मेगा बैंकको खुद मुनाफा १८ करोड

२०७० श्रावण ३० गते, बुधबार

काठमाडौं ,३० साउन । मेगा बैंक लिमिटेडले बुधबार प्रकाशन गरेको गत आवको आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०६९/०७० मा १७ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ । यो मुनाफाबाट नगण्यमात्र लाभांश दिन सक्ने हुँदा लाभांशको आशा गरेका सेयरधनीले कम्तीमा एक वर्ष पर्खनुपर्ने भएको छ । बैंकको प्रतिसेयर आम्दानी ७.६१ रुपैयाँ रहेको छ । खुद मुनाफाको २० प्रतिशत अनिवार्य जगेडा कोषमा जम्मा गर्नुपर्ने नियम रहेका कारण बैंकको खुद मुनाफामध्ये ३ करोड ५ लाख रुपैयाँ त्यसका लागि छुट्टाउनुपर्छ ।
बैंकले यसअघिको नाफाबाट ७ करोड रुपैयाँ ५३ लाख रिटेण्ड अर्निङ्ग बचत गरेको छ । त्योसहित बैंकले अब सेयरधनीलाई प्रतिफल दिनसक्ने अधिकतम कोष २१ करोड ७१ लाख रुपैयाँ हुन्छ । बैंकले सम्पूर्ण कोषबाट लाभांश दिने निर्णय गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएमा बढीमा ९ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने देखिन्छ ।
मेगाले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा १४८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ करोड १९ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकको जगेडा कोष २३ करोड ३० लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ पुगेको छ ।
२ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले यही वर्ष साधारण सेयर जारी गरेको हो । यस बैंकको सेयरमा २२ गुणा बढी आवेदन परेको थियो । आज बुधबारबाट बैंकको सेयर रजिष्ट्रारले साधारण सेयरधनीलाई प्रमाणपत्र वितरण सुरु गरेको छ । नेप्सेमा सूचीकृत नहुँदै अनौपचारिक रुपमा मेगाको सेयर प्रतिकित्ता १८० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ ।
बैंकले गत आर्थिक वर्षको अन्तसम्म निक्षेप संकलन १२ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ पुर्‍याएको छ । २०६९ असारमा ८ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ रहेकोमा ४० प्रतिशतको वृद्धि हासिल गरेको हो । त्यस्तै, कर्जा प्रवाह पनि ७ अर्ब ९३ करोड रुपैयाँबाट ४४ प्रतिशत वृद्धि गरेर ११ अर्ब ४६ करोड रुपैयाँ पुर्‍याएको छ ।
बैंकले गत आर्थिक वर्षमा अनियमित भएको ऋणबापत १५ करोड २३ लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ । बैंकको खराब कर्जा अनुपात २.२७ प्रतिशत पुगेको छ । यस बैंकको पुँजी लागत ५.४९ प्रतिशत र बेस रेट १०.३३ प्रतिशत रहेको छ । त्यस्तै, स्प्रेड दर ४.७२ बिन्दु रहेको बैंकले जनाएको छ । गत असार मसान्तमा बैंकको पुँजीकोष समायोजित कर्जा निक्षेप अनुपात ७६ प्रतिशत रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार