विराटनगर जुट मिल बन्द

२०७० आश्विन ३ गते, बिहीबार

विराटनगर ,३ असोज। विराटनगर जुट मिल तीन दिनका लागि बन्द भएको छ ।भारतबाट आयातीत विद्युत कटौतीका कारण बुधबारदेखि उद्योग बन्द गर्नु परेको उद्योगका महाप्रबन्धक श्याम पौडेलले बताए। लगातारको विद्युत विद्युत कटौतीले यस क्षेत्रका उद्योगधन्दाहरू धरासायी बनिरहेको अवस्थामा विद्युत प्राधिकरणले क्षमता वृद्धि गर्ने भन्दै भारतबाट आयातित विद्युत कटौती गरेपछि उद्योग बन्द हुन पुगेको हो ।विद्युत प्राधिकरणले तालिका अनुसार विद्युत आपूर्ति नगर्दा दैनिक दुई लाखभन्दा बढीको नोक्सान हुने गरेकाले बाध्य भएर उद्योग बन्द गर्नु परेको महाप्रबन्धक पौडेलले बताए । विद्युत क्षमता वृद्धि गर्नेका लागि भदौ ३० देखि भारतबाट आउने ८० मेगावाट विद्युत कटौती भएको छ । उद्योग बन्द हुँदा आफ्नो रोजगारी गुम्ने चिन्ता मजदूरहरूमा रहेको छ ।विद्युतको अनियमित आपूर्तिका कारण मेसिनमा समस्या आउनुका साथै कच्चा पदार्थसमेत नोक्सानी हुने हुनाले उद्योग बन्द गरिएको जनाइएको छ । अहिलेसम्म उक्त मिलले १० करोड रुपैयाँभन्दा बढीको जुटको बोरा उत्पादन गरे पनि विद्युत समस्याका कारण सिलाई हुन नसकेकाले बजारमा बिक्री गर्न सकेको छैन । उक्त उद्योग भारतीय कम्पनीले लिजमा लिई सञ्चालन गरिरहेको छ । विराटनगर जुट मिलमा एक हजारभन्दा बढी मजदूर एवं कर्मचारी कार्यरत छन् ।

प्रतिक्रियाहरु