चार दलीय संयन्त्र भयंकर षड्यन्त्रमूलक ढंगले अगाडि बढेका छन् – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्यूरो सदस्य, नेकपा-माओवादी

२०७० श्रावण १९ गते, शनिबार


० आफैँले अवैधानिक भनेको सरकारसँग वार्ता गर्ने तयारीमा हुनुहुन्छ, कारण के हो ?
जुन बेलामा यो सरकार बनेको थियो । यो सरकार गठन गर्ने प्रपञ्चहरू चैत १ गते पूर्व जुन भएका थिए, त्यो सबैलाई राजनीतिक विश्लेषण गरेर हाम्रो पार्टी त्यसलाई प्रतिगामी कदम र त्योद्वारा बनेको सरकार भनेको थियो । अहिलेको राजनीतिक परिस्थिति जुन छ, यसको निकासको निम्ति कुरा गर्न न राजनीतिक दृष्टिले मिल्छ, न कानुनी संवैधानिक दृष्टिले नै मिल्छ, हामीले भनेका थियौँ । योबीचमा झण्डै ४-५ महिना समय बितिसकेको छ । देशको र जनताको जीवनमा पछिल्लो दिनमा गम्भीर प्रकृतिको संकट पैदा भएको छ । यो कुरालाई दृष्टिगत गरेर राष्ट्र, जनताको जीवन र आवश्यकतालाई दृष्टिगत गरेर कानुनी कुरा मात्र नगरी यो देशको जिम्मेवार पार्टी हुनुको नाताले नेकपा-माओवादीले राष्ट्रिय राजनीतिक नेतृत्व नलिने हो भने यो देश झण्डैझण्डै रहन्छ कि रहँदैन भन्ने स्थिति सिर्जना भएको छ । यही कुरालाई दृष्टिगत गरेर माओवादी पार्टी बार्ताको लागि तयार भएको हो । अहिले वार्ता र संवाद् गरी टेबुलबाट राजनीतिक समस्याको समाधान दिनको निम्ति जिम्मेवारपूर्ण ढङ्गले पहल लिनुपर्छ भन्ने नै प्रमुख हो । त्यसैले यो जिम्मेवारी लिनको निम्ति अरु सबै विषयलाई सहायक बनाएर राजनीतिक विषयलाई प्रमुख बनाएका हौँ ।
अहिलेसम्मको राजनीतिक परिवेशमा आन्दोलन गर्ने शक्तिले वार्ताको लागि शर्त राख्ने हो । वार्तामा बोलाउने हो भने यो-यो गर्नुपर्छ भनेर आन्दोलनरत शक्तिले राज्य र सरकारसँग शर्त राख्नुपर्ने हो, तर नेपालमा बडो विडम्बना भनौँ हामी सडकमा भएको प्रतिपक्षीपार्टी नेकपा-माओवादीले बिनाशर्त देशको राजनीतिक संकटको निकासको निम्ति टेबलमा आउन, वार्तामा आउन तयार हुनुहोस् भनेर चार दलीय संयन्त्र र सरकारलाई भनिरहेका छौँ । तर, चार दलीय संयन्त्र र सरकार हामीलाई वार्ताको निम्ति शर्त राख्छ । यसले के देखाउँछ भने देशमा राजनीतिक दृष्टिले राज्यको राष्ट्रिय हैसियतमा नेकपा-माओवादी मात्र छ, अरु त्यो हैसियतमा छैनन् भन्ने यो घटनाले पुष्टि गर्छ । यसकारण हामीले राजनीतिक पहलकद्मी लिनको निम्ति राजनीतिक मुद्दालाई मुख्य बनाएर नै अहिले सबै पक्षसँग विशेष गरेर चार दलीय संयन्त्र र सरकारसँग वार्तामा लागेका हौँ । यसले हाम्रो राजनीतिक सुझबुझ र दायित्व बोधलाई प्रस्ट पारेको छ ।
० तपाईंहरूले राष्ट्रवादी शक्तिहरूको मोर्चा बनाएर अघि बढ्ने बताउनुभएको छ, यसबाट तपाईंहरू पूर्वराजासँग साँठगाँठ गर्दै हुनुहन्छ भन्ने आरोप लागेको छ के भन्नुहुन्छ ?
हाम्रो पार्टीको पोखराको ऐतिहासिक केन्द्रीय समितिको बैठकले नेकपा-माओवादीको राजनीतिक नेतृत्वमा यो देशमा भएका सबै राष्ट्रवादीहरू, देशभक्तहरू जो राजनीतिक दलभित्रका भए पनि, नागरिक समाजका भए पनि र आमनेपाली समाजमा भएका भए पनि ती सबै सबै राष्ट्रवादीहरूसँग माओवादी पार्टीको नेतृत्वमा संयुक्त मोर्चा नबनाउने हो र माओवादीले राजनीतिक पहलकद्मी नलिने हो भने यो देशमा इतिहासलाई माथ गर्ने गरी राष्ट्रघात हुँदै गएको छ । देशको राष्ट्रिय स्वाधीनता र अस्मिता सिद्धिँदै गएको छ । यसकारण हामीले राष्ट्रवादीहरूसँग सहकार्य गर्ने नीति अङ्गीकार गरेका हौँ । तर, हाम्रो यो नीतिबाट यो देशका दलालहरू सबभन्दा बढी आतंकित भए र हत्त न पत्त हाम्रो त्यो नीतिलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग जोड्न पुगे । राजतन्त्र फर्काउँदैछन् भनेर हौवा पिट्न थाले । हाम्रो राष्ट्रवादीसँगको सहकार्यबाट र यो राष्ट्रको स्वाधीनता चाहने आमजनताको एकतालाई सुदृढ गर्ने कार्यबाट यो देशमा राष्ट्रघाती दलालहरूमा एउटा ठूलो आतंक पैदा भएको छ । यो उनीहरूको आतंकित मानसिकताको उपज हो । हाम्रो नीतिका विरुद्ध भ्रम सिर्जना गर्ने अफवाह हो । कुरा यसो होइन । सत्य कुरा, देशभक्तहरूसँग, राष्ट्रवादीहरूसँग हामी सहकार्य गरेर अगाडि बढ्छौँ किनभन्दा पहिलो कुरा हाम्रो राष्ट्र नै नरहने खतरा उत्पन्न भएको छ । दोस्रो कुरा, जहाँसम्म ज्ञानेन्द्र शाहको कुरा छ, ज्ञानेन्द्र शाहको सर्न्दर्भमा अहिले ज्ञानेन्द्र शाह राजा पनि छैनन्, ज्ञानेन्द्र शाहसँग राजतन्त्र पनि छैन, नेपाली क्रान्तिले यसलाई इतिहासको विषय बनाइसक्यो । अहिले ज्ञानेन्द्र शाह छन् भने यो देशको नागरिकको हैसियतमा छन् । हाम्रो यो नीति ज्ञानेन्द्रले मन पराउँछन्, पछ्याउँछन् र हाम्रो यो राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको आन्दोलनमा म पनि सहभागी हुन्छु भन्छन् भने हामी ज्ञानेन्द्र शाहलाई स्वागत गरेर मोर्चामा ल्याउँछौँ ।
० तपाईंहरूले नमुना मतपेटिका फोर्नुभएको छ, निर्वाचन आचारसंहिता जलाउनुभएको छ, सरकारले तपाईंहरूलाई सेना र प्रहरी लगाएर तह लगाउने तयारी गरेको छ । यस्तो अवस्थामा वार्ताबाट निकास निस्केला त ?
सरकार र चाल दलीय संयन्त्र भयंकर षड्यन्त्रमूलक ढङ्गले अगाडि बढेका छन् भन्ने कुरा तपाईंले गरेको प्रश्नबाट नै पुष्टि हुन्छ । वार्ताको राग अलाप्ने, आफ्नो प्रतिगमनकारी कदमलाई एकपछि अर्को गर्दै तीव्रता दिने, अनि न्यूनतमरूपमा यो प्रतिगामी कदमको आत्मआलोचना र आत्मसमीक्षा नगर्ने, न त्यसलाई कतैबाट सच्याउने सोचाइ छ – आए चुनावमा आउनुपर्‍यो । चार दलीय संयन्त्र र सरकारको जुन रटान छ, यो षड्यन्त्रमूलक छ । योभित्र कतै न कतै फासिवाद छ भन्ने पुष्टि हुन्छ । हामी कम्युनिस्ट क्रान्तिकारीभन्दा बढी लोकतन्त्रको वकालत गर्ने संसद्वादीहरू, संसदीय प्रतिक्रियावादीहरू र यिनै चार दलीय दलालहरूले गरिरहेका छन्, जसरी मंसिर ४ मा घोषणा गरिएको चुनावमा भाग लिने स्वतन्त्रता उनीहरूलाई छ, त्यसैगरी, त्यसको बहिष्कार गर्ने राजनीतिक पार्टीलाइ पनि आफ्नो राजनीतिक कार्यक्रम र प्रचारप्रसार गर्ने स्वतन्त्रता छ – होला नि – लोकतन्त्र भनेको यही होला नि – उनीहरूकै लोकतन्त्रमा । तर, भर्खरै हाम्रो पार्टीको कार्यकर्ताहरूले भक्तपुर, ललितपुर र काठमाडौँमा भित्ते लेखन मात्र गर्दा राज्यको बल प्रयोग गर्ने मूखता गरे । यी घटनाले सरकार र चार दल वार्तामा इमानदार छैनन् । वार्ताबाट अहिलेको राजनीतिक संकटको निकास दिन प्रचण्डलगायतका चार दलका नेताहरू सकारात्मक छैनन् । बरु वार्ता नेपाली जनता र माओवादी पार्टी विरुद्ध षड्यन्त्रको रूपमा प्रयोग गरिरहेका छन् । उनीहरू देशलाई गम्भीर संकटमा धकेल्न चाहन्छन् । फेरि यो देशमा द्वन्द्व निम्त्याउन चाहन्छन् भन्ने कुरा पछिल्ला घटनाक्रमले प्रस्ट हुन्छ । यदि यसै हो भने ‘जस्तालाई त्यस्तै’ भने जस्तै जनताको तर्फाट त्यसको जवाफ दिन तयार छौँ ।
० तपाईंहरू निर्वाचन बहिष्कार गर्ने तयारीमा हुनुहुन्छ, एमाओवादीका अध्यक्ष प्रचण्डले निर्वाचन बहिष्कार गर्नेलाई गाउँबाट लखेट्न कार्यकर्तालाई उर्दी जारी गरेका छन्, के भन्नुहुन्छ ?
निर्वाचन बहिष्कारको नीति अर्थात् यो कथित संविधानसभाको निर्वाचनलाई ध्वस्त गर्ने, सक्रिय र सशक्त बहिष्कार गर्ने भन्ने केन्द्रीय समितिले नीति बनाइसकेपछि हाम्रो नीतिबाट सबभन्दा बढी आतंकित र मानसिक सन्तुलन नै गुमाउने गरी प्रचण्डलाई असर परेछ । प्रचण्डको यो अभिव्यक्ति त्यसैको उपज हो । बरु अरु संसद बादी पार्टी यसरी आउन सक्छन् भन्ने हाम्रो अनुमान र विश्लेषण थियो । प्रचण्डलाई म धन्यवाद दिन चाहन्छु कि हामीले विश्लेषण गरेका थियौँ, त्यो मनोगत भएछ । मैले अरु सबै पार्टीलाई उछिनी सके तपाईंहरू विरुद्ध जान भनेर पुष्टि गरे ।
प्रचण्डले हामीलाई गाउँबाट लखेट्ने त भने तर उनीहरू नै पहिले गाउँबाट लखेटी सकेका छन् । यदि प्रचण्डको हिम्मत छ भने रोल्पाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडून् किन जानुपर्‍यो मधेसमा – मधेसमा चुनाव लड्न जान्छु भन्ने प्रचण्डको के राजनीतिक उद्देश्य हो भन्ने अहिले नखोलौँ । यो धेरै गम्भीर प्रकृतिको छ । त्यो समय पुगेपछि व्याख्या गरौँला । एमाओवादी पार्टी जुन दिनमा क्रान्तिकारी विचारको परित्याग गर्‍यो, जुन दिनमा क्रान्तिकारी राजनीति परित्याग गर्‍यो, जुन दिनमा नेपाली क्रान्तिको परित्याग गर्‍यो, जुन दिनमा हजारौँको संख्यामा नेपाली जनताले रगत बगाएर गठन गरेको जनमुक्ति सेनालाई आत्मर्समर्पण र विघटन गरायो, त्यो दिनबाट प्रचण्डले क्रान्तिकारी कित्ता छोडेर संसद्वादी कित्ता जसलाई समाजवादी क्रान्तिको लेप लगाउने दुस्साहस गरिरहेका छन् । त्यो दिनबाट प्रचण्ड जनताबाट बडारिसकेका छन् ।
० प्रसंग बदलौं, तपाईंलाई नै व्यक्तिगतरूपमा जोडेर निर्वाचन बहिष्कारको नाममा लुटपाट मच्चाउन थाल्नुभयो भनेर प्रचारमा आएको छ, वास्तविकता के हो ?
….. लामो हाँसोका साथ यस विषयमा मलाई पनि साथीहरूले सुनाएका थिए । एउटा साप्ताहिक पत्रिकाले लेखेको रहेछ । त्यो पत्रिका एमाओवादीनिकटको पत्रिका रहेछ । पछि मैले पत्रिका पनि हेरेँ । मलाई के लाग्छ भने प्रचण्डसँगको दुइ लाइन संघर्समा र पछिल्लो दिनमा नेकपा-माओवादी बनाउने ऐतिहासिक कार्यमा मैले नेपाली क्रान्तिको एउटा सिपाहीको हैसियतले वैचारिक तीक्ष्णता, राजनीतिक दृष्टिले सक्षमता, सांगठानिक दृष्टिले कुशलतासहित प्रचण्डसँग लडेँ र पछिल्लो दिनमा नेकपा-माओवादी पार्टी निर्माणमा जुन भूमिका खेलेँ, त्यो भूमिका र उचाइबाट आतंकित भएका मान्छेहरूले मेरोविरुद्ध गरेको काठको बन्दुको व्याक फायर हो । क्रान्तिको परित्याग गरेर आर्थिक दृष्टिले भ्रष्टाचार र कमिसनमा चुर्लुम्मै डुबेका मान्छेहरूको आतंकित मानसिकताको उपजको रूपमा बाहेक अन्य रूपमा आएकै छैन । सो पत्रिकाको समाचार पढिसकेपछि मलाई हाँसो लाग्यो । यस्तो झुठो खेती गरेर दिउँसै रात पार्ने, जनतालाई ढाँट्ने, रातोलाई कालो बनाउने, कालोलाई रातो बनाउने मुर्खता पनि गर्दारहेछन्, पीत पत्रिकारिता र पत्रकारहरूले भन्ने महसुस भएको छ । अर्को कुरा त्यसभित्र हाम्रो पाटीको केन्द्रीय सदस्यलाई उधृत गरिएको छ । नेकपा-माओवादीको केन्द्रीय सदस्यले यो न सोच्न सक्छ, न गर्न सक्छ तर हाम्रो पार्टीको केन्द्रीय सदस्यलाई जसरी उधृत गर्न खोजिएको छ, एमाओवादीका केन्द्रीय सदस्यको समतुल्य म यसको पूरा प्रतिवाद गर्दछु । त्यस पत्रिकाले भनेजस्तै हाम्रो पार्टीको केन्द्रीय सदस्यले त्यो भनेका रहेछन् भने त्यो एमाओवादी पार्टीको केन्द्रीय सदस्य जो भ्रष्ट र कमिसनखोर छ, त्यसको ‘पेनिटेसन’ हाम्रो पार्टी भित्र रहेको रहेछ भन्दै हामीले गम्भीर ढङ्गले अनुसन्धान पनि गर्नुपर्ने हुन्छ । यस्ता व्यक्ति हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनै सक्दैनन् । कुनै पनि नीति, विचार हरेक दृष्टिले होइनन् पनि । हामीले चुनाव बहिष्कारको नीति अगाडि सारिसकेपछि पार्टीको केन्द्रीय समितिले आजका मितिसम्म चन्दा अभियानको सुरुवात गरेको छैन । भोलि, पर्सि पार्टर्ीी के गर्ला त्यो अर्को पाटो हो । हामीले अहिले आर्थिक संकलन गर्ने कुनै अभियान थालेका पनि छैनौँ । यस्तो अवस्थामा चुनाव बहिष्कारको धुँवाभित्र पैसा कमाउने खेल, लुटपाट गर्ने खेल भनेर भनिएको छ, यो पूराका पूरा आग्रह, पुर्बाग्रही र मेरो व्यक्तित्वविरुद्ध षड्यन्त्रको रूपमा आएको षड्यन्त्रकारीहरूको खेलको रूपमा बुझेको छु । म के चुनौती दिन चाहन्छु भने जसले सूत्रपात गरे, तिनीहरूले यसको पुष्टि गर्नुपर्छ, पुष्टि गर्न सकेनन् भने इतिहासमा तिनीहरूले ठूलो मूल्य चुकाउनुपर्छ । हामीले पनि यसलाई नोट गरेर हेर्नुपर्ने भयो भन्ने लागेको छ ।
० अन्त्यमा आमजनसमुदायलाई के भन्न चाहनुहुन्छ ?
देशको स्थिति अत्यन्तै गम्भीर छ । राष्ट्रिय स्वाधीनता र नेपाली जनताको राजनीतिक स्वतन्त्रता जुन जनवादी अधिकारलाई सुनिश्चित गरेर मात्र सम्भव छ । यो लडाइँ अन्तिम बिन्दुमा पुगेको छ । राष्ट्रघाती र राष्ट्रवादीहरूबीचको, जनघाती र जनवादीहरूबीचको लडाइँ अन्तिम चरणमा पुगेको छ । यो लडाइँमा नेकपा-माओवादीले लिएको पहलकद्मीलाई पूराका पूरा साथ दिनको लागि म एक पटक पुनः नेपाली जनतालाई हार्दिक अपिल गर्दछु ।

प्रतिक्रियाहरु