हेलो सरकारमा गुनासाको चाङ्ग

२०७० श्रावण ३२ गते, शुक्रबार

काठमाडौ, – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले हेलो सरकारमा झण्डै २४ हजार हाराहारीमा गुनासो प्राप्त भएको जनाएका छन् । २०६८ कात्तिक १७ देखि गएको असार मसान्तसम्ममा २३ हजार ९ सय ८३ वटा गुनासो/उजुरी प्राप्त भएको बाँस्कोटाले बताए । यसमध्ये २२ हजार ४ सय ४६ वटा अर्थात ९४ प्रतिशत गुनासो सम्बोधन भएको उनले जानकारी दिए ।उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस सम्बन्धि छुट्टै ‘पोर्टल’ तयार गरेको छ । जस अनुसार प्राप्त गुनासोहरु विद्युतीय माध्यमद्धारा सम्बन्धित निकायमा पठाईन्छ ।ती केन्द्रीयस्तरका निकायमा नोडल अधिकृतहरु तोकिएका छन् । ती अधिकृतहरुलाई विशेष पहल सहित अभियानात्मक रुपमा परिचालन गरिएकोले विद्युतीय पोर्टलमा यत्रो ठूलो संख्यामा गुनासो फर्छ्यौट भएको परिणाम हात परेको हो ।घटना दुर्घटनाकाबारेमा जानकारी दिन, उद्धारको लागि सहायता माग गर्न, महिला हिंसाको घटनाबारे सूचना दिन, सार्वजनिक सेवाको विषयमा गुनासो सुन्न र सुझाव दिन, सरकारी सेवाको प्रवाहमा देखिएको विकृति, विसंगति वा अनियमिताकाबारेमा उजूरी गर्न हेलो सरकारको स्थापना भएको हो ।
सबैभन्दा बढी गुनासो गृह मन्त्रालयमा ४२६२ रहेको छ भने त्यसपछि क्रमशः शिक्षा ३ हजार २४, स्थानीय विकास १ हजार ७ सय ८९, भौतिक पूर्वाधार १ हजार ६ सय १३, वाणिज्य मन्त्रालय १ हजार १ सय १५, अर्थ १हजार १ सय ४ र श्रम तथा रोजगार मन्त्रालयमा १ हजार ८० वटा गुनासो रहेको छ ।
सचिव बाँस्कोटाका अनुसार जिल्लागत हिसावले सबैभन्दा वढी गुनासो मोरङ्ग जिल्लाको ९ सय ४ वटा छ भने त्यसपछि काठमाडौं ८ सय ७५, सुनसरी ५ सय ६०, चितवन ५ सय ३१, डोल्पा ५ सय ६, सिरहा ४ सय ९४, ललितपुर ४ सय ७९, झापा ४ सय ७१, कास्की ४ सय ७३ र कपिलवस्तु ४ सय ७० वटा रहेका छन् । सबैभन्दा कम गुनासो म्याग्दी जिल्लाको १ सय ८१ वटा रहेको छ ।
अञ्चलका हिसावले बागमती, कोशी र नारायणी अञ्चल सम्बन्धी वढी गुनासो छन् भने कम गुनासो रहकेो अञ्चल धौलागिरी हो । यसैगरी मध्यमाञ्चलवाट ६ हजार ९ सय ९२ वटा गुनासो प्राप्त भएको थियो भने पूर्वाञ्चलवाट ५ हजार ४ सय ३७, पश्चिमाञ्चलवाट ४ हजार ५ सय ९८, मध्यपश्मिाञ्चलवाट ४ हजार २ सय ९२ तथा सुदुर पश्चिमाञ्चलवाट २ हजार ६ सय ६४ गुनासो प्राप्त भएको बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रियाहरु