एमाओवादीका नेता लुटपाटमा संलग्न

२०७० श्रावण १४ गते, सोमबार

लमजुङ, १४ साउन – एकीकृत नेकपा माओवादी तमूवान राज्य समिति सदस्य रबीन्द्र अधिकारीको नेतृत्वको एक टोलीले आइतबार लमजुङमा लुटपाट गरेको बताइएको छ ।अर्चलबोट पुगेका २ जना ब्यापारीबाट अधिकारी, प्रताप लामिछाने र टीकाराम विकले ८२ हजार रुपैयाँ र एउटा मोवाइल लुटेको पीडितले बताएका छन् ।विजय जैसवाल र नत्थु महतोले आफूहरुमाथि लुटपाट भएको भन्दै इलाका प्रहरी कार्यालय भोटेओडारमा किटानी उजुरी दिएका थिए । भोटेओडारका ब्यापारीबाट चकलेट र स्टेशनरी सामान लगेर गाउँमा विक्री गर्ने क्रममा आफूहरुमाथि लुटपाट भएको पीडितले वताएका छन् ।
पीडितको उजुरीको आधारमा प्रहरीले आइतबार तीनैजनालाई पक्राउ गरेको छ । त्यसपछि अधिकारीले लुटिएको मोवाइल फिर्ता गरेको भोटेओडार प्रहरीले जनाएको छ ।
यस्तै, लुटिएको रकम पनि ३ दिनभित्र फिर्ता गर्ने सहमति भएको छ । इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी सहायक निरीक्षक रुद्र दराईले मोवाइल फिर्ता गरेको पुष्टि गरेपनि रकमबारे केही बताउनुभएन ।यस सम्बन्धमा सोमबार जिल्ला प्रहरी कार्यालयमा थप छलफल गर्ने भन्दै उनीहरुलाई छाडिएको थियो । अधिकारीले भने घटनामा आफू संलग्न नभएको जिकिर गर्नुभएको छ ।

प्रतिक्रियाहरु