बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बर्ढाईने

२०७० बैशाख २८ गते, शनिबार


काठमाडौँ । अहिलेकै पुँजी आधारमा संस्था बलियो हुन नसक्ने र लगानी विस्तारमा पनि समस्या आउने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । ‘बैंकहरूले पुँजीको आधार बलियो बनाउँदै लैजानुपर्छ’ राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, ‘बैंक तथा वित्तीय संस्थाको दीगोपनाका लागि अहिलेको पुँजीको ५ गुणासम्म वृद्धि गर्नुपर्ने आवश्यकता भइसकेको छ । पुँजी बढाउनुको विकल्प छैन ।’ बैंक तथा वित्तीय संस्थासँग पुँजी अभाव हुँदै गएपछि उनीहरूको लगानी क्षमतासमेत घटेको छ । पुँजी कम भएकै कारणले लगानी विस्तार गर्न केही बैंकहरूले ऋणपत्र जारी गरिरहेका छन् । पछिल्लो समय जोखिम बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्नपनि बलियो पुँजी चाहिने भन्दै राष्ट्र बैंकले बढाउने तयारी गरेको हो । नेपाल राष्ट्र बैंकले यसअघि २०६३ को मौद्रिक नीतिमार्फ् पुँजी वृद्धि गर्न योजना ल्याएको थियो । यो योजनाअनुसार सबै वाणिज्य बैंकहरूले आफ्नो चुक्ता पुँजी २ अर्ब रूपैयाँ पुर्याइसकेका छन् । केही वित्तीय संस्थाले पुँजी वृद्धिका लागि मर्ज प्रक्रिया अगाडि बढाएका छन् । केही संस्थाको मर्ज पनि भइसकेको छ । राष्ट्र बैंंकले पुँजी बजारलाई प्रभावित नपार्ने गरी पुँजी वृद्धि योजना ल्याउने तयारी गरेको छ । २०६३ मा पुँजी वृद्धि योजना ल्याउँदा सेयर बजारले अस्वभाविक बढ्दो गति समातेर पछि समस्या परेको थियो । त्यसको असरले अहिलेसम्म पनि बजार राम्रोसँग उठ्न सकेको छैन । राष्ट्र बैंकले बजार प्रभावित नहुने गरी पुँजी वृद्धि योजना ल्याउने विकल्पहरूमा छलफल गरिरहेको स्रोतले जानकारी दियो । ‘सेयर बजारमा प्रत्यक्ष प्रभाव नपर्ने गरी पुँजी वृद्धि योजना ल्याउने प्रयास हुन्छ,’ स्रोतले भन्यो, ‘यसका लागि राष्ट्र बैंकमा चौतर्फी छलफल तथा परामर्श भइरहेको छ ।’ राष्ट्र बैंकले पुँजी वृद्धिका लागि मर्जलाई उत्कृष्ट विकल्पका रूपमा लिएको छ । धेरैभन्दा धेरै संस्था मर्ज हुँदा लगानीकर्ताले थप पैसा लगाई कम्पनीको पुँजी बढाउन सकिन्छ । यसले गर्दा संस्थाको संख्या घटेर राष्ट्र बैंकलाई नियमन गर्नपनि सजिलो हुने विश्लेषण त्यहाँका अधिकारीहरूको छ । ‘उदारवादी लाइसेन्स नीति लिँदा धेरै संस्था जन्मिए । बैंकिङ पहुँच बढाउन यस्तो नीति लिइए पनि उद्देश्य पूरा हुन सकेन,’ ती अधिकारीले भने, ‘अहिलेको समयमा संस्था गाभिएर पुँजी वृद्धि हुँदा जोखिम पनि घट्ने र पहुँच विस्तार गर्न सहज हुनेछ ।’ उनका अनुसार, सञ्चाल विस्तार गर्नपनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पुँजीको अभाव देखिन थालेको छ । ‘पुँजी बढी भएको संस्थाले जोखिमहरूलाई सहजै पचाएर अगाडि बढ्न सक्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अहिले पुँजी कम भएको छ । यसले जोखिम बढ्ने खतरा छ ।’ राष्ट्र बैंकले चुर्त्तmर्fmाँजी यतिउति हुनुपर्ने भन्ने टुंगो गरिसकेको भने छैन । तर अहिलेको पुँजीभन्दा ५ गुणासम्म पुर्याउन आवश्यक भइसकेको भन्ने निष्कर्षभने पुगिसकेको छ । अहिले वाणिज्य बैंकहरूको २ अर्ब राष्ट्रियस्तरका विकास बैंकहरूको ६४ करोड र फाइनान्स कम्पनीहरूको पुँजी २० करोड तोकिएको छ । पाँच गुणा पुर्याउनुपर्ने व्यवस्था गरिए बैंकहरूको पुँजी १० अर्ब पुग्ने छ । विकास बैंकको ३ अर्ब २० करोड र फाइनान्स कम्पनीहरूको १ अर्बपुँजी पुग्नेछ । राष्ट्र बैंकले मर्जलाई दवाव दिनका लागि पनि पुँजी वृद्धि योजना अगाडि बढाउन लागेको हो । आफूले ल्याएको मर्ज नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरू उतिसारो गाभिनतिर नलागेको हुनाले पनि पुँजी वृद्धिको व्यवस्थापछि यसमा दवाव दिन खोजिएको हो । बैंक तथा वित्तीय संस्थालाई वाक्यात्मक मर्जमा लैजान पुँजी वृद्धि योजना अगाडि सार्नुपर्ने सुझाव अन्तर्रर्ााट्रय मुद्रा कोषले दिँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु