कार्यकर्ताले पिटाइ खाएपछि बन्द फिर्ता

२०७० भाद्र २२ गते, शनिबार

काठमाण्डौं,२२ भदौ ।गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार काठमाडौंको बागबजारबाट रामप्रसाद अधिकारीलाई पक्राऊ गरेर चितवन लगेपछि एमाओवादी नेताहरूले अकस्मात् काठमाडौं, चितवन र गोरखा बन्दको घोषणा गरेका थिए । तर, उनीहरूको बन्द दिनभरि टिक्न सकेन । अन्ततः चार घण्टामै केही कार्यकर्ताहरुको टाउको फुटाइसकेपछि दिउँसो १२ बजेबाट एमाओवादी नेताहरुले तिजको दर खाने दिन परेकाले भन्दै बन्द फिर्ता लिएको घोषणा गर्न बाध्य भए ।शुक्रबार बेलुका सुतेका उपत्यकाबासीलाई भोलिपल्ट विहानै बन्द हुँदैछ भन्ने कुनै सूचना थिएन । दर खानका लागि चेलीबेटीस् ओहोर दोहोर गर्ने दिन आयोजना गरिएको बन्दबाट उपत्यकावासीमा निकै ठूलो आक्रोश देखियो । यसैक्रममा बन्दका कारण गन्तव्यमा पुग्न नपाएपछि आक्रोशित बनेका जनताले कलंकीमा बन्दकर्ता एमाओवादी कार्यकर्तालाई भौतिक आक्रमण समेत गरे भने प्रदर्शनीमार्गमा प्रहरीले लाठी प्रहार गर्दा केही कार्यकर्तालाई चोट लाग्यो ।
तिज परेकाले बन्द फिर्ता लिइएको भनिए पनि शनिबार विहानैदेखि सामाजिक सञ्जालमा एमाओवादीको आलोचना तिब्र बनेको छ । तिजको दर खाने दिन हो भन्ने जान्दा जान्दै रातारात बन्दको घोषणा गर्नु अनि ४ घण्टा पनि आफ्नो निर्णयमा नटिकी पछाडि फर्किनुलाई एमाओवादी नेतृत्वको अदुरदर्शिताकमा रुपमा धेरैले टिप्पणी गरेका छन् । बन्द फिर्ताका निर्णय सकारात्मक देखिए पनि चाडपर्वका बेलामा गरिएको बन्द घोषणाले एमाओवादीको आलोचना चर्को भएको छ ।
कार्यकर्ता पक्राऊको विरोधमा धनगढीमा रहेका बाबुराम र प्रचण्डले शनिबार उपत्यका बन्द गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । सत्य निरुपण आयोगमार्फत समस्या समाधान गर्नुपर्नेमा हाम्रा कार्यकर्तालाई राज्यले गिरफ्तार गरेको हुनाले यसको विरोधमा आज उपत्यका, गोरखा र चितवन बन्द गर्ने पार्टी केन्द्रीय कार्यालयले निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु