करिडोरका उद्योग अझै खुलेनन्

२०७० श्रावण २८ गते, सोमबार

वीरगन्ज,२८ साउन। न्यूनतम पारिश्रमिक विवादका कारण बन्द भएका वीरगन्ज-पथलैया औद्योगिक करिडरका १३ वटा उद्योग अझै खुलेका छैनन् । उद्योग खुलाउने विषयमा व्यवस्थापन र उद्योगका मजदुर युनियनबीच आइतबार बेग्लाबेग्लै भएका वार्तासमेत निष्कर्षविहीन भएपछि उद्योग सुचारु हुन नसकेका हुन् । यसअघि आइतबारका लागि तय भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घ र संयुक्त ट्रेड युनियन क्षेत्रीय समन्वय समितिबीचको वार्ता हुन सकेन ।
उद्योगका मजदुर सामूहिक दाबीमार्फत सहमतिका लागि तयार भए पनि संयुक्त ट्रेड युनियन क्षेत्रीय समन्वय समितिको अर्घेल्याइँका कारण उद्योग खुल्ने वातावरण बन्न नसकेको त्रिवेणी समूहका निर्देशक दिनेश खण्डेलवालले आरोप लगाए । सरकारले न्यूनतम बेतनमा वृद्धि गरेको एक हजार रु ८०० सबै मजदुरले समानरुपमा पाउनुपर्ने मागसहित समितिले गत सोमबारदेखि करिडोरका उद्योग बन्द गराएको छ । “सरकारले न्यूनतम तलबमात्र बढाएको हो । समानरुपमा वृद्धि भएको होइन । न्यूनतम तलबमात्र कायम भएका उद्योगमा कुनै समस्या छैन । तर, जहाँ न्यूनतमभन्दा अधिक तलब दिइएको छ, ती उद्योग नै बन्द गराइएका छन्”, निर्देशक खण्डलवालले भने , “यसमा मजदुर युनियनको बदनियत देखियो ।”
करिडोरमा सबैभन्दा बढी उद्योग त्रिवेणी समूहका बन्द छन् । त्रिवेणी समूहका मात्र स्पिनिङ, टेक्सटाइल, सिन्प्याक्स, सिन्थेटिक र तनुस टेक्सटाइलगायतका उद्योगमा उत्पादन ठप्प पारेर मजदुर आन्दोलनमा उत्रिएका छन् । करिडोरका अग्रणी आल्मुनियम, हुलास स्टिल, हामा आइरन, पोलिमार इन्डस्टि्रज, हनुमान मेटल र नेकोन केबीमा पनि मजदुरले उत्पादन ठप्प पारेका छन् । ती उद्योगको उत्पादन बन्द हुँदा दैनिक करिब रु ७० लाख हाराहारीमा नोक्सानी भइरहेको अनुमान वीरगन्ज उद्योग वाणिज्य सङ्घको छ ।
समस्याको निकासका लागि उद्योग व्यवस्थापन, उद्योगका मजदुर युनियन युनिट, मजदुरको संयुक्त समिति र सङ्घबीच चरणबद्धरुपमा वार्ता भइरहेको सङ्घका अध्यक्ष अशोककुमार वैद्यले बताए । यसैबीच आइतबार बसेको समितिको बैठकले आफ्ना मागलाई यथावत राखी वार्तामा सहभागी हुने निर्णय गरेको अखिल नेपाल ट्रेड युनियन महासङ्घका भोजपुरा संयोजक मीनप्रसाद आपागाईले बताए ।

प्रतिक्रियाहरु