‘समकालीन साहित्य र संस्कृति’– खेम थपलिया

इतिहासका अनेकन् कालखण्डमा झैँ समकालीन नेपाली समाजमा पनि सबै किसिमका नूतन र पुरातन चिन्तनका बीच भीषण सङ्घर्ष भइरहेको छ । राजनीतिक क्षेत्रमा जस्तै साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पनि यो प्रक्रिया तीब्रतामा छ । पुरातन चिन्तन र त्यसको विरासतमा खडा भएको जनघाती राजनीतिसँगै खडा गरिएको जनविरोधी साहित्यिक–सांस्कृतिक सत्तालाई ध्वस्त बनाउनु अपरिहार्य हुन्छ । अनि, प्रतिक्रियावादी तथा सामन्तवादी साहित्य–संस्कृतिलाई चिहानमा पुर्नु र त्यही चिहानमा जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु आजको आवश्यकता हो । वैज्ञानिक समाजवादी क्षितिज एकीकृत जनक्रान्तिसँगै सुन्दर उघारिँदै गएको छ । पूर्व क्षितिजमा परिवर्तनका आभा देखिन थालिसकेको छ । यो कुरा संसारभरका उत्पीडित तथा श्रमजीवी जनतालाई सुखद् सन्दर्भ हो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि अनवरत क्रियाशील अनिल शर्मा स्थापित नाम हो । राजनीतिका साथै, उहाँले समकालीन कला–साहित्यमा गहिरो चासो राख्दै र चिन्तन गर्दै आउनुभएको छ । साहित्य र संस्कृतिको क्षेत्रमा उहाँको चिन्तनधारा लोभलाग्दो गरी अनवरत प्रवाहमा छ । यसै सन्दर्भमा उहाँको ‘समकालीन साहित्य र संस्कृति’ नामक पुस्तक प्रकाशन भएको छ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विधिद्वारा तयार पार्नुभएको उक्त पुस्तक समकालीन माक्र्सवादी प्रकाशनको फाँटमा निकै महत्वपूर्ण उपलब्धि हो । यो पुस्तकले नेपाली राजनीतिक जीवनका साथै, सामाजिक, साहित्यिक र सांस्कृतिक जीवनमा देखापरेका कैयौँ विचारधारात्मक न्यूनतालाई एकहदसम्म भए पनि पूर्ति गर्ने कुरामा कुनै शङ्का छैन । यसले नेपालको माक्र्सवादी प्रकाशनको क्षेत्रमा विशिष्ट स्थान राख्ने र विचारधारात्मक क्षेत्रमा पनि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछ । सांस्कृतिक–साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टा–द«ष्टाहरूका लागि यो पुस्तक विचारधारात्मक रूपमा मात्र नभई विषयगत विविधताका हिसाबले निकै लाभकारी हुनेछ । यो पुस्तकले विचारधारात्मक, संज्ञानात्मक र सौन्दर्यात्मक क्षेत्रलाई सवलीकृत गर्दै मानवमुक्तिको अभियानमा महत्वपूर्ण योगदान दिनेछ । दुई खण्ड रहेको प्रस्तुत पुस्तकको पहिलो खण्डमा विचारधारात्मक सांस्कृतिक आलेख रहेका छन् भने दोस्रो खण्डमा समालोचनात्मक प्रस्तुति रहेका छन् ।
अनिल शर्माकृत ‘समकालीन साहित्य र संस्कृति’ मा सिर्जना खण्डमा ‘संस्कृति र संस्कार’ नामक निकै महत्वपूर्ण आलेख रहेको छ । साहित्य तथा सांस्कृतिक चिन्तनधारामा क्रियाशीलहरूका लागि यो आलेख पठनीय र मननीय छ । शर्माले ‘संस्कार के हो ?’ उपशीर्षकमा संस्कारको उत्पत्ति र नेपाली समाजका चलिआएको रुढीगस्त संस्कृतिबारे सुन्दर ढङ्गले व्याख्या गर्नुभएको छ, ‘दर्शन, विचार, अर्थ–व्यवस्था, जीवनशैली, पद्धति, वातावरण परम्परा आदि संस्कृतिमा अभिव्यक्त हुन्छन् । त्यसैले संस्कार मानवीयस्वरूप नै हो । धर्म, आस्था, भावना, मूल्य–मान्यता, चाडपर्व, चलन सबै मानवनिर्मित अस्तित्व हुन् । पृथ्वीमा जीवको उत्पत्ति ‘एक कोषीय जीवदेखि मानवजातिको उत्पत्तिसम्म’ ४ अर्ब वर्षदेखि ३० करोड वर्षअघिसम्म ईश्वर, धर्म, स्वर्ग, भाग्य, पुनर्जन्मको कुनै अस्तित्व भेटिन्न । आर्यजातिको एक शाखा हिन्दु धार्मिक प्राचीन ग्रन्थ वेद सिर्जनाकाल (श्रुति परम्परा र स्मृति परम्परा) सम्म पनि ईश्वरको अस्तित्व देखिन्न । हिन्दु धार्मिक चेतनाको उदय ५ हजार वर्षअघिसम्म धर्म कतै देखिन्न । वैदिक धर्मले कर्म–काण्डीय संस्कार मानेको देखिन्न । दैवीशक्तिको उदय सामन्ती समाजका उपजहरू हुन् । भाग्यवाद पौराणिक युग (पुराण लेखनयता) को उपज हो । अवतारवाद सबैभन्दा पछिल्लो धार्मिक कचरा र संस्कार हो । यसको अस्तित्व कायमै छ । १८ पुराणमध्ये गरुड पुराण पछिल्लो हो । जुन दानदातव्य असुल गर्ने कलुषित मनोकाङ्क्षाले रचना गरिएको छ, जसको रचना आजभन्दा १२–१४ सय वर्षपूर्वभन्दा टाढा छैन । यसमा व्याख्या गरिएका प्रसङ्ग, मनोविज्ञान, मनोकाङ्क्षा तथा शब्दचित्र वर्तमान समाजसँग सामयिक देखिन्छन् । यसमा पुरोहित र महाराजाहरूको स्वार्थको पूर्ति गर्नका लागि निर्धालाई तर्साएर मानसिक रूपले त्रस्त बनाएर अप्रत्यक्ष रूपमा भयानक लुटपाट गरिएको छ । सबै जाति, धर्म र भूगोलमा त्यसप्रकारका भ्रमात्मक संस्कार रहेका छन् । आदत, आनीबानीका रूपमा असचेत रूपमा मान्छेले अवलम्बन गर्दै आएको हर्कत संस्कार हो’, (पृ. १३–१४) ।
प्रस्तुत पुस्तक पढ्दै जाँदा पाठकमा बेग्लै किसिमको अनुभूति हुन्छ । सामाजिक तथा सांस्कृतिक रुग्णताका विरुद्ध पाठकलाई उद्वेलित गराउन सक्नु यो पुस्तकको सर्वाधिक महत्वपूर्ण पक्ष हो । ‘जनवादी संस्कृति’ संस्कृतिका विषयमा शर्माले आफ्नो पुस्तकमा यसरी आफ्नो धारणा अगाडि सार्नुभएको छ, ‘जनवादी संस्कृति कस्तो हुने भन्ने कुरा समाज विकासको चरणले निर्धारण गर्ने विषय हो । नेपाली समाज नयाँ जनवादी क्रान्तिको चरणबाट गुज्रिरहेको छ । त्यसैले नेपाल नयाँ जनवादी संस्कृति निर्माणको चरणमा छ । यो समाजवादी संस्कृति होइन तर समाजवादी संस्कृतिको अभिन्न अङ्ग हो; जुन सर्वहारा विश्वदृष्टिकोण र सर्वहारा संस्कृतिबाट निर्देशित छ । समाजवादी अर्थव्यवस्था (आधार) र राजनीति (अधिरचना) कायम नभएको भए पनि नयाँ जनवादी संस्कृतिमा समाजवादी संस्कृतिका लक्षणहरू देख्न सकिन्छ । जीवनप्रति आशावाद, श्रमप्रति निष्ठा, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अवलम्बन पार्टी प्रतिबद्धता जनसेवाको भावना, समाजवादी मानवतावादको अनुशरण पुँजीवादी चेतना र व्यवहारका विरूद्ध दृढ सङ्घर्ष, देशभक्तिको भावना, अन्तर्राष्ट्रिय भाइचारा, जीवनमुखी चिन्तन आदि नयाँ जनवादी संस्कृतिका पक्षहरू हुन् । यसले अन्धविश्वास, रुढीवाद, पुरोहितवाद सबैको विरोध गर्दछ । भौतिक चिन्तन र विचार यसको दृष्टिकोण निर्माणको आधार हुने गर्छ । भौतिकवादी विश्वदृष्टिकोणले जीवन र जगत््का नियमहरूको अध्ययन गर्छ । विदेशी हस्तक्षेप, उत्पीडन र शोषणको विरोध गर्छ । देशका सबै जाति, लिङ्ग, क्षेत्र र सम्प्रदायका बीचमा आपसी भातृत्वको पक्षपोषण गर्ने भएका कारण नयाँ जनवादी संस्कृतिको स्वरूप राष्ट्रिय हुन्छ । राजनीतिक आन्दोलन जति–जति बलियो बन्दै जान्छ, त्यति–त्यति सांस्कृतिक आन्दोलन पनि बलियो बन्दै जान्छ । जनवादी संस्कृतिले प्रगति र न्यायिक पक्षलाई प्रोत्साहित गर्दछ । त्यसैले जनवादी संस्कृतिलाई समाजवादी संस्कृतिको सुढेनी भन्न सकिन्छ’, (पृ. २२–२३) ।
पहिलो खण्डमा उपर्युक्त शीर्षक रहेको आलेखका साथै, ‘सिर्जनामा अन्तर्वस्तु र रूप’, ‘धर्म र कम्युनिस्ट’, ‘प्रगतिवाद र रचनाधर्मिता’, ‘कला, साहित्य र संवेदना’, ‘प्रगतिवादी साहित्य ः लोकप्रियकरणको प्रश्न’, ‘इतिहास लेखनको नयाँ प्रयोग र जनपक्षधरता’ र ‘जनयुद्ध पक्षधर साहित्य र विद्रूपीकरणको प्रश्न’ जस्ता महत्वपूर्ण शीर्षक–विषयमा शर्माले आफ्नो दृष्टिकोण पस्कनुभएको छ । यस खण्डमा रहेका लेखहरूले साहित्य र कला निश्चित राजनीतिक उद्देश्य पूर्तिका लागि सचेतन रूपमा सिर्जना गरिने विचारधारात्मक सङ्घर्षका औजार हुन् भन्ने कुरालाई राम्ररी नै प्रस्तुत गरेको छ । माक्र्सवादी कला–मूल्यका दृष्टिकोणले लेखक अनिल शर्माका यस खण्डमा रहेका सामग्रीहरूले वहन गरेका विचार भावोत्तजक रहेका छन् नै, यसले कतिपय सन्दर्भमा गम्भीर बहसको माग पनि गरेको छ । यसले कतिपय इतिहाससम्मत र कतिपय समकालीन परिस्थितिजन्य भावभूमिमा थप अनुसन्धान र बहसको थालनी गरेको छ ।
माक्र्सवादी लेखक अनिल शर्माद्वारा लिखित ‘समकालीन साहित्य र संस्कृति’ को दोस्रो खण्डमा समालोचनामूलक सामग्रीहरू रहेका छन् । यस खण्डमा ‘बेलाइती दैनिकी’ मा हरिहर खनाललाई नियाल्दा’, ‘खुला पत्र ः अर्को महान् बहस र नेपाली क्रान्तिका समस्या’, ‘सार्थक हस्तक्षेप ः वर्गसङ्घर्ष, बलिदान र दलित’, ‘ढकालका कवितामा बयल खेल्दा’, ‘गद्य विधामा इच्छुकलाई नियाल्दा’, ‘जनयुद्धका अनुभूतिमा गङ्गा श्रेष्ठ’, ‘जनयुद्धको आदर्श र शारदा स्मृति पुरस्कार’, ‘प्रगतिवादी साहित्यमा क्यान्टोन्मेन्ट र अरू कविताहरू‘, ‘स्रष्टा शक्ति लम्सालको समालोचकीय व्यक्तित्व’, ‘सिर्जनात्मक पाटोमा सहिद रीतबहादुर खड्का’, ‘उषाजी, शब्दचित्र लेखिरहनुहोस् है’, ‘जनयुद्ध चियाउने आँखीझ्याल ः उथलपुथलका दस वर्ष’, ‘युद्धका प्रतिबिम्बहरूभित्र विद्रोहका स्वर’, ‘युद्धसाहित्य र कविता, उत्खनन् ः पुरातनविरुद्धको स्वर’, ‘संस्कृतिको सेरोफेरोमा पोखरेल’, ‘मदनमोहन जोशी ः व्यक्तित्व र कृतित्व’, ‘सिर्जनामा राष्ट्रियता र गणतन्त्रको अभिव्यक्ति’, ‘देवकोटा, झिल्टुङ र कुञ्जिनी’, ‘आख्यान क्षेत्रमा बरालको बर्की नम्बर १३९९९’, ‘रसुवा र नुवाकोटमा सामना’, ‘कविता सागरमा ‘इतिहास र लाल झा’, ‘राणा शासन, मकै पर्व र प्रगतिवाद’, ‘जगत बा ः देशभक्तिका सतिसाल’, ‘वीरता र सुन्दरताको एउटा पुञ्ज’, ‘१०८४ की आमा’ मा जनयुद्धको खोजी’, ‘भावना र विचारको सुन्दर प्रस्तुति ‘प्रियजनहरूको सम्झनामा’, ‘समरका स्मृतिहरू’ मा जनयुद्धको जीवन्त गीत’, ‘चितवनका छन्दकवि चेतकान्त ः एक दृष्टि’, ‘जनमनका कवि केवलपुरे किसान’ जस्ता समालोचनात्मक आलेख रहेका छन् ।
‘सिर्जनामा राष्ट्रियता र गणतन्त्रको अभिव्यक्ति’ यस खण्डमा रहेको महत्वपूर्ण सामग्री हो । यो समालोचनात्मक आलेखमा लेखाइको रागात्मक उचाइ प्रस्ट रूपमा देख्न सकिन्छ । यहाँ लेखकले आफ्नो समालोचकीय दृष्टिकोण यसरी प्रस्तुत गर्नुभएको छ, ‘विगत केही वर्षदेखि फासिवादका विरुद्ध गणतन्त्रका पक्षमा सिर्जन–कार्य केन्द्रित थियो । यतिबेला राष्ट्रियतामाथिको खतरा बढेर गएका कारण नेपाली जनतामा गणतन्त्रको साथमा राष्ट्रियताको आन्दोलनमा सहभागी हुँदै गएका छन् । हाम्रो सिर्जन–कार्य जनताको सुख–दुःख तिनका पीडा, जनताका बीचमा एकता र तिनका वर्ग–चेतनालाई समृद्ध बनाउने दिशातिर उन्मुख हुनुपर्छ । तिनले जनतामा आशा दुश्मनप्रति घृणा र श्रमप्रति आस्था जगाउनुपर्छ । त्यसअर्थमा हाम्रो सिर्जन–कार्य वर्गसङ्घर्षको दिशा र दशाबाट पृथक रहन सक्दैन । त्यसैले त स्पेनका प्रसिद्ध कवि तथा सहिद फेदरियो गार्सिया लोर्काले भनेका थिए, “संसारलाई हल्लाइदिने यी दिनहरूमा हामीले जनतासँगै रुन र हाँस्न सक्नुपर्छ । यसको अर्थ जनताको चेतना र आवश्यकतालाई समृद्ध गर्ने दिशामा सिर्जन–कार्य अभिमुख गर्नु नै जनताको सेवा गर्नु हो भन्ने बुझ्नुपर्छ । यसबेला फेरि पनि सामन्तवाद र साम्राज्यवादले झन्डै ११ हजारभन्दा बढी सहिदहरूको अपमान गर्ने, जनयुद्धका उपलब्धिहरूको अपहरण गर्ने, तिनको न्यूनीकरण गर्ने र १९ दिने जनआन्दोलनको भावनामाथि तुषारापात गर्ने भयानक षड्यन्त्र गरिरहेका छन् । भयानक आँधी चल्नुअघिको सन्नाटा व्याप्त छ । सामन्तवाद र साम्राज्यवादको योजनामा गौरमा नेपाली आमाका महान् छोरा–छोरीहरूको सामूहिक हत्या गरिएको छ । देशी–विदेशी लुटेराहरूले जनताको विरुद्ध युद्धको घोषणा गरिरहेका छन् । यस्तो बेला हामी लेखक, कलाकार तथा सर्जकहरूले जनताका पक्षमा उनीहरूको अपेक्षा र सहयोगीका रूपमा सिर्जन–कार्यको तारो सोझ्याउन जरुरी छ । चिलीका प्रसिद्ध कवि पाब्लो नेरुदाले लोर्काको हत्याको खबर सुनेपछि भनेका थिए, “जब पहिलो गोलीले स्पेनको गितारलाई छिनाल्यो, जब सङ्गीतको ठाउँमा रगतको धारा बग्न थाल्यो, तब मेरा कविताहरू जनताका पीडाहरूको बाटोमा हिंड्न थाले र अचानक म दक्षिणको एकान्तबाट उत्तरतिर फर्किएँ । मेरो तरबार जनताको पसिना पुछ्ने रुमाल बन्यो र भोकका विरुद्ध सङ्घर्षको औजार बन्यो”, (पृ. ११४–११५) ।
विभिन्न आयातनका समालोचनात्मक सामग्रीहरू रहेको प्रस्तुत पुस्तकमा रहेको ‘वर्गसङ्घर्षको प्रतिबिम्ब ः क्रान्तियात्राका भरियाहरू’ मा लेखक शर्माले आफ्नो दृष्टिकोणलाई प्रखर तुल्याउनुभएको छ । कला–साहित्यको सत्ताको प्रश्न निकै महत्वपूर्ण प्रश्न हो । यो विषयमा विश्वभर ठूला–ठूला बहस भएका छन् । कला–साहित्यको सत्ताको प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘सत्ताका दुई रूपहरू हुन्छन्, जसलाई आत्मिक–सत्ता र भौतिक–सत्ता भन्न सकिन्छ । कला–साहित्य आत्मिकसत्ताको सशक्त रूप हो । त्यसैले कला–साहित्यले कुन विचारधाराको पक्षपोषण गर्ने भन्ने प्रश्न निकै महत्वपूर्ण विषय हो । जनताको वर्गसङ्घर्ष र उसको वैचारिक अस्त्र माक्र्सवादी सौन्दर्यचिन्तनलाई त्यसले समृद्ध बनाउन आवश्यक छ । त्यसैले प्रगतिवादी कलाकर्मीहरूले वैचारिक पक्षमा आफूलाई समृद्ध बनाउन आवश्यक छ । त्यसैगरी हाम्रा पुर्खाहरूले वर्गसङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोगका क्रममा विशाल ज्ञान–भण्डार आर्जन गरेका छन् । ज्ञानका सयौँ शाखा र हजारौँ उपशाखाहरू रहेका छन् । मानवजाति र पाठकहरू अध्येताहरूलाई पसुचेतबाट माथि उठाउन र समृद्ध पार्नका लागि मानवजातिले आर्जन गरेका ज्ञानहरू, जो उत्तरदानका रूपमा हामीले प्राप्त गरेका छौँ; त्यसबाट पृथक हुनुहुँदैन । हाम्रो सिर्जना ज्ञानको भण्डार हुन आवश्यक छ । ज्ञानको भण्डारहरूको कलात्मक र सम्प्रेषणीय सिञ्चनबिना पसुचेतबाट मानवजातिलाई माथि उठाउने कुनै जादुको छडी छैन । त्योबिना मानवीकरण सम्भव छैन । त्यसैले प्रगतिवादी कला–साहित्यमा ज्ञानात्मक पक्ष अनिवार्य छ । त्यसै गरेर प्रगतिवादी सौन्दर्यचिन्तनमा सिर्जनाहरूमा सौन्दर्यात्मक पक्षको भूमिका अनिवार्य तत्वका रूपमा मानिन्छ’, (पृ. ६१) ।
यसअघि अनिल शर्माका ‘सहिद परिचय माला’, (भाग १, २०४९ र भाग २, २०५१), ‘मनका खाडलहरू’, (कवितासङ्ग्रह २०६०), ‘अग्निपक्षीका गीतहरू’, (कवितासङ्ग्रह २०६३), ‘सम्झनामा भारतीय जेल’, (संस्मरणसङ्ग्रह २०६५), ‘रसुवामा दुखिरहेको कर्णाली’, (लेखसङ्ग्रह २०६६), ‘राष्ट्रियता र राप्ती दून’, (लेखसङ्ग्रह २०६०) र ‘चीन डायरी’, (डायरी २०७२) प्रकाशित भइसकेका छन् । अनिल शर्माको पछिल्लो प्रकाशन ‘समकालीन साहित्य र संस्कृति’ मा विभिन्न समय र सन्दर्भमा लेखिएका सिर्जनात्मक तथा समालोचनात्मक सामग्रीहरूको सङ्कलनका रूपमा रहेको प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत सामग्रीका ओजपूर्ण र खोजपूर्ण रहेका छन् । यस विषयमा अनिल शर्मा यसो भन्नुहुन्छ, ‘रचनाहरू विभिन्न कालखण्डमा तयार गरिएका हुन् । वैचारिक, राजनीतिक परिवर्तनअनुसार तिनले आफ्नो समय र सन्दर्भको प्रतिनिधित्व गरेका छन् तर प्रगतिवादको मूलमर्मलाई तिनले अविछिन्न रूपमा पछ्याएकै छन् । रचनाहरूमध्ये धेरैजसोले शोधपरकभन्दा साहित्यपरक अर्थ राखेका होलान्’, (प्राक्कथन) ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले प्रकाशन गरेको तथा आकर्षक साजसज्जामा सजिएको माक्र्सवादी लेखक अनिल शर्माको प्रस्तुत पुस्तक ‘समकालीन साहित्य र संस्कृति’ समकालीन साहित्यक र सांस्कृतिक चिन्तनधारात्मक एवम् विचारधारात्मक क्षेत्रको महत्वपूर्ण प्राप्ति हो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>