रेडपान्डाको अध्ययन सुरु

२०७० श्रावण २३ गते, बुधबार

मङ्गलबारे २३ साउन । जिल्लामा लोपोन्मुख सूचीमा रहेको रेडपान्डाको अध्ययन सुरु भएको छ । उत्तरी चार गाविसलाई समेटेर रेडपान्डाको बासस्थान बनाउने र त्यस क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा विकास गर्न लागिएको हो । जोगमाई, जमुना, मावु र माईमझुवा गाविसका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रेडपान्डा संरक्षण क्षेत्र बनाउन लागिएको यस कार्यमा लागेको उच्च पहाडी जडीबुटी संरक्षण संस्थाका रेडपान्डा संयोजक फिञ्जु शेर्पाले जानकारी दिए । भारतीय सीमा क्षेत्रमा रहेको सिंहलिला नेसनल पार्कबाट समेत कहिलेकाहीँ नेपालतिर रेडपान्डा आउने गरेको छ ।रेडपान्डा रैथाने हो कि होइन भनेर पहिचान गर्न प्रत्येक गाविसमा चारजना फरेस्ट गार्जेन नियुक्ति गरी वैज्ञानिक तरिकाले रेडपान्डा अध्ययन थालिएको हो । पहिलो चरणमा सर्वेक्षण गर्दा प्रत्येक गाविसमा एक÷दुईवटाको सङ्ख्यामा रेडपान्डा भेटिएको बताउँदै शेर्पाले भन्नुभयो–“अझै चार महिनासम्म वैज्ञानिक तरिकाले अनुगमन गरिनेछ ।” जोगमाईको महादेव कागे सामुदायिक वन, छिपछिपे र कालीखोप डढेली सामुदायिक वन, जमुना र मावुको राष्ट्रिय वन तथा माईमझुवाको छिन्टापु सामुदायिक वनमा रेडपान्डाको अध्ययन भइरहेको छ ।
माईमझुवाको टोड्के सामुदायिक वनमा भने रेडपान्डा नभएको प्रारम्भिक अध्ययनमा देखिएको छ । प्रत्येक महिना फरेस्ट गार्जेनले आफ्नो अध्ययनबारे संस्थामा प्रतिवेदन बुझाउँछन् । “यस क्षेत्रमा त्यसको क्रियाकलाप देखिएको छ”– जोगमाईका कुलबहादुर सुवेदीले भने । रेडपान्डा भेटिएको स्थानमा उसको अतिलोकप्रिय आहारा मालिङ्गो रोपण, आसपासमा पोखरी निर्माण जस्ता जनचेतनाको काम थालिएको संस्थाले जनाएको छ । चार वर्षअघि रेडपान्डा संरक्षण नेपाल (आरपिएन)ले संरक्षणको काम गर्दै आएकोमा यस पटकदेखि आरपिएनले उच्च पहाडी जडीबुटी संरक्षण संस्थालाई जिम्मा दिएको हो ।

प्रतिक्रियाहरु