एमाओवादीका दर्जनौ कार्यकर्ता माओवादीमा प्रवेश

२०७० पुष १ गते, सोमबार

काठमाडौं,१ पुष । कास्की जिल्लाका करीब दुई दर्जन एमाओवादी कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपा-माओवादीमा प्रवेश गरेका छन् । यसरी नेकपा-माओवादी पार्टीमा समाहित हुने एमाओवादी कार्यकर्ताहरुमा एकीकृत नेकपा माओवादी कास्कीका सदस्य यमप्रसाद नेपाल समेत रहेका छन् । उनको साथमा प्रकाश दुलाल, जीवन पौडेल, कुमार गिरी, सोमनाथ अधिकारी, शिवप्रसाद लामिछाने र कृष्णबहादुर कोइराला समेत करीब दुई दर्जन एमाओवादी कार्यकर्ताहरु मोहन वैद नेतृत्वको नेकपा-माओवादीमा समाहित भएका हुन् ।
नेकपा-माओवादी कास्कीले आइतबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई भव्य स्वागत गर्‍यो । सो कार्यक्रममा उनीहरुले आफूले एमाओवादी पार्टी छाड्नुका बारेमा समेत स्पष्ट कारण बताएका थिए । कार्यक्रममा उनीहरुले जारी गरेको विज्ञप्तिमा “जनताको ठूलो वलिदानीपश्चात् बनेको संविधानसभामा सबैभन्दा ठूलो पार्टी बनेर पनि जनताको हक र अधिकार स्थापित गर्न खासै भूमिका नखेलेको” भन्दै अब “एमाओवादीबाट अब जनताको अधिकार खोज्नु वा दिलाउने आश राख्नु मुसामा सिंग छ कि भनी छाम्नु जस्तै हो ।” भनिएको छ । उनीहरुले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले देशका ज्वलन्त समस्या तथा राष्ट्र निर्माणमा आवाज बुलन्द गरिरहेकाले सो पार्टीमा प्रवेश गरेको स्पष्ट पारेका छन् ।
उनीहरुलाई नेकपा-माओवादी कास्कीका सेक्रेटरी कृष्ण वाग्ले -रुपेश), पार्टी पोखरा उपमहानगर कमिटी ईञ्चार्ज उवार पुन, लगायतले अबिर लगाएर स्वागत गरेका थिए । त्यस्तै राष्ट्रिय व्यापार महासंघ कास्कीका अध्यक्ष शिव खनाल, क्रान्तिकारी सुकुम्बासी महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप सुनार, राष्ट्रिय व्यापार महासंघ कास्कीका सचिव टंक खतिवडा र उद्योग व्यापार विशेष इलाका जनस्वयंसेवक संयोजक विशाल पौडेल लगायतले पनि नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै सर्वहारा तथा उत्पीडितवर्गको पक्षमा हुने हरेक खालको संघर्षमा सहभागी हुनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु