गोरखकाली रबर उद्योगको कन्तबिजोग

२०७० श्रावण ३० गते, बुधबार

गोरखा,३० साउन – नेपालकै एकमात्र टायर उत्पादक गोरखकाली रबर उद्योग धराशायी हुँदै गएको छ ।कहिले कच्चा पदार्थको अभाव त कहिले मजदुर आन्दोलनका कारण उद्योग आर्थिक वर्ष ०६९/०७० मा ४४ दिन र ०६८/०६९ मा ५७ दिनमात्र सञ्चालन भयो । उद्योग सञ्चालन नहुने तर कर्मचारी र मजदुरले तलब मात्र लिइरहँदा उद्योगको घाटा बढेको बढ्यै छ ।आर्थिक वर्ष ०६९/०७० मा ६ करोड ९६ लाख २२ हजार एकसय २३ रुपैयाँ कर्मचारी तलबमा खर्च भएको उद्योगले जनाएको छ । उद्योगमा कर्मचारी तर्फ पहिलो तहदेखि १० औं तहसम्म गरी एकसय ५७ र मजदुर तर्फ अदक्ष देखि उच्च दक्ष सम्मका गरी एकसय ५४ जना कार्यरत छन् ।
उद्योग यो अवस्था पुग्नुमा व्यवस्थापनकै कमजोरी रहेको अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय सदस्य कृष्णप्रसाद पोखरेलले बताउनुभयो । चालु पुँजीको अभावमा उद्योग सञ्चालनका लागि गएको आर्थिक वर्षमा उद्योगले सरकारसंग २० करोड रुपैयाँ ऋण लिएको छ । ०६२/०६३ को जनआन्दोलन पछि मात्र उद्योगले सरकारबाट ३५ करोड रुपैयाँ ऋण लिइसकेको छ ।
प्रतिदिन ३ सय टायर उत्पादन क्षमता रहेको गोरखकाली रबर उद्योगमा स्थापनादेखि पूर्ण क्षमतामा टायर उत्पादन नै हुन सकेको छैन । महिनामा १५ दिन उद्योग सञ्चालन हुनुपर्ने नेपाल कलकारखाना श्रमिक संघका गोरखकाली इकाइका सभापति ईश्वर परियारको भनाई छ ।गोरखाको देउराली गाविसको मझुवामा आफ्नै स्वामित्वको ६ सय ३० रोपनी जग्गामा स्थापित गोरखकाली रबर उद्योग लिमिटेडले २०४९ भदौदेखि टायर उत्पादन शुरु गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु