मलाई के आधारमा समातियो , सरकारले स्पष्ट जवाफ दिनुपर्छ : प्रकाण्ड (जेलभित्रैबाट दिएको अन्तरवार्ता)

२०७५ श्रावण २६ गते, शनिबार

तपाईंको हिरासत बसाइ कस्तो छ ?
बसाइको अवस्था त हिरासतकै छ ।
तपाईं पूर्वमन्त्री भएकाले पनि यो प्रश्न गरेको । हिरासतकै भन्नाले कस्तो ?
राज्य निकै कमजोर छ । राज्यले गर्नुपर्ने व्यवस्था गरेकै छैन । हिरासतमा रहेका बन्दीको बसोबासमा स्तरीकरण गर्ने र त्यस ढंगले म्यानेजिङ गर्नमा राज्यको कमजोरी नै छ नि ।
तपाईंमाथि सात करोड चन्दा उठाएर ठगी गरेको आरोप छ । खास कुरा के हो ?
यस्तो त मैले पहिलोपटक सुनेँ । देशको विचित्रको चरित्र देखियो । अहिले ममाथि जे, जस्तो आरोप लगाइएको छ, त्यसमा ठूलो राजनीतिक षड्यन्त्र हाबी छ । अन्यथा, सोच्नुपर्ने कुनै कारण नै छैन ।
हिरासतभित्र दैनिकी कसरी बिताउनुहुन्छ ?
एउटा त यो हिरासतकै जिन्दगी भयो । एक सय ५० जति बन्दी हुनुहुन्छ, उहाँहरूसँगै बिताउँछु । उहाँहरूकै गुनासो सुन्छु । तर, यहाँको अवस्था गंजागोल छ । आज (शुक्रबार) राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरू पनि आउनुभएको थियो । उहाँहरूसँग पनि यी विषयमा छलफल भयो । भेटघाटका लागि साथीहरू पनि आइरहनुभएको छ । दैनिकी यसरी नै बितिरहेको छ ।
तपाईंलाई यहाँबाट निस्कन सक्छुजस्तो लाग्छ कि लाग्दैन ?
ननिस्कनुपर्ने कुनै कारण नै छैन । जति राज्यले षड्यन्त्र गरे पनि आजीवन बन्दी बनाएर राख्न त सक्दैन नि । त्यसको कुनै आधार पनि छैन । निस्किसकेपछि सरकारसँग मलाई गिरफ्तार गर्नुको कारणको जवाफ माग्छु । जवाफ दिन सकेन भने सरकारको नेतृत्व गर्नेलाई सजाय हुनुपर्छ । अवश्य जनताले पनि समेन्ट गर्नेछन् । मलाई के आधारमा समातियो भन्ने कुराको सरकारले मलाई स्पष्ट जवाफ दिनुपर्छ ।
तपाईं निस्कने आधारचाहिँ के हो ?
मेरो कुनै गल्ती नै छैन । कसैलाई सरकारले त्यसै थुन्न मिल्छ ?
तपाईंमाथि चन्दा उठाएर ठगी गरेको आरोप छ नि ?
होइन, मलाई कुनै आरोपमा ल्याइएको होइन । मलाई समातिसकेपछि त्यो आरोप लगाइएको हो । समातिसकेपछि मात्र झुट्टा मुद्दा लागेको हो । राज्यको नेतृत्वमा बसेकाले जे मन लाग्यो त्यो बोल्नुहुँदैन, गर्नुहुँदैन । मलाई के आधारमा समातियो भन्ने कुराको सरकारले मलाई स्पष्ट जवाफ दिनुपर्छ । सरकारले मैले दबाब दिएर पैसा असुलेको एकजना मात्र मान्छे मेरो अगाडि खडा गर्न सक्छ ?
निस्किसकेपछि चाहिँ के गर्नुहुन्छ ?
निस्किसकेपछि सरकारसँग मलाई गिरफ्तार गर्नुको कारणको जवाफ माग्छु । जवाफ दिन सकेन भने सरकारको नेतृत्व गर्नेलाई सजाय हुनुपर्छ । अवश्य जनताले पनि समेन्ट गर्नेछन् ।
तपाईंलाई फसाउनमा क–कसको हात त ? थाहा पाउनुभएको छ ?
मुख्यतया षड्यन्त्र सरकारकै हो । सरकार चलाउने पार्टीका नेताको पनि उत्तिकै भूमिका छ । त्योभन्दा त अरू कसको हुन्छ र ?
कतै तपाईं हिरासतमा पर्नुमा जेलभित्रैबाट पार्टीको कुनै गतिबिधि सञ्चालन गर्ने रणनीति त होइन ?
त्यो भूमिका त पार्टीले नै खेल्छ । हाम्रा विभिन्न गतिविधि तपाईंहरूले पनि देखिरहनुभएको छ । यहाँबाट मैले जति सक्छु, त्यतिचाहिँ गर्छु ।

– नयाँ पत्रिकाको लागि विश्वास खड्काथोकीले जेलमै पुगेर लिएको अन्तरवार्ता

प्रतिक्रियाहरु