कर्मचारीको तलब २१ प्रतिशत बढाउन सिफारिस

२०७० असार २६ गते, बुधबार

काठमाडौं, २६ असार । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा रहेको तलब–भत्ता पुनरावलोकन समितिले आगामी बजेटमा कर्मचारीको तलब २१ प्रतिशतले बढाई थप विभिन्न शीर्षकमा भत्ता दिन सिफारिस गरेको छ ।समितिले अस्ति सोमबार अर्थ मन्त्रालयलाई तलब र भत्ता बढाउन किटानीसहित प्रतिवेदन बुझाएको हो । मुख्य सचिव नेतृत्वको समितिले सुझाव दिन सामान्य प्रशासन मन्त्रालयका सहसचिव मुकुन्दराज पन्थीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।तलब–भत्ता पुनरावलोकन उपसमितिले दिएको सुझावलाई समितिले जस्ताको तस्तै अर्थमन्त्री शंकरप्रसाद कोइरालासमक्ष बुझाएको हो । सो सुझावमा कर्मचारीको तलब २१ प्रतिशतले बढाउने र विभिन्न शीर्षकमा भत्ताबापत ४ हजार ५ सय थप रकम दिन प्रस्ताव गरेको छ। सो सुझावबारे मंगलबार नै अर्थमा आन्तरिक छलफल भएको छ ।
मुख्य सचिव नेतृत्वको समितिले नै यस्तो सुझाव दिएको र कर्मचारी युनियनले समेत तलब नबढाए चुनावमा सहयोग नगर्ने धम्की दिएका कारण कसरी तलब समायोजन गर्न सकिन्छ भनेर छलफल भएको एक अधिकारीले बताए । स्रोतका अनुसार समितिले दिएको सुझावमा तलबमा २१ प्रतिशत वृद्धिसँगै मासिक १ हजार रुपैयाँ शैक्षिक भत्ता, १ हजार रुपैयाँ खाजा भत्ता, १ हजार ५ सय रुपैयाँ परिवहन भत्ता र १ हजार रुपैयाँ टेलिफोन/इन्टरनेट भत्ताको व्यवस्था गर्न भनिएको छ ।समितिको सुझावअनुसार तलब–भत्ता वृद्धि भएमा मुख्य सचिवको मासिक तलब झन्डै ४८ हजार रुपैयाँसहित थप भत्ता तथा कार्यालय सहयोगीको करिब १७ हजार र भत्ता पाउनेछन् । यसैगरी, दुर्गममा कर्मचारी बस्न नमान्ने भएका कारण दुर्गम भत्ता आकर्षक राख्न पनि मुख्य सचिव नेतृत्वको समितिले सिफारिस गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु