स्वरोजगारका भ्रष्टहरु फन्दामा पर्ने

२०७० जेष्ठ ११ गते, शनिबार

काठमाडौँ । युवा तथा साना व्यवसाय स्वरोजगार कोषमा व्यापक अनियमितता र भ्रष्टाचार भएको समाचार प्रकाशित भइरहेकै समयमा स्वरोजगार कोषका अध्यक्ष एवं अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उक्त विषयमा चासो राखेको बताइएको छ । स्वरोजगार कोष, कोषकै उच्च पदस्थ कर्मचारीको कार्यशैलीका कारण धराशयी बन्न लागेको समाचारहरू विभिन्न सञ्चार माध्यममा लगातार आइरहेपछि मन्त्री कोइरालाले यस सम्बन्धमा कोषको बैठकमै आवाज उठाएको स्रोतले बताएको छ । स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले एमाओवादीको फेर समातेर कोषभित्र ताण्डव गरेपछि सबै सेवाग्राही र सम्बद्ध कर्मचारीसमेत रुष्ट बनेको स्रोतले बताएको छ । कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले गलत नियतका साथ संकटग्रस्त फाइनान्स र सहकारीलाई करोडौँ रूपैयाँ उपलब्ध गराएर कमिसन खाने गरेकाले नै कोष संकटग्रस्त बनेको स्रोतको दाबी छ । स्वरोजगार कोषले आशातित कार्य गर्न नसकेको र कोषको लगानी डुब्ने स्थितिमा रहेको महालेखाको प्रतिवेदनमा समेत उल्लेख छ । यसरी बेरोजगार युवाहरूलाई स्वरोजगारमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ स्थापना भएको कोषमा कोषका केही कर्मचारीले लुट मच्चाएको थाहा पाएपछि मन्त्री कोइराला रुष्ट बनेको स्रोतले बताएको छ ।
यसैबीच, अर्थमन्त्री शंकरप्रसाद कोइरालाल पारदर्शी र व्यवस्थित कार्यविधि तयार नहुन्जेल स्वरोजगार कोषको ऋण प्रवाह रोक्न निर्देशन दिएका छन । स्वरोजगार कोषले यसै साता दोस्रो किस्ताबापत ६० करोड रुपैयाँ विभिन्न सहकारीलाई दिँदै थियो । अर्थले स्वरोजगार कोषलाई अर्को व्यवस्था नहुन्जेल भुक्तानी नगर्न भनेको छ । ‘तत्काललाई कार्यक्रम स्थगन गरिएको हो । पारदर्शी रुपमा ऋण लगानी गर्न कार्यविधि तयार भएपछि चालु हुन्छ,’ स्रोतले भन्यो, ‘राम्रो उद्देश्यले कार्यक्रम आए पनि वास्तविक बेरोजगार लाभान्वित नभएकाले स्थगन गरिएको हो ।’ स्रोतका अनुसार स्वरोजगार कोषबाट प्रवाह भएको रकम सम्बन्धित सहकारीले दुरुपयोग गरेको भेटिएको थियो । ‘दल निकटका सहकारी संस्था खोल्ने र ती सहकारी संस्थालाई रकम दिएर कर्मचारी पोस्ने काम गरेको पाइएको छ,’ स्रोतले भन्यो, ‘स्वरोजगार बनाउने रकम कार्यकर्ता पोस्न दिनुहुँदैन भनेर रोक्न खोजिएको हो ।’ बेरोजगार युवालाई बिनाधितो ऋण दिएर स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम ल्याइए पनि यसबाट सत्ताधारी दलका कार्यकर्ता मात्र पोसिँदै आएका थिए । पाँच वर्षघि बाबुराम भट्टर्राईले अर्थमन्त्री हुँदा ल्याएको कार्यक्रमको रकम दुरुपयोग भएको भन्दै व्यापक आलोचना हुँदै आएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु