विशाल बजारमा अख्तियारको छापा

२०७० श्रावण १२ गते, शनिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशाल बजार कम्पनी लिमिटेडबाट शंकास्पद कागजातको सक्कल प्रति नियन्त्रणमा लिएको छ । पसल तथा सटर भाडामा अनियमितता भएको भन्दै परेको उजुरीको छानविनका क्रममा अख्तियारले कागजात नियन्त्रणमा लिएको हो । आठ रोपनी चार आना सरकारी जग्गामा निर्माण भएपनि कम्पनीले सरकारलाई शेयर नदिएको तथा मनोमानी ढंगले सटर भाडामा दिएको विषयमा उजुरी परेको थियो । तीन वर्षघि नै सर्वोच्च अदालतले सरकारी शेयर दिन फैसला गरेपनि हालसम्म सो कार्यान्वयन भएको छैन । त्यसैगरी ३४ प्रतिशत सरकारी शेयर रहेको संस्थाले र्सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित मनोमानी भाडामा लगाएकोवारे छानविनका लागि कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियारले जारी गरेको विज्ञप्ति अनुसार, ३४६ वटा सटर कवलहरुबाट विशाल बजार कम्पनीले नाममात्रैको आय आर्जन गरेको छ । आम्दानीको तुलनामा दशौं गुणा महंगो भाडाबाट व्यक्तिविशेषले फाइदा दिएपनि विशाल बजारले नगन्य लाभ लिएको भन्दै छानविन शुरु भएको हो । विशाल बजारले सटर भाडामा लगाउदा र्सार्वजनिक खरिद ऐनको पालना नभएको अख्तियारले जनाएको छ । यसैगरी गोंगबुमा सरकारको नाममा दर्ता भएको २२ रोपनी जग्गा र सो जग्गामा स्विकृत विना निर्मित भवनका वारेमा समेत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु