एमाले युवा संघमा भाडभैलो

२०७० श्रावण ३० गते, बुधबार

काठमाडौ , ३० साउन- एमाले प्रभावशाली भ्रातृ संगठन युवा संघ नेपालमा भाडभैलो मच्चिएको छ । युवा संघका अध्यक्ष महेश बस्नेत संस्थापन पक्ष र उपाध्यक्ष झपट रावल असन्तुष्ट पक्षले आजबाट छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बस्नेतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रावलसहित असन्तुष्ट पक्षका १० पदाधिकारीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी आजबाटै पार्टी केन्द्रीय कार्यालय, बल्खुमा समानान्तर केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
अध्यक्ष बस्नेत पक्षको आज र भोलि मोरङको गोठगाउँमा बैठक डाकेकै दिन रावल पक्षले आजबाट केन्द्रीय कमिटीको छुट्टै समानन्तर बैठक बोलाएको हो । ३१ र ३२ साउनमा विराटनगरमा गरिने भनेको केन्द्रीय कमिटीको प्रशिक्षण तथा बैठक र १ र २ भदौमा धरानमा गर्ने भनिएको राष्ट्रिय महिला भेला संस्थागत निर्णयलाई लत्याउँदै व्यक्तिको मनोमानी ढंगले एक व्यक्ति विशेषलाई स्थापित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आरोप लगाउँदै रावल समूहले उपस्थित नहुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।साथै, सो समूहले संगठनभित्र देखिएका राजनीतिक, वैचारिक सांगठनिक र नीतिगत समस्याको बारेमा व्यापक छलफल गरी समस्या समाधान गर्न र संगठनलाई एकताबद्ध ढंगले अगाडि लैजान भन्दै छुट्टै बैठक बोलाएको छ । रावल पक्षले धरानमा १ र २ भदौमा आयोजना हुन लागेको राष्ट्रिय महिला भेलालाई ‘काउन्टर’ दिन १ भदौमा राष्ट्रिय कार्यकर्ता भेला र १४ र १५ भदौमा काठमाडौंमै जिल्ला अध्यक्षहरूको छुट्टै राष्ट्रिय भेला बोलाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु