२५ बुँदेविरुद्धको सुनुवाइ भदौ १३ देखि

२०७० श्रावण १८ गते, शुक्रबार

काठमाडौं ,१८ साउन,। प्रधानन्यायाधीशको अध्यक्षमा चुनावी सरकार गठन गर्ने २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशविरुद्ध परेका सातवटा रिट निवेदनमाथि आगामी भदौ १३ गतेदेखि सर्वोच्च अदालतको विशेष इजलासमा सुनुवाइ हुने भएको छ ।गत बुधबारका लागि तोकिएको पेशीमा दुई विपक्षी पदाधिकारीबाट लिखित जवाफ नआएकाले स्थगित गरिएको थियो । भदौ १३ गतेको लागि पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले बताए ।
कामु प्रधानन्यायाधीशसहित १० सदस्यीय विशेष इजलासमा बाधा अड्काउ फुकाउ आदेश र मन्त्रिपरिषद्का अध्यक्षविरुद्ध परेका २४ वटा रिट निवेदनमाथि गत असार २० गते भएको प्रारम्भिक बहसमा बाधा अड्काउ आदेश जारी भएपछि विवादसँग सम्बन्धित दायर सातवटा रिटमा मात्र सुनुवाइका लागि गत बुधबार पेशी तोकिएको थियो ।
चौबीसवटा रिट निवेदनमध्ये १४ वटा संवैधानिक प्रक्रियासँग सम्बन्धित भएका र तीनवटा बाधा अड्काउ फुकाउ आदेश अघिका रिट निवेदन भएकाले बाँकी रिट निवेदनलाई भने छुट्टै इजलासमा हेरिने आदेश भएको थियो ।विशेष इजलासबाट सुनुवाइ हुने भनिएका रिट निवेदनमा अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, कञ्चनकृष्ण न्यौपाने, डा गोपाल सिवाकोटी ‘चिन्तन’, सुवास आचार्य तथा जनसरोकार राख्ने ईश्वरी महतो, अमर केसी र भरतमणि जङ्गमका निवेदन रहेका थिए ।

प्रतिक्रियाहरु