बैंकिङ कसुरमा संलग्नको सम्पत्ति रोक्का

२०७० पुष २ गते, मंगलवार

काठमाडौ, २पुस – नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा संलग्न छ जनाको चलअचल सम्पत्ति र सेयरहरूसमेत रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुका साथै सम्बद्ध सरकारी निकायसँग आग्रह गरेको छ ।केन्द्रीय बैंकले किष्ट बैंक लिमिटेड र जम्को प्रकाशन प्रालिका बहलावाला एवम् तत्कालीन पदाधिकारी गरी छ जनाको चलअचल सम्पत्ति रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुका साथै मालपोतलगायत सरकारी कार्यालयलाई पनि भोगचलनमा प्रतिबन्ध लगाउन अनुरोध गरेको हो ।
राष्ट्र बैंकले गुल्मी जिल्लाको थानपति गाविस–५ का स्थायी निवासी तथा हाल ललितपुर उपमहानगरपालिका–१३ मानभवन बस्दै आएका किष्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवाली, पाल्पाको पिपलडाँडा गाविस–१ बस्ने किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बालनरसिंह घर्ती र विराटनगर उपमहानगरपालिका–८ का स्थायी निवासी सोही बैंकका नायब महाप्रबन्धक मञ्जयराज पाण्डेको चलअचल सम्पत्ति र सेयरहरू रोक्का गरेको हो ।
त्यसैगरी, राष्ट्र बैंकले ललितपुर उपमहानगरपालिका–१८ स्थायी वतन भएका किष्ट बैंककै अर्का नायब महाप्रबन्धक प्रगुण श्रेष्ठ, भक्तपुर दुवाकोट गाविस–३ मा स्थायी बासिन्दा एवम् हाल ललितपुर उपमहानगरपालिका–१३ बस्दै आएका जम्को प्रकाशन प्रालि अनामनगर, काठमाडौँका किशोर ढकाल र पत्नी देवकी बस्ताकोटीको नाममा रहेको सबै चलअचल सम्पत्ति एवम् सेयरसमेत रोक्का गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंकको निर्देशनबमोजिम महनगरीय प्रहरी परिसर अपराध अनुसन्धान महाशाखाले सम्बन्धित निकायमा सोही ब्यहोराको पत्राचार गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु