प्रेस काउन्सिलबिरुद्ध अख्तियारमा मुद्धा

२०७० आश्विन ३ गते, बिहीबार

काठमाडौ , ३ असोज: नेपालगंजबाट प्रकाशित हुने निष्पक्ष ध्वनी दैनिकका प्रकाशक तथा सम्पादक उदयसिंह श्रेष्ठले प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण गर्दा मनोमानी गरेको र भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गराएका छन् । राज्यको कराडौ ढुकुटीमा मनोमानी गरिएको, आफ्ना नजिकका व्यक्ति, आसेपासे लगायतका पत्रिकालाई वर्गीकरणमा पारी करोडौं रकम हिनामिना गरेको भन्दै बाँके जिल्लाको नेपालगंजबाट प्रकाशित हुने निष्पक्ष ध्वनी दैनिकका प्रकाशक तथा सम्पादक उदयसिंह श्रेष्ठले अख्तियारमा मुद्धा दर्ता गराएका हुन् । उनले प्रेस काउन्सिलले वर्गीकराणको मापदण्ड विपरित वर्गीकरण गरिरहेको र आँफुले पटक पटक दिएका निवेदनलाई पनि वेवास्ता गर्दै आएको निवेदनमा उल्लेख गरेका छन् ।

निष्पक्ष ध्वनी दैनिकका प्रकाशक तथा सम्पादक उदयसिंह श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएको निवेदन जस्ताको त्यस्तै :

मिति : २०७० भदौं ३१ गते
माननीय प्रमुख आयुक्त ज्यू
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं ।

विषय : छानबिन गरी कारवाही गरि पाउँ ।

उपरोक्त सम्बन्धमा प्रेस काउन्सिल नेपालको वितरण संपरीक्षण समितिद्वारा २०६७÷०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा २०६७/०६८ सार्वजनिक गरेको विषयमा प्रेस काउन्सिल नेपालले मापदण्ड अनुसार पत्रिकाको वर्गीकरणमा ठुलो भ्रष्टाचार गरेकोले छानबिन गरी कारवाहीको लागि श्रीमान समक्ष निवेदन पेश गरेको छु ।

प्रेस काउन्सिल नेपालले २०६७/६८ को वर्गीकरण गर्ने क्रममा ठुलो मात्रामा पैसा र चाकडीको चलखेल गराई मनोमानी तरिकाले नेपाल सरकारको करोडौंको रकम भ्रष्टाचार गरेको मेरो ठहर छ ।
प्रेस काउन्सिलले निर्माण गरेको पत्रपत्रिकाका वितरण संपरीक्षणको मापदण्ड अनुसार वर्गीकरण नगरी पैसाको लेनदेन गर्न लगाई ठुलो मात्रामा मनपरी तरिकाले नेपालसरकारको रकम दुरुपयोग गर्दै वर्गीकरण गरेको आव २०६७/६८ को वर्गीकरणको नतिजाबाट भ्रष्टाचार भएको पुष्टि हुन्छ ।

वर्गीकरणको विषयमा चित्त नबुझेकालाई पुनः वर्गीकरणको लागि २०७० असार २६ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार मापदण्ड अनुसार वर्गीकरण नभएको र नेपाल सरकारको रकम जथाभावी खर्च नगर्ने खालको रु. ५०० को रसिद कटाई मैले २०७० साउन १ गते निवेदन समेत दिएको छु ।

मेरो निष्पक्ष ध्वनि दैनिक विगतका वर्षहरुमा ‘ग’ वर्गमा पर्दै आएको र गत वर्षदेखि मापदण्ड अनुसारको आवाज उठाउँदा र पैसाको चलखेलमा आप्mनो मंजुरी नभएकोले मेरो पत्रिकालाई ‘घ’ वर्गमा राखिएको अवगत गराउँदै नेपाल सरकारको रकम हिनामिना नगर्न २०७० साउन १ गते प्रेस काउन्सिल नेपाललाई मैले दिएको निवेदन एक महिना बितिसक्दा अहिलेसम्म कुनै किसिमको छानबिन समेत नगर्नुको साथै प्रेस काउन्सिलले गरेको मनमरीतन्त्र र रकम हिनामिनाको आवाज उठाएको कारण मेरो पत्रिकालाई वर्गीकरणबाट हटाउन सक्ने खालको अघोषित धम्की विभिन्न माध्यमबाट पाइरहेको अवगत गराउन समितिद्वारा बाँके, बर्दिया, सुर्खेत, दांग लगायतका जिल्लाबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाको हकमा मापदण्ड अनुसार ४६८ वर्गइन्च हुनु पर्नेमा नभएता पनि ‘ख’ र ‘ग’ वर्गमा राखिनुको साथै दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक लगायतलाई मापदण्डको पेज नं. १, २ र ३ मा उल्लेख भएअनुसार विपरित वर्गीकरणमा राखिएको छ ।

समग्रमा भन्नु पर्दा राजधानीबाट प्रकाशित करिब दुई दर्जनको हाराहारीमा मात्र मापदण्ड अनुसार वर्गीकरणमा राखिनु पर्नेमा प्रेस काउन्सिलले मापदण्ड मिच्दै रकमको हिनामिना गर्दै २०६७/०६८ मा ७१० पत्रपत्रिकालाई वर्गीकरणमा राखेको छ ।
यो भ्रष्टाचार भएको प्रमाणित हुन्छ भन्ने मेरो ठहर छ । यसैगरी मापदण्ड नपुगेका सम्पूर्ण साप्ताहिक तथा अर्ध साप्ताहिक पत्रिकाहरुलाई मापदण्ड विपरित लेनदेनको हिसाबले वर्गीकरण गरिएको बुझाई रहेको छ ।

यसैगरी बाँके जिल्ला लगायत प्राय सबै जिल्लामा मापदण्ड विरुद्ध मनोमानी तरिकाबाट भ्रष्टाचार गर्ने नियतले वर्गीकरण गरिएको मेरो ठहर हुनुको साथै प्रेस काउन्सिल नेपालले नेपाल सरकारको वार्षिक करौडौं रकम हिनामिना गरेको मेरो दाबी समेत रहेको छ ।
दैनिक पत्रिकाको हकमा प्रेस काउन्सिलले ‘क’ वर्गमा ४९, ‘ख’ वर्गमा ४०, ‘ग’ वर्गमा ४४ र ‘घ’ वर्गमा वर्गीकरण गरेको छ ।

सोही अनुसार ‘क’ वर्गको लागि मासिक रु. २४,०००/–, ‘ख’ वर्गको लागि रु. १९२५०/–, ‘ग’ वर्गको लागि १५७५०/– र ‘घ’ वर्गको लाथि १०५००/– दिँदै आएकोमा वार्षिक रु. ३ करोड, २८ लाख ४४ हजार सुविधा दिंदै आएको छ ।
सोही अनुसार साप्ताहिक पत्रिकालाई विभिन्न वर्गमा राखि ४२१ पत्रपत्रिका, २ थान अर्धसाप्ताहिक, १५ थान पाक्षिक, ८१ थान मासिक पत्रिकाहरुलाई वर्गीकरण गरेको छ ।

जसबाट मापदण्ड अनुसार प्रेस काउन्सि नेपालले कार्य नगरेकोले नेपाल सरकारको करोडौंको रकम हिनामिना तथा भ्रष्टाचार गरेको पुष्टि भएको छ ।
यसैगरी मापदण्ड अनुसार अधिराज्य भरीका पत्रपत्रिकालाई अहिले राष्ट्रिय, क्षेत्रीय र स्थानिय स्तरकोमा विभाजन गरिएको छ ।

राष्ट्रिय स्तरको ‘क’ वर्गको लागि मापदण्ड अनुसार ६० प्रतिशत जिल्लामा पुग्नु पर्ने र सोही अनुसारका स्तरको पत्रिकालाई मापदण्ड अनुसार जिल्लाहरुमा पुग्नु पर्ने भएको भएपनि भ्रष्टाचार गर्ने नियतले आफु खुशी स्तर छुट्टाई वर्गीकरण गरी नेपाल सरकारको करोडौं रकम प्रेस काउन्सिल नेपालका पदाधिकारीहरुले भ्रष्टाचार गरेको पुष्टि हुन्छ ।

प्रेस काउन्सिल नेपालले जारी गरेको मापदण्ड अनुसार दैनिक पत्रिकाको हकमा छपाई क्षेत्रफल ४६८ वर्गइन्च र साप्ताहिक तथा अर्ध साप्ताहिक पत्रिकाको लागि छपाई क्षेत्रफल ७०२ वर्गईन्च हुनु पर्नेमा सो अनुसार नभएका दैनिक, साप्ताहिक र अर्ध साप्ताहिक पत्रिकाहरु कसरी दर्ता भई वर्गीकरणमा राखिएको विषयमा छानबिन गरी कारवाही गर्नको लागि श्रीमान समक्ष अनुरोध गर्दछु ।

प्रेस काउन्सिल नेपालले वर्गीकरण गरेका पत्रिकाहरु काउन्सिलको रिकर्डमा राखिएको पत्रिका अनुसार वर्गइन्च चेकजाँच गर्दा खुलस्त हुने मेरो दाबी छ ।
साथै इमान्दारिताका साथ प्रेस काउन्सिल नेपालले जारी गरेको मापदण्ड अनुसार कार्य गरेमा नेपाल सरकारलाई वार्षिक करोडौं धनराशी बचत भई देश विकासमा टेवा पुग्न सक्ने कुरामा दाबी समेत गर्न चाहन्छु ।

तसर्थ प्रेस काउन्सिल नेपालले मापदण्ड विपरित गई खुलेआम गरेको मनपरीतन्त्र र भ्रष्टाचारको छानबिन गरी कारवाहीको प्रक्रियालाई अगाडि बढाउन श्रीमान समक्ष अनुरोध छ ।
नोट : प्रेस काउन्सिल नेपालद्वारा जारी गरेको मादण्डको प्रतिलिपि यसै निवेदनसाथ संलग्न छ ।

उदयसिंह श्रेष्ठ
सम्पादक/प्रकाशक,
निष्पक्ष ध्वनि दैनिक नेपालगन्ज, बाँके
मोवाइल ९८५८०२००४२

यसका साथै निवेदक श्रेष्ठले आफुले अख्तियारमा मुद्धा दिनुपर्नाको कारण विज्ञप्तीमार्फत यसरी सार्वजनिक गरेका छन् ।

प्रेस काउन्सिल नेपाललाई नेपालबाट प्रकाशित हुने पत्रपत्रिका वर्गिकरण गर्ने अधिकार रहेको आदरणीय पत्रकार मित्रहरुलाई अवगत नै छ । तर काउन्सिलले गर्ने वर्गिकरण साच्चै नै निष्पक्ष छ त ? यो प्रश्नको जवाफ खोज्ने समय आएको छ ।

काउन्सिलले आँफैले तय गरेको मापदण्ड अनुसार पत्रपत्रिकाको वर्गिकरण निष्पक्षरुपमा नगर्ने गरेको प्रेस जगतका लागि नौलो विषय होइन ।
आप्mना नजिकका पत्रिका, राजनीतिक नेताको पँहुचमा रहेका पत्रिका, आर्थिक प्रलोभन, नातावाद, कृपावाद तथा चाकडी र चाप्लुसीका आधारमा काउन्सिलले पत्रिकाको वर्गिकरण गरि सुविधा वितरण गरेकोमा व्यवसायिक तथा मापदण्ड अनुसार पत्रिका प्रकाशन गर्ने संचारगृहका पदाधिकारीलाई मान्य हुने कुरै भएन ।

