष २२ गते, सोमबार


काठमाडौं, २२ पुस।सुविसु क्यान इन्फोटेक मेलामा पाचौ दिन पनि सूचना प्रविधिका पारखिहरुको भिड लागिरहेको छ । हिजो मात्र ३० हजार ५ सय जना सर्वसाधारण अवलोकनर्ता मेलामा पुगेको आयोजक कम्प्यूटर एसोसियसन अफ नेपाल (क्यान) ले जानकारी दिएको छ । उद्घघाटनको दिनदेखि चौथो दिनसम्म २ लाख ३१हजार २२ जनाले मेला अवलोकन गरेका छन ।मेलामा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले छुट र अफर ल्याएका छन् । तिनीहरूले घरायसी प्रयोजनका लागि सस्तोमा इन्टरनेट कनेक्सन उपलब्ध गराएको दाबी गरेका छन् । मेलामा टाइटल स्पोन्सर सुविसु, नेपाल टेलिकम, वेबसर्फर र भायोनेटले इन्टरनेट प्याकेज बेचिरहेका छन् ।
सुबिसु केवलनेटले रिटेल ग्राहकलई लक्षित गर्दै केबल इन्टरनेटका नयाँ योजना इन्फोटेकमा सार्वजनिक गरेको छ । हालसम्म ठूला व्यापारिक प्रतिष्ठानमा मात्र सीमित फाइबर इन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पुर्‍याउने गरी योजना ल्याएको सुबिसुका प्रमुख सुधीर पराजुलीले बताए । त्यस्तै पछिल्लो प्रविधिमा आधारित फाइबर इन्टरनेट सेवासमेत मेलामा राखेको छ ।
सुबिसुले केबल मोडेमसहित तीन महिनाको इन्टरनेट र टीभीसमेत हेर्न मिल्ने केबल कनेक्सन मेलामा ४ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराएको छ । अरू बेला यसको शुल्क ७ हजार ९ सय ७ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । कम्पनीले ‘डबल योर इन्टरनेट’ अफरसमेत ल्याएको छ । कम्पनीले एक वर्षको शुल्क एकै पटक तिर्दा जति गतिको इन्टरनेट लियो त्यतिकै गति थपिदिने जनाएको छ ।
नेपाल टेलिकमले इभिडियो थ्रिजी ब्रोडब्यान्ड इन्टरनेट २ हजार २ सय रुपैयाँमा मेलामा उपलब्ध गराइरहेको छ । स्काई प्रो नामको वायरलेसमा रिम र डंगोल कम्पनीले उपलब्ध गराउँछ । यसमा ३ महिनासम्म चलाउन मिल्ने ३ जीबी डाटा, १ सय रुपैयाँ टकटाइम भएको रिम, २ जीबी मेमोरी भएको ईभीडीओ डंगोल उपलब्ध हुनेछ । स्काई प्रोबाट इन्टरनेट चलाउनुका साथै कल र एसएमएस पनि गर्न सकिन्छ । कम्पनीले नेपालमा यो निकै सस्तो वायरलेस इन्टरनेट भएको कम्पनीको दाबी छ ।
टेलिकमले वाइम्याक्स इन्टरनेटमा वाइम्याक्स इन्टरनेटको तीन महिनाको शुल्क एकैपटक तिर्दा ५० प्रतिशत छुट योजना ल्याएको छ । कम्पनीले १ हजार ५ सयमा अनलिमिटेड इन्टरनेट उपलब्ध गराउने जनाएको छ । यस प्याकेजको मूल्य ९ हजार ५ सय ५४ रुपैयाँ पर्नेछ । यसअघि यसको मूल्य १९ हजार १ सय ८ रुपैयाँ थियो । कम्पनीले इन्डोर सीपीई डिभाइसको खरिदमा २ हजार रुपैयाँको रिचार्ज कार्ड उपहारका रूपमा दिइने जनाएको छ । यसैगरी डाटा स्पिड २ सय ५६ केबीपीएस भएको अनलिमिटेड प्याकेज १ हजार ५ सय रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराउनेछ । कम्पनीले वाइम्याक्स डिभाइसमा समेत सीमित अवधिका लागि छुट दिएको छ ।
मेलामा वेवसर्फरले ४ सय ९५ रुपैयाँ प्रतिमहिनाको इन्टरनेट योजना मेलामा ल्याएको छ । ‘घरघरमा इन्टरनेट’ नाममा ल्याइएको योजनामा ल्यापटप ब्याग, ८ जीबीको पेनड्राइभ उपहारका साथ १ वर्षको अगि्रम भुक्तानी गर्दा जडान खर्च निःशुल्क र इन्टरनेट शुल्कमा १० प्रतिशत छुट योजना ल्याइएको कम्पनीका वायरलेस डीएसएल सेल्स मेनेजेर सन्दीप शर्माले बताए । अरू बेला कम्पनीले जडान खर्च ३ हजार रुपैयाँ लिँदै आएको छ । कम्पनीले १ एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ ।
वेवसर्फरले कर्पोरेट ग्राहकलाई डेडिकेटेड वायरलेस र फाइबर इन्टरनेट जडान खर्चमा ५० प्रतिशत छुट योजना ल्याएको कम्पनीका बिजनेस डेभलपमेन्ट मेनेजर सुदीपकुमार ओलीले जानकारी दिए । कम्पनीले प्रतिएमबी इन्टरनेटमा ३ हजार ५ सय रुपैयाँ छुट दिएको छ । मेलामा इन्टरनेट लिनेले प्रतिएमबी १० हजार रुपैयाँ मात्र तिरे पुग्छ ।
मेलामा इन्टरनेट सेवा प्रदायकहरूले ल्याएको छुटले गर्दा इन्टरनेट जोड्न चाहने ग्राहकहरूको ती कम्पनीका स्टलमा निकै भीड लागेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु