कोसी ग्यासको डिलरमा सिलबन्दी

२०७० असार १६ गते, आईतवार

नवलपरासी, १६ असार । नवलपरासीको कावासोतीमा रहेको सिर्जना इन्टरप्राइजेजमा कोसी ग्यासका सिलिन्डरमा तौल कम भेटिएपछि प्रहरीले सिल लगाएको छ ।उपभोक्ताले लगेका सिलिन्डरमा तीन किलोसम्म तौल कम भएको फेला परेपछि प्रहरीले सिल गरेको हो । घरमा लगेका ग्यासका सिलिन्डर हल्का भएपछि शङ्का लागेर जोख्न ल्याउँदा कम तौल भेटिएको हो ।प्रहरीले तौलेका १८ वटा सिलिन्डरमध्ये सबैमा कम तौल भेटिएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक मोहन अधिकारीले बताए ।गैँडाकोटमा रहेको कोसी ग्यासका सिलिन्डरहरु कावासोतीमा बिक्री गरिएको थियो । घरमा बिक्री गर्ने सिलिन्डरमा सरदर दुई किलो र होटलको प्रयोजनका लागि बिक्री गरिएका सिलिन्डरमा तीन किलोसम्म तौल कम भएको कावासोतीका होटल व्यवसायी श्यामलाल बस्यालले बताए ।
कोसी ग्यासमा कम तौल भेटिएपछि गाउँलेले आफ्नो घरमा लगेका नयाँ ग्यास सिलिन्डरहरु जोख्न ल्याइरहेका छन् ।प्रहरीले अनुसन्धानका लागि कोसी ग्यास प्रालि गैँडाकोटका प्रबन्धक छत्रप्रसाद लुइँटेल, लेखा शाखाका नन्दु शर्मा, सिर्जना इन्टरप्राइजेजका रामकृष्ण पुडासैनीलगायतलाई नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउने कार्य सुरु भएको बताएका छन् l

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु