वार्ता आव्हान नौटंकी: ३३ दल

२०६९ चैत्र १८ गते, आईतवार


काठमाडौं– नेकपा–माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकले सरकारले वार्ताको लागि गरेको आव्हानलाई नौटंकीको संज्ञा दिँदै निर्बाचन नै बिथोल्ने निर्णय गरेको छ । नेकपा–माओवादीसहित ३३ साना दलले आगामी निर्वाचन बिथोल्ने निर्णय गरेका छन् । आइतबार बसेको ३३ दलको संयुक्त बैठकले खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषदले गर्ने निर्वाचन बिथोल्ने निर्णय गरेको हो । सरकार र चार दलको उच्चस्तरीय राजनीतिक समितिले पनि असन्तुष्टसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णय गरेको थियो । बैठकपछि माओवादी सचिव देव गुरुङले भने, ‘रेग्मी नेतृत्वको सरकारको कुनै हैसियत नभएकाले योसँग वार्ता हुँदैन, वार्ता गर्ने भए राष्ट्रपतिसँग मात्रै हुन्छ ।’ बैठकले मतदाता नामावली संकलन कार्य रोक्न निर्वाचन कार्यालयमा मंगलबार ज्ञापनपत्र दिने निर्णयसमेत गरेको छ । माओवादीकै नेतृत्वमा केही दिनदेखि मतदाता नमावली संकलनमा अबरुद्ध गर्ने, कर्मचारीलाई अपहरण गर्ने, ल्यापटप फुटाइदिने जस्ता काम हुँदै आएका छन् । बैठकले रेग्मी अध्यक्ष रहेको अन्तरिम चुनावी मन्त्रिपरिषद् भंग हुनुपर्ने मागसमेत गरेको छ ।

प्रतिक्रियाहरु