कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०७७ असार २१ गते, आईतवार

काठमाडौँ, २१ असार । १४ औं महाधिवेशनको परिमार्जित कार्यतालिकालाई अन्तिम रुप दिन प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । आज दिउँसो २ बजेपछि ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकले फागुनमा हुने महाधिवेशनको परिमार्जित कार्यतालिकालाई अन्तिम रुप दिनेछ । बैठकमा सरकारले एकलौटी रुपमा गरेको संसद अधिवेशन अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका गतिविधि, कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार लगायत बिषयमा सरकारले गरिरहेको कामको पनि समिक्षा गर्नेछ ।
कोरोना भाइरसका कारण पूर्व निर्धारित कार्यतालिका अनुसार काम हुन नसकेपछि कांग्रेसले त्यसलाई परिमार्जन गर्ने भएको हो । कांग्रेस पदाधिकारी बैठकले तोकिएकै मितिमा महाधिवेशन गर्ने तथा विभिन्न तहको अधिवेशन सम्बन्धी कार्यतालिका र कार्यविधि परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति गरिसकेको छ । कांग्रेसले १४ औं महाधिवेशनको फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु