कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो

२०७६ चैत्र १६ गते, आईतवार

काठमाडौं, १६ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ८५५ पुगेको छ ।

अहिलेसम्म विश्वभर ६ लाख ६३ हजार १६८ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ४१ हजार ९५३ उपचारपछि घर फर्किएका छन् । अहिले ४ लाख ९० हजार ३६० जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये २५ हजार २१० जना भने गम्भीर अवस्थामा छन् ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली र त्यसपछि स्पेन पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । चीनमा भने ३ हजार ३ जनाले कोरोना कोरोनाका कारण ज्यान गुमाएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८८९ जनाको मृत्यु भएको छ भने ५ हजार ९७४ जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा ९२ हजार ४७२ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये १२ हजार ३८४ जना पूर्ण रुपमा निको भएका छन् । ७० हजार ६५ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ३ हजार ८५६ अवस्था गम्भीर रहेको छ ।

चीनमा अहिलेसम्म कुल ८१ हजार ४३९ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले २ हजार ६९१ जनामा मात्रै कोरोनाको संक्रमण छ । ७५ हजार ४४८ भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

स्पेनमा अहिलेसम्म ५ हजार ९८२ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ८४४ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

स्पेनमा अहिलेसम्म ७३ हजार २३५ जनामा संक्रमित भएको छन् । तीमध्ये १२ हजार २८५ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले इटालीमा ५४ हजार ९६८ जनामा कोरोना संक्रिया रहेको छ । तीमध्ये ४ हजार १६५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रियाहरु