काउन्सिलले तय गरेको मापदण्डमा दैनिक पत्रिकाको हकमा प्रति पेज १०१५ साइज तथा ४६८ वर्ग इन्च हुनु पर्ने र अर्ध साप्ताहिक तथा साप्ताहिकको हकमा ७०२ वर्ग इन्च हुनु पर्नेमा वर्ग इन्च नपुगेका अधिकांश पत्रपत्रिकाहरुलाई प्रेस काउन्सिलले २०६७/०६८ को वर्गीकरणमा क्रमशः क, ख, ग र घ मा राखेको छ ।
त्यसैगरी प्रेस काउन्सिल नेपालले जारी गरेको मापदण्ड अनुसार राष्ट्रिय स्तरको क वर्गको पत्रिकाका लागि ७५ जिल्लामध्ये ६० प्रतिशत जिल्लामा विक्रीवितरण हुनुपर्ने प्रावधान छ ।

तर, सीमित जिल्लामा मात्रै विक्रीवितरण भएका अधिकांश पत्रपत्रिकाहरुलाई पनि राष्ट्रिय स्तरको क वर्गमा प्रेस काउन्सिलले राखेको छ ।
यसैगरी क्षेत्रिय तथा स्थानिय स्तरमा पनि मनोमानी तथा नजिकताका आधारमा वर्गिकरण गरी पक्षपातपूर्ण व्यवहार काउन्सिलले गरेको छ ।

प्रेस काउन्सिलका यि कर्तुतलाई जनमानसमा उजागर गर्ने, आदरणीय पत्रकार साथीहरुमा जानकारी गराउने र काउन्सिललाई जवाफदेही तथा निष्पक्ष निकायको रुपमा रुपान्तरण गर्ने उद्देश्य राखी मैले काउन्सिलले विगतका दिनहरुदेखि गरिरहेको नियम विपरित पत्रिका वर्गिकरण सम्बन्धी विषय र त्यससँग जोडिएको आर्थिक अनियमितता भएको व्यहोरा उल्लेख गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता (दर्ता नं. १०७९९/दर्ता मिति २०७० असोज १ गते) समेत गराएको छु ।

सोदर्ता को निवेदनको प्रतिलिपि यसै विज्ञप्ति साथ संलग्न छ । यसैगरी, मेचिदेखि महाकालीसम्मका संचार गृहका पदाधिकारीसँगको पटक–पटकको गहन छलफलपछि काउन्सिलको सेवालाई व्यवस्थित, मर्यादित तथा जिम्मेवारी बनाउन राजधानीमा दबावमूलक आन्दोलनका कार्यक्रम हामीले तय गरेका छौं ।
जसअनुसार रिले अनसन, पत्रकार सम्मेलन, जुलुश लगायत रहेको जानकारी पनि गराउदछु ।

केही दिनभित्रै आन्दोलन कार्यक्रम हामी सार्वजनिक पनि गर्नेछौं । हाम्रो आन्दोलनको उद्देश्य अख्तियारको छानबिन प्रक्रियालाई प्रभावित बनाउने नभई सरकारलाई काउन्सिल प्रति थप जिम्मेवार बनाउनु रहेको छ ।
तसर्थ, आन्दोलनको कार्यक्रममा मेचीदेखि महाकालीसम्मका व्यवसायिक संचार गृह, पत्रकार मित्रहरु, नागरिक समाज, अधिकारकर्मी लगायत न्याय प्रेमी नागरिकहरुको समेत हामीले सहयोग र साथ पाउने अपेक्षा लिएका छौं ।

उदयसिंह श्रेष्ठ
सम्पादक/प्रकाशक,
निष्पक्ष ध्वनि दैनिक नेपालगन्ज, बाँके मोवाइल ९८५८०२००४२

प्रतिक्रियाहरु