बाढी पीडितका लागि एनआरएन जुर्मुर्यायो

२०७० असार ९ गते, आईतवार

जुरिख स्वीट्जरल्याण्ड, ९ असार । स्वीट्जरल्याण्डको जुरिखमा जारी गैर आवासीय नेपाली संघ छैठौं यूरोपियन क्षेत्रीय भेला तथा चौथो महिला क्षेत्रीय सम्मेलनमा पश्चिम नेपालमा गत साता आएको बाढी पीडितको सहयोगार्थ एकै दिनमा करिब ६० लाख नेपाली रुपियाँ सहयोग उठेको छ ।
हालै मात्र दैवी विपत्तीको चपेटामा परेको पश्चिम नेपालको बाढी पहिरोमा परि हजारौं मानिसहरु प्रभावित हुनुका साथै करोडौंको क्षति पुगेको छ । उक्त बाढी पीडितको सहयोगार्थ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले सम्पूर्ण एनआरएनहरुमा आर्थिक सहयोगको लागि अपील गरेको छ । सोही अपील अनुसार जुरिखमा जारी उक्त भेला तथा सम्मेलनमा सम्मेलन शुरु भएको दिन आजै भेलामा सहभागी एनआरएन आईसिसी पदाधिकारीहरु, एनसिसी पदाधिकारीहरु, विभिन्न व्यक्तित्वहरु तथा एनसिसीहरुका तर्फबाट समेत गरी करिब ६० लाख नगद संकलन भएको हो ।
कार्यक्रमको च्यारिटी शत्रमा भएको छलफलका क्रममा आईसिसीका तर्फबाट अध्यक्ष जिबा लामिछानेले सहयोगको लागि आग्रह गरेपछि सम्पूर्ण दाताहरुले उक्त सहयोगको उद्घोषण गरेका हुन् । नेपालका बाढी पीडितको सहयोगका लागि यो अभियान निरन्तर रहने र बाढी पीडितको सहयोगार्थ सहयोग रकम उठ्ने क्रम अझै जारी रहेको अध्यक्ष जिबा लामिछानेले बताए ।-
दामोदर नेपाल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु