मुलुकमा कर्मचारीतन्त्र लागू भएको छ :उपेन्द्र

२०७० जेष्ठ २९ गते, बुधबार

जनकपुर, जेष्ठ २९ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भए यता मुलुकमा कर्मचारीतन्त्र लागू भएको बताएका छन् ।फोरम नेपा लको वुधवार लक्ष्मीनियामा आयोजित क्षेत्रीय सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै यादवले भने-‘ रेग्मी नेतृत्वको सरकार गठनसँगै मुलुकमा कर्मचारीतन्त्र लागू भएको छ । दलहरुको औचित्य समाप्त भएको छ । ‘रेग्मी नेतृत्वको सरकार एमाओवादी,कांग्रेस र एमालेको कठपुतली बनेको आरोप लगाउँदै फोरम नेपालका अध्यक्ष यादवले तीन दलले संविधान सभा विघटन गर्ने वेला प्रधानन्यायाधीशको हैसियतले रेग्मीले पनि सघाएको बताए । उनको कथन थियो- ‘सर्वोच्च अदालतले संविधान सभाको म्याद किटान नगरेको भए संविधानसभा जोगिन पनि सक्थ्यो ।’
तीन दलले संघीय संविधान नचाहेको दावी गर्दै उनले यीनै दलहरुको सिन्डिकेटले संविधान बन्न नदिएको तथा संविधान सभा विघटन गरेको आरोप लगाए । तीन दलले मधेसी, आदिवासी, जनजाति, मुस्लिम तथा महिलालाई निस्तेज गर्न समानुपातिक प्रतिनिधीत्व घटाउन लागेको आरोप लगाउँदै उनले समानुपातिक प्रतिनिधित्व घटाए निर्वाचनलाई स्वीकार नगर्ने चेतावनी दिए- ‘समानुपातिक प्रतिनिधित्व घटाए निर्वाचन स्वीकार गरिन्न ।’कार्यक्रममा पार्टीका वरीष्ठ नेता भरत विमल यादवसहितका नेताहरुको पनि उपस्थिती थियो । सोही कार्यक्रममा हालै तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल छाडेका शत्रुघ्न यादवको अगुवाईमा करिव चारसय नेता तथा कार्यकर्ता फोरम नेपाल प्रवेश गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